Wednesday, September 24, 2014

प्रधानमन्त्री कोइरालाले ओवामालाई नेपाल भ्रमणको निम्तो

संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति वाराक ओवामासँग भेट भएको छ।

भेट न्यूयोर्कको ३०४ पार्क एभेन्युस्थित द वालडोर्फ अस्टोरिया होटलमा भएको थियो। भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति ओवामालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

उनले १ दशकभन्दा लामो सशस्त्र द्धन्द्धलाई शान्तिपूर्ण रुपमा अवतरण गराएर संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण भैरहेको समयमा अमेरिका जस्तो लोकतान्त्रिक मुलुकको राष्ट्रप्रमुखको नेपाल भ्रमणले नेपालको संविधान निर्माण प्रकृया र प्रजातन्त्रको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।

भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर पुर्याएको सहयोगको सराहना गर्दै धन्यवाद पनि दिएका थिए।

संयुक्त राष्ट्रसंघको ६९ औं महासभाको समुद्घाटन समारोह र राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन २०१४ लाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति ओवामा पनि अहिले न्यूयोर्क आएका छन्।

मंगलबार आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनलाई उनले पनि सम्बोधन गरेका थिए।

संयुक्त राष्ट्रसंघको ६९औं महासभा सहभागी हुन आएका राष्ट्रप्रमुख र सरकारप्रमुखहरुको सम्मानमा राष्ट्रपति ओवामा र अमेरिकी प्रथम महिला मिसेल ओवामाले मंगलबार रात्री भोजको आयोजना गरेका छन्। 

0 comments:

Post a Comment