Thursday, September 18, 2014

भवन अभावमा, खुला चौरमा उपचार गराउँदै स्वास्थ्यकर्मी।

बाजुरा, आश्विन २ - वनलगायत पूर्वाधार अभावमा ग्रामीण क्षेत्रका अधिकांश स्वास्थ्य संस्थाले खुला चौरमै बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ।

बाह्रबिसस्थित स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी किडीदेवी विकलाई भर्ना गरेर उपचार गर्नुपर्ने भए पनि बिरामी राख्ने कोठा नभएकाले स्वास्थ्यकर्मीले खुला चौरमै राखेर उपचार गराएका छन्। 'उनको अवस्था अत्यन्तै नाजुक देखिएकाले अन्य बिरामीजस्तो औषधिका केही चक्की दिएर पठाउने अवस्था भएन,' बाह्रबिस स्वास्थ्यचौकीकी अनमी लक्ष्मी गिरीले भनिन्, 'हामीले खुला चौरमै राखेर उपचार प्रयास गर्‍यौं।'

उक्त चौकी भवनको एउटा कोठामा बिरामी जाँच्ने कक्ष छ। सँगैको अर्को कोठा सुत्केरी गराउने प्रयोजनमा प्रयोग गरिएको अहेव कुलबहादुर रावलले बताए। 'भवन अभावले बिरामीको उपचार प्रभावित भइरहेको छ,' उनले भने। दैनिक सय जनाको हाराहारीमा बिरामी स्वास्थ्यचौकीमा आउने गरेका छन्।

बाह्रबिसमा मात्रै हैन, सदरमुकामबाहिरका २७ वटै स्वास्थ्य संस्थाको समस्या उस्तै रहेको सम्बन्धित स्वास्थ्यकर्मीहरू बताउँछन्। छतारामा स्वास्थ्यचौकीको आफ्नो भवनै छैन। वर्षौदेखि त्रिभुवनेश्वरी उमाविले उपलब्ध गराएको एउटा कोठामा सेवा दिँदै आएको छ। 'यहाँ आउने बिरामीको उपचार चौरमै गर्नुपर्ने बाध्यता छ,' अनमी शान्ति शाहले भनिन्।

भवनलगायत पूर्वाधार अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवामा बाधा परिरहेको जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडी बताउँछन्। 'कतिपय संस्थामा भवन निर्माण थालिए पनि धेरैजसोमा समस्यै समस्या छ,' उनले भने।

पूर्वाधार अभावकै कारण जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध नहुनु ग्रामीण क्षेत्रका गर्भवतीका लागि अर्को समस्या हो। सदरमुकाम बाहिर रहेका २७ मध्ये २० स्वास्थ्यचौकीमा मात्रै अहिले प्रसूति सेवा उपलब्ध छ। बिच्छयाँ, जयबागेश्वरी, जुकोट, वाई, बाँधु, जगन्नाथ र कोटीलामा सेवा उपलब्ध छैन। यी सबै गाविस जिल्लाका विकट क्षेत्रका हुन्। गाविसमा रहेको स्वास्थ्यचौकीमा प्रसूति सेवाको सुविधा नभएकाले जगन्नाथका स्थानीयले सुत्केरी सेवा लिन कोल्टी पुग्नुपर्ने अवस्था छ।

'नजिक सेवा सुविधा नभएकाले सिकिस्त गर्भवतीलाई मात्रै कोल्टीमा पुर्‍याउँछन्,' जगन्नाथका जनक बिष्टले भने, 'अधिकांशले घरमै परम्परागत रूपमा सुँडेनीद्वारा सुत्केरी गराउनुपर्ने बाध्यता छ।' आफ्नो गाविसका स्वास्थ्यचौकीमा प्रसूति सेवा नभएकाले गर्भवतीहरू दोहोरो मर्कामा परेका छन्। एकातिर उनीहरूको जोखिमयुक्त तरिकाले घरमै प्रसूति गराउनुपरेको छ।

अर्कोतिर सरकारले प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको नगदसहित अन्य सुविधाबाट वञ्चित छन्। सबै संस्थामा सुविधा नभएकाले जिल्लाले लिएको लक्ष्य प्रभावित भएको छ। गत आवमा ३ हजार ३ सय गर्भवतीलाई स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएकोमा १ हजार ७ सयले मात्रै प्रसूति गराएको जिल्ला स्वास्थ्यको तथ्यांकमा उल्लेख छ। 

0 comments:

Post a Comment