Wednesday, September 24, 2014

गंगामायालाई बचाउने प्रयासमा छौं : चिकित्सक

काठमाडौं, आश्विन ८ - वीर अस्पतालको पुरानो आइसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन् । ११ महिनादेखि अन्नपानी नखाइ अनसन बसेकी ५३ वर्षीया गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी छ ।  शरीरमा चोली अडिने समेत ठाउँ थिएन । पहेलो शरीर, सेतै फुलेको कपाल र वर्ष दिन देखि नकाटेका हात खुट्टाका नङ उनैलाई बोझ भइरहेको होला भन्ने भान हुन्थ्यो ।

सोमबार मृत्यु भएका पति नन्दप्रसादको शोकमा डुबेकी उनलाई मानव अधिकारकर्मीर्हरुले पानी खुवाउने प्रयास गरिरहेका थिए । उनलाई खुवाउन अझैपनि सहज थिएन । नबुझिने आवाजमा उनी पानीको गिलास धकेल्दै चिच्याइरहेकी थिइन् । पति नन्दलालसँगै ३ सय ३५ दिन देखि वीर अस्पतालमा अनसन बसिरहेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसादलाई  ०६१ सालमा माओवादीले अपहरण गरी हत्या गरेको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गोरखा फुजेलका यी दम्पत्ती अनसन बसेका थिए । अस्पतालको बेड नम्बर १७ र १८ मा झण्डै वर्षदिनदेखि अनसन बसिरहेका यी दम्पत्तीको हेरचाह गर्ने कोही छैन । यसै बिचमा सोमबार नन्दप्रसादको मृत्यु भएको हो ।

मृतक नन्दप्रसादको शव बुझ्न समेत कोही आफन्त र परिवारजन नआएको भन्दै सरकारले शव बुझिदिन आग्रह गरिरहेको छ । अधिकारी दम्पत्तीका जेठा छोरा नुरप्रसाद  बाबुको शव नबुझ्ने भन्दै पन्छिएका छन् ।

'मृत्यु भइसकेको व्यक्तिको विषयमा विवाद गर्नुभन्दा हामीले गंगामायाको जीवन रक्षा गर्नु आवश्यक छ,' वीर अस्पतालमा गंगामायालाई अनसन तोडाउने प्रयास गरिरहेका प्रधानमन्त्री कार्यालयका उपसचिब बिनोद गौतमले भने, 'यसका लागि निरन्तर प्रयत्न गरिरहेका छौं ।,'

उनका अनुसार नन्दप्रसादको मृत्यु हुनु अघि श्रीमानको दवावका कारण गंगामायाले खाना खान मानेकी थिइनन् । त्यसताका हामीले छुट्टाछुट्टै अस्पतालमा राखेर उपचार गराउने प्रयास गरेका थियौं । 'गंगामायाले म 'बा' बाट छुटिएर बस्दिन भनेकाले बेग्लै राखेर उपचार गर्न सकिएन' उनले भने, 'अब उहाँको उपचार गर्न र खाना खुवाउन केही सहज होला कि ।'

गंगामायाको जीवन रक्षा गर्न र न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए । श्रीमान अन्तिम अवस्थामा पुगेका बेला उनी आफ्नो बेडबाट तल झरी  श्रीमानको बेडसम्म पुगेर सुम्सुम्याएकी थिइन् रे ।

उपसचिब गौतमका अनुसार सरकारका तर्फबाट ०७० चैत ३० मा ज्यानमार्ने अभियोगमा मुद्धा दर्ता गरिएको छ । अदालतमा बिचाराधिन मुद्धामा सरकारले केही गर्न नसक्ने अवस्था छ । प्रहरीको अनुसन्धान बाट पत्ता लागेका रुद्र आचार्य भन्ने अभियुक्त बेलायतमा बसेकेा पत्ता लागेपनि बेलायतसंग नेपालको सुपुर्दगी सन्धि नभएका कारण बेलायत  रुद्र आचार्यलाई फर्काउन वाध्य छैन । क्षेत्रधिकार भन्दा बाहिरको विषय भएकाले पनि रुद्र आचार्यलाई नेपाल झिकाउन नसकिएको हो ।

उनीहरुले किटानी जाहेरी दिएका आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस समयमा माओवादी बाट आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै चर्को दबाब र बिरोध भयो ।

तत्कालै अभियुक्तहरु धरौटीमा छुटे । गोराखाकै घरमा गएर बसेपनि सुरक्षा दिन्छौ, क्षतिपुर्ति दिन्छौ सबै जिम्मा लिन्छौ भनेर सरकारबाट निर्णय भइसकेको छ । 'सरकारका तर्फबाट यति भइरहदा समेत अनसन तोड्न नमानेकाले गर्दा नन्दप्रसादले ज्यान गुमाउनु पर्‍यो,' उनले भने ।

नन्दप्रसादको शवलाई शिक्षण अस्पतालमा राखिएको छ । तीन दिनसम्म परिवार र आफन्तबाट शव बुझ्न नआएपछि सरकारले शव बुझिदिन आग्रह गरेको हो ।

अर्कोतिर वीर अस्पतालमा गंगामाया एक्लै लडिरहेकी छिन् । पतिको मृत्युको शोकमा डुवेकी एक्ली महिलालाई भेट्न समेत कोही नआएको अस्पतालमा खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।

बुधबार गंगामायालाई भेट्न प्रधानमन्त्री कार्यालयकी अधिकृत सुमना अर्याल, मानब अधिकार आयोगकी अधिकृत नितु गड्तौला, अधिकारकर्मी सुदिप पाठक, , रसना ढकाल लगायत अस्पताल पुगेका थिए ।

वीर अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितसंग मानव अधिकारकर्मीले छलफल गरेका थिए । त्यस क्रममा गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएपनि स्लाइन र टिपीएन (सम्पूर्ण खाद्य पदार्थको झोल) शरीरमा गइरहेका कारण आत्तिनु नपर्ने निर्देशक पण्डितले बताए ।

यसैबिच संयुक्त राष्ट्रसंघिय मानब अधिकार उच्च आयुक्तको कार्यालयले प्रेस विज्ञप्ती जारी गरी नन्दप्रसादको मृत्युको घटनामा दुखित भएको जनाएको छ । कार्यालयका एसिया मालिला प्रमुख रोरी मुंगोभेनले कृष्णप्रसादको मृत्युको घटनाबारे बिस्तृत छानबीन गर्नुपर्ने बताएका छन् । 'हरेक घटनाको गहिरो अध्ययन हुनुपर्छ,' प्रेस विज्ञप्तीमा उनले भनेका छन्, 'कुनै पनि राजनीतिक संरक्षण बिना घटनाको अनुसन्धान गर्नुपर्छ । र गंगामायाको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि सरकारले संरक्षण गर्नुपर्छ ।'

एमनेस्टी इन्टरनेसनल, राष्ट्रिय प्रजातन्त्र पार्टी, ब्रहृमाण्डीय सनातन धर्म महासभाले बिज्ञप्ती जारी गरी गंगामायाको जीवन रक्षाको पहल गर्न आग्रह गरेका छन् ।

0 comments:

Post a Comment