Thursday, September 25, 2014

बालबालिकालाई बनाऔं अलराउन्डर

समाज तीव्र गतिमा परिवर्तन हुँदैछ। त्यसैले आफ्ना सन्तान पछाडि नपरून् भन्ने उद्देश्यले उनीहरूलाई समाजसँगै पाइला मिलाएर अघि बढाउनु जरुरी छ। यसका लागि बाल्यावस्थादेखि नै बालबालिकाको सामूहिक विकासमा ध्यान दिनुपर्ने हुन्छ। माया-प्रेमसँगै जीवनसित जोडिएका केही जरुरी कुरा सिकाउनु पनि अभिभावकको जिम्मेवारी हो। सानो उमेरदेखि नै बालबालिकाको सम्पूर्ण विकासमा ध्यान दिनुपर्छ।


शारीरिक विकास ः ५ वर्षको उमेरसम्म शिशुको मस्तिष्क लगभग ९० प्रतिशत विकास हुन्छ। यो उमेरसम्म ऊ समझदार भैसक्छ। यही बेला अभिभावकले उनीहरूलाई सबै आवश्यक कुराहरू सिकाउनुपर्ने हुन्छ। जस्तै कसरी खाना खाने, कसरी उठ्ने-बस्ने, कसरी अभिवादन गर्ने, कुन रूपमा सबैको कुरा सुन्ने र मान्ने आदि। पाँच वर्षको उमेरसम्म बालबालिकालाई यी सबै कुरा आउनुपर्छ जसले गर्दा अरु बालबालिकाको सम्पर्कमा आउँदा उसलाई कुनै प्रकारको समस्या हुँदैन।

सामाजिक विकास ः अधिकांश अभिभावक बालबालिकालाई घर बाहिर पठाउन डराउँछन्। उनीहरू सानै उमेरमा शिशु अरु बालबालिकाको सम्पर्कमा आओस् भन्ने चाहँदैनन्। उनीहरू आफ्ना सन्तान अरूसँग खेलेर बिग्रन्छन् भन्ने कुराले डराउँछन्। चाइल्ड साइकोलोजिस्टहरूका अनुसार बालबालिकाको विकासका लागि सामाजिक तत्व अत्यन्त जरुरी छ। बाहिर समूहमा अरू बालबालिकाहरूका साथ कस्तो व्यवहार गर्ने कसरी आफ्नो कुरा उनीहरूसम्म पुर्‍याउने आदि सम्पूर्ण कुरा बालबालिकाले बाहिर गएर नै सिक्छन्।

भाषाको विकास ः बालबालिकालाई कसरी संस्कार दिइन्छ, त्यसको छाप उनीहरूको भाषामा देखिन्छ। स्कुल जाँदा कतै आफ्ना नानी अरूका सामु हाँसोको पात्र नबनून् भन्ने हेतुले घरमा राम्रो भाषा प्रयोग गर्नुपर्छ। बालबालिकाको पहिलो स्कुल घर नै हो। घरमा बालबालिकाले जुन प्रकारको भाषा सुन्छन्, अरुसित त्यसरी नै कुरा गर्छन्। अतः बालबालिकाहरूलाई भरसक गाली गर्नु हुँदैन।

भावनात्मक विकास ः हामी कहिले रुन्छौं, कहिले हाँस्छौं, कहिले रिस उठ्छ, कहिले हामीलाई कसैप्रति प्रेम जागृत हुन्छ, अरूको भावना कसरी बुझ्ने आदि विषयमा बालबालिकामा ज्ञान हुनुपर्छ। यदि बालकको भावनात्मक विकास भएको छैन भने गलत समयमा गलत भावना प्रकट गरेर ऊ अरुका सामु हाँसोको पात्र बन्न पुग्छ।

बौद्धिक विकास ः मनोवैज्ञानिकहरूका अनुसार जब शिशु एक वर्षको वा त्यसभन्दा पनि सानो हुन्छ, त्यतिबेलादेखि नै उसलाई कलर, पिक्चर, अक्षर, नम्बर आदि पहिचान गर्न सिकाउनुपर्छ। उसलाई कथा-कहानी, सुनाउनुपर्छ। जसरी ऊ ठूलो हुँदै जान्छ उसको मस्तिष्कलाई पूर्णरूपमा प्रयोगमा ल्याउनुपर्छ। ऊसँग प्रश्नहरू सोध्नुपर्छ। यसबाट शिशुले आफ्नो मस्तिष्कको बढी भन्दा बढी प्रयोग गर्न सिक्छ।

कसरी रमाइलो बनाउने ? 


सानो उमेरका बालबालिका एक क्षण पनि चुप लागेर बस्दैनन्। यो स्थितिमा उनीहरूलाई पढाइ त टाढाको कुरा, केही कुरा बुझाउनु-सम्झाउनु पनि सहज हुँदैन। बाल्यावस्थाको चञ्चलतालाई विचार गरी बालमनोवैज्ञानिकहरूले पढाइका लागि केही रमाइला उपाय अपनाएका छन्।

-    सबैभन्दा पहिले उनीहरूलाई स्वाद र सुगन्धको परिचय गराउनुपर्छ। उनीहरूका लागि यो अनुभव अत्यन्त आश्चर्यजनक र रमाइलो हुनेछ। यसबाट उनीहरूलाई फरक-फरक कुराको जानकारी प्रदान गर्न सकिन्छ।

-    संगतबाट आफ्ना बालबालिकामा नयाँ ऊर्जा ल्याउन सकिन्छ। जब उनीहरू यसमा अभ्यस्त हुन्छन् तब कविता, भक्ति गीत, मन्त्र आदि सरल ढंगबाट सिकाउन सकिन्छ।

-    जब बालबालिकाले पूरा घरमा भागदौड गरेर यताउति हिँडेर हैरान बनाउँछन् । उनीहरूलाई नयाँ-नयाँ कुरा सिकाउनुका साथै  पशुपक्षी आदिको नाम पनि जानकारी गराउनुपर्छ।

-    सिर्जनशील काम बालबालिकालाई राम्रो लाग्छ। जस्तै भित्तामा चित्र कोर्ने, पेन्टिङ गर्ने आदि। यसबाट उनीहरूलाई रंगका बारेमा ज्ञान दिन सकिन्छ।

0 comments:

Post a Comment