Thursday, September 25, 2014

हामीजस्तै उनी

बढ्दो सहरीकरणसँगै मानिसहरूको जीवन तथा काम गर्ने समय र प्रकृतिमा पनि ठूलो भिन्नता आएको छ। परिवार खुम्चिएर 'न्युक्लियर फ्यामिली' हुने क्रम बढ्दो छ भने महँगीसँग जुध्ने बाध्यता होस् वा स्वेच्छावश महिलाहरूले पनि विभिन्न क्षेत्रमा हात हालिरहेका छन्। जसले परम्परागत रूपमा उनीहरूको जिम्मामा रहेको पारिवारिक काममा पर्याप्त समय दिन सकिरहेका छैनन्।

हिजोआज थुप्रै घरमा श्रीमान्हरूले पनि सहयोग गर्ने चलन त बढेर गएको छ तर दुवैजना कामकाजी हुँदा बालबच्चाहरूको हेरचाह तथा अन्य काम भ्याइनभ्याइ हुने गरेको छ। यस्तो परिस्थितिमा घरेलु सहायक राख्ने चलन पनि बढ्दो छ। यद्यपि उनीहरूप्रति हामी कस्तो व्यवहार गरिरहेका छौं भन्ने कुराप्रति अहिले पनि धेरै ध्यान पुग्न सकेको छैन।

'आ, घरमा काम गर्ने त हो नि' भन्ने खालको हेपाहा प्रवृत्ति धेरैमा पाइन्छ। केही हप्ताअघिको कुरा हो। मलाई घरमा सहयोग गर्ने दिदीलाई मेरी एकजना छिमेकीले दिउँसो फुर्सदमा सघाइदिन बोलाइछन्। उनलाई दुई वटा लुगा धुन लगाएपछि आफ्नो शरीरमा तेल-मालिस पनि गर्न लगाइछन्। त्यसपछि 'म पछि भेट्छु है' भन्दै पैसा पनि नदिई फिर्ता पठाइदिइछन्। ती सहयोग गर्ने दिदीले तीन दिनपछि काम गरिदिएवापतको पैसा माग्दा उनले सय रुपैयाँ दिइछन् र पछि कुनै बेला पुरानो लुगा दिउँला भनेर टारिछन्।

परिवर्तित समाजमा हामी आफ्ना लागि भने प्रशस्त मान खोज्छौं तर अरूलाई त्यसरी अपमानजनक व्यवहार गर्दै न्यून पारिश्रमिक दिँदा पनि लाज मान्दैनौं। अन्त कतै काम गर्नेलाई एकैछिन बोलाएर यस्तो व्यवहार गर्नेमात्र होइन, ढुक्कै आफैंकहाँ काम गर्नेहरूप्रति पनि हाम्रो व्यवहार धेरैलाई थाहा छ।

महँगीका सम्बन्धमा हामी धेरै गुनासो गर्छौं तर त्यही बजारबाट, त्यही सामान किनेर खानुपर्ने हामीजस्तै अरू प्राणीलाई पनि महँगीले छुन्छ भन्नेतिर भने हाम्रो ध्यान कमैमात्र जान्छ। घरमा सघाउनेहरूलाई पनि साप्ताहिक बिदा चाहिन्छ भन्ने विषयमा त अझ कसैले सोचेका पनि हुँदैनन्। पढे-लेखेका, चेतना भएका मानिसहरूको घरमा पनि काम गर्न बसेका मान्छेहरूप्रति अनादर गरेर बोलाउने, खानेकुरा नै छुट्याइदिने, भाँडाकुँडामा भेदभाव गर्ने अनि आफूले दूधको चिया खाँदा उनीहरूलाई कालो चिया दिएर अमानवीय व्यवहार गरिएको पाइन्छ। आफूले नभ्याएको भनेर सहायक राख्नु, तर सहायकलाई मान्छे नै होइन भनेजसरी व्यवहार गर्नु हामी वरपरको रोग नै हो, जसका बारेमा कमै चर्चा हुने गरेको छ।

घरमा सघाउन प्राय: पढ्दै नपढेका वा थोरै मात्र पढेका महिलाहरू राखिएका हुन्छन्, जसलाई समयको गति, विकासको क्रम र संसारमा आएको परिवर्तनको ज्ञान आम मानिसभन्दा कम हुन्छ। उनीहरूको यही अज्ञानता र बाध्यताको फाइदा उठाएर त्यसो गर्नु हुँदैन भनेर जान्ने-बुझ्ने मानिसहरूले पनि गलत व्यवहार गरिरहेका हुन्छन्।

महिला हक-अधिकारको कुरा गर्ने पुरुष हुन् वा महिला, थुप्रैले आफ्नै घरभित्र एउटी महिलाले दु:ख पाएर नराम्रो व्यवहार सहनुपर्दा पनि आँखा चिम्लिएका हुन्छन्। हामी समाजमा रूपान्तरण चाहन्छौं, तर आफ्नै घरभित्र आफ्नै बानी-व्यवहार बदल्न भने अल्छी गरिरहेका हुन्छौं। प्रशस्त आम्दानी भएका उच्च मध्यमवर्गीय एवं उच्च वर्गका मानिसहरूको घरमा राखिएका महिला दिदी-बहिनीहरूको त्यही घरमा खाने-पिउने, दूध-दहीमा पनि पहुँच हुँदैन, जुन महिला स्वास्थ्यका दृष्टिले पनि अति आवश्यक मानिन्छ।

घरेलु सहयोगीहरूको पारिश्रमिकको पनि ठेगान हुँदैन। जसले जति इच्छायो, त्यति दिने छुट छ,  बिदाको त कुरै नगरौं। कतिपयले त अत्यावश्यक काम परेर छुट्टी लिँदा पनि पैसा काटिने गुनासो गर्छन्। एकातिर हामी नारी उत्थानका कुरा गछार्ंै, सार्वजनिकस्थल तथा यातायातमा हामीमाथि गरिने दुव्र्यवहारका कुरा गर्छौं, तर आफ्नो घरमा हामीले पनि मीठो बोल्नुपर्छ भन्नेतर्फ ध्यान पुर्‍याउँदैनौं।

सबैले यस्तै गर्छन्, सबैको घरमा यस्तै अवस्था छ भन्ने होइन। यद्यपि थुप्रै क्षेत्रमा आधुनिक देखिएको हाम्रो समाजमा मानिसले मानिसप्रति गर्ने व्यवहारमा हुनुपर्ने खालको परिवर्तन आएको छैन। घरेलु सहायकहरूप्रति गरिने नकारात्मक व्यवहार मानव अधिकारका दृष्टिले पनि गलत हो।

हामी हाम्रा लागि अरूबाट राम्रो व्यवहारको आशा गर्छौं भने अरूलाई पनि राम्रो व्यवहार गरौं। हामी समयअनुसार आफ्नो तलव-पारिश्रमिकमा समायोजन चाहन्छौं भने हामीलाई घर-परिवारमा सघाउनेहरूलाई पनि कामअनुसारको पारिश्रमिक दिऊँ। खानपिनमा भेदभाव नगरौं। आवश्यक पर्दा उनीहरूलाई बिदा पनि दिऊँ। मुख्य कुरा यो मामिलामा घरका पुरुषहरूले पनि विशेष ध्यान दिनुपर्छ किनभने यो महिलाहरूको मात्र चासोको विषय होइन।

0 comments:

Post a Comment