Saturday, September 13, 2014

यौन क्रियाकलापमा संलग्न ४३ जना पक्राउ

चितवनमा यौन क्रियाकलापमा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न होटल तथा लजहरुमा छापा मारेको छ । प्रहरीले छापा मार्ने क्रममा यौन क्रियाकलापमा संलग्न १५ जोडीसहित ४३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक(डिएसपी) शान्तिराज कोइरालाले एनपी न्यूज डटकमलाई बताए ।

चितवनका डिएसपी कोइरालाको नेतृत्वमा गएको प्रहरी टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)का १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्ष उमेरका महिला र पुरुष रहेका छन् ।


पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिलाहरु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै जना अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको डिएसपी कोइरालाले बताए । उनले पक्राउ परेका जोडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउँसो तथा रातको समयमा छापा मारी सक्रियता बढाएको हो । यसैबीच पछिल्लो समय आपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यवस्था लागू गरेको छ ।

होटल व्यवसायीहरुले सेवाग्राहीको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसँग राख्नुपर्ने नियम बनाइएको छ । सो नियम उल्लंघन गर्ने व्यवसायीहरुमाथि कडा कारबही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताएका छन् । 

0 comments:

Post a Comment