Thursday, September 25, 2014

प्रचण्डकी नातिनी स्मिताको दोश्रो एल्बम ‘स्मिता २’को बिमोचन

आफ्नी नातिनी स्मिता दाहालको दोश्रो एल्बम ‘स्मिता २’को बिमोचन गर्न पुगेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आँखा एकाएक रसाए । नातिनीलाई शुभकामना दिदै गर्दा दाहालले जनयुद्धमा आफूले ‘हाँस्दा हाँस्दै रोएको र रुँदा रुँदै हाँसेको’ भनाई राखेको संझदै आजको माहोल पनि यस्तै रहेको बताए ।

केही समयअघि  निधन भएकी प्रचण्डकी छोरी ज्ञानु दाहाललाई समर्पित गर्दै स्मिताले एल्बम बजारमा ल्याएकी थिइन् । यसैले पनि प्रचण्ड र उनकी पत्नी सिता दाहाल बारम्बार भक्कानिए । प्रचण्डले आफू गाली र ताली दुबै पाउँने क्षेत्रमा रहेको बताउँदै भने-‘ नातिनी स्मिता ताली मात्र पाउँने क्षेत्रमा छिन् । यसैले चाडै नै प्रचण्डकी नातिनीबाट उनको परिचय गायिकामा बदलिनेछ ।’
राजनीति र संगीतको समन्वय निक्कै भएको भन्दै प्रचण्डले नातिनी स्मितामा सानैबाट गाउने क्षमता भएको बताए । उनले आफू भन्दा पनि धर्मपत्नी सिता दाहाल निक्कै राम्रो गायिका भएको बताउँदा कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो ।

एल्बम बिमोचन समारोहमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता मोहन वैद्यले स्मिताको गीतमा प्रगतीशिल गीत पनि सुन्न पाउँने आशा राखे । उनले स्मिताको जन्म जनयुद्धको थलोबाट भएको भन्दै पार्टीलाई अगाडि बढाउन प्रगतीशिल गीतको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले कार्यक्रममा रमाइलो गर्दै भने-‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउँदा झनै मख्ख पर्नु भएको छ ।’ उनले नेपालमा थुप्रै बालप्रतिभाहरु भएपनि राज्यले चिन्न नसकेको स्विकार गरे ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै प्रतिभाहरुलाई आफूहरुले सहयोग गर्न पाउँ भन्दै स्मितालाई शुभकामना दिए । कार्यक्रममा नेता डाक्टर बाबुराम भट्टराई भने अर्को कार्यक्रममा जानुछ भन्दै मन्तव्य नराखी हिडेका  थिए ।

स्मिताको ‘स्मिता २’ एल्बममा ५ वटा गीत समावेश छन् । डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा सुरेश गैरे, बसन्त सापकोटा, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइले संगीत भरेका छन् । कार्यक्रममा गायिका दाहालले २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यो एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘पि्रय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीकी नेत्री हिसिला यमी, नेता अग्नी सापकोटा, गीतकार डाक्टर कृष्णहरी बराल, नायक भूवन केसी, गायक दिप श्रेष्ठ, गायिका कुन्ती मोक्तान, गायक रामकृष्ण ढकालको उपस्थिती थियो । गायक रामकृष्ण ढकालले स्मिताको स्वरबाट आफू प्रभावित भएको भन्दै उनीसँग यूगल गीत गाउने बताए । यस्तै, नायक भूवन केसीले स्मितालाई चलचित्रमा गीत गाउन आग्रह गरे । भाइव्यस क्रियशनले बजारमा ल्याएको एल्बममा समावेश एक गीतको म्यूजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।

0 comments:

Post a Comment