Thursday, September 25, 2014

भारत मंगल ग्रह परिक्रमा अभियानमा

नयाँदिल्ली (बीबीसी), आश्विन ९ - भारतको अन्तरिक्ष तथा शोध केन्द्र (इसरो) को उपग्रह मंगलयान मंगल ग्रहको अन्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ। भारतको अन्तरिक्ष सोधको इतिहासमा यसलाई कालजयी घटना मानिएको छ। उक्त ऐतिहासिक क्षणको साक्षी बन्न स्वयं भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरस्थित इसरो केन्द्रमा उपस्थित थिए।

सन् २०१३ को ५ नोभेम्बरमा बंगाल खाडीको श्रीहरिकोटा स्पेसकोर्टबाट मंगल ग्रह परिक्रमा अभियान (एमओएम) को नामले जानिने यो अभियान सुरु भएको थियो। 'हामीले असम्भव काम गरेका छौं, सम्पूर्ण देशवासी र वैज्ञानिकहरूलाई बधाइ दिन्छु,' उनले भने, 'अपर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि वैज्ञानिकको पुरुषार्थले यो सम्भव भएको हो।' उनले यो उपलब्धि निकै ठूलो भएको बताए।

यसबाट भारत एउटै प्रयासमा आफ्नो अभियान पूरा गर्ने मुलुक बनेको छ। यस बहुप्रतीक्षित अभियानको निर्णायक चरण बुधबार बिहान यानको गति घटाएर गरिएको थियो। यस अभियानको सफलता निर्धारित २४ मिनेटमा निर्भर थियो, जुन बेला यानमा जडान गरिएको यन्त्रलाई चालू गरिएको थियो।

यो उपलब्धिपछि भारत एसियामा मात्र नभएर विश्वमै पहिलो प्रयासमा मंगल अभियान पूरा गर्ने मुलुक बनेको छ। ऊ यस दिशामा चौथो सफल मुुलुक बनेको छ। यसअघि अमेरिका, रुस र युरोपले मात्र यस अभियानमा सफलता प्राप्त गरेको छ। अमेरिका र रुसले पहिलो प्रयासमै त्यहाँ पुग्न सकेको थिएन। अमेरिकाको नवीनतम उपग्रह माभन सोमबार मंगल ग्रह पुगेको थियो।

गुरुत्वाकर्षणको कारणले स्वतः तानिएर मंगल ग्रहमा स्थापित होऊन् भन्ने लक्ष्यका साथ यानको गतिलाई कम राखिएको थियो। उक्त यानबाट पृथ्वीसम्म जानकारी पुग्न करिब साढे १२ मिनेट समय लागिरहेको छ। बिहान करिब सवा ८ बजे उक्त यानबाट संकेत प्राप्त भएपछि मंगल कक्षमा स्थापित भएको पक्का भएको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि ट्वीटरमा इसरोलाई बधाइ दिएको छ। अन्य मुलुकहरूको अभियानको तुलनामा निकै कम भारतले मंगल ग्रहमा पुग्न ४ सय ५० करोड रुपैयाँ खर्च गरेको छ। अमेरिकाले माभेन अभियानमा ६ अर्ब ७१ करोड खर्चेको थियो। यन्त्रले ठिकठाक काम गरेमा उक्त यानले ६ महिनासम्म मंगल ग्रहको वातावरणको अध्ययन गर्नेछ। उसले त्यहाँ जैविक गतिविधिसँग सम्बद्ध मिथेन ग्यास पत्ता लगाउनेछ। साथै, उसले ब्रह्माण्डको अन्य रहस्यलाई खोतल्ने छ। बैंग्लोरको इसरोको मिसन ट्रयाकिङ सेन्टरमा बिहानदेखि तनाव र उत्तेजना थियो। अधिकांश महिला र युवा सम्मिलित वैज्ञानिक समूह मंगल यानको प्रगति पत्ता लगाउन लहरे कम्प्युटर मनिटर अगाडि बसेका थिए।

0 comments:

Post a Comment