Sunday, September 7, 2014

पहिरोले सुनकोशी थुनिएपछि बनेको ताल फुट्यो

काठमाडौ, भाद्र २२ - सिन्धुपाल्चोकको म‌‌ांखमा पहिरो गएर सुनकोशीमा बनेको प्राकृतिक बाँध भत्कि‌एर तालबाट पानी बाहिरिएको छ । जमेको ताल १० देखि १२ मिटरसम्म घटेको बाह्रविसेस्थित चौकीका प्रहरी निरीक्षक जयस्वर रिमालले जानकारी दिए । 
तिवारीका अनुसार गत साउन १७ गते गएको पहिरोका कारण सुनकोशी थुनिएर बनेको तालमा पानी घटेपछि डुवेका हाइड्रोपावरका संरचनाहरु देखिएको छ । लगातार पानी परेका कारण शनिबार मध्यरातमा बाँध भत्किएर पानी निकास हुन थालेकाे हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली आफू घट्नास्थल पुग्नै लागेको र तालभन्दा तल्लको भागमा पानीको बहाव बढेपनि स्थिति सामान्य रहेको बताएका छन् । अरनीको राजमार्गमा दुवै तर्फ यातायात बन्द गरिएको छ । 
सेनाले नियन्त्रित रुपमा पानीको बहाव गराउनका लागि विष्फोटन गराउँदै आएको थियो । विष्फोटनका कारण कमजोर बनेको बाँध पानी परेपछि भत्किएको हुनसक्ने अनुमान गरिएको छ । बाँध भत्किएर बगेकाे पानीले त्यही पानीको निकास खोल्ने कार्यमा प्रयोग गर्दै आएको सेनाको एउटा स्काभेटरसमेत बगाएको छ । बाँध फुटेर गएको बाढीले के कति क्षती पुगेको भन्ने यकिन हुन सकेको छैन ।

0 comments:

Post a Comment