Thursday, September 25, 2014

अब ठमेल चौबीसै घण्टा झलमल्ल बनाइने भएको छ।

पर्यटकको सुविधालाई मध्यनजर गर्दै सरोकारवाला संस्थाको सहयोगमा सम्बद्ध व्यवसायीले ठमेलका सडक गल्लीहरूमा २४सै घण्टा बत्ती बाल्ने योजना ल्याएका हुन्।

सडकमा बत्ती नहुँदा रातको समयमा पर्यटक एवम् सर्वसाधारणलाई हिँडडुल गर्न समस्या आएको तथा अँध्यारोका कारण पर्यटक लुटिने, ठगिने र चोरीका घटना बढेको भन्दै ठमेललाई रातभर झलमल्ल पारिने व्यवसायीको भनाइ छ।

ठमेल अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र भए पनि यहाँको भौतिक पूर्वाधार कमजोर रहेकाले सुधार गरिनुपर्नेमा स्थानीय व्यवसायीले आवाज उठाएका छन्। बत्तीको समस्या हटाउन र रिक्सालाई व्यवस्थित गर्नसके पर्यटक ह्वात्तै बढ्ने उनीहरूको विश्वास छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटकको सुविधाका लागि ठमेलमा २४सै घण्टा बत्ती बाल्नेगरी योजना कार्यक्रम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार अबको एक महिनाभित्र सोलार बत्ती जडानको काम सुरु गरिनेछ र पहिलो चरणमा ठमेलका मुख्य चोकहरूमा बत्ती बालिने छ, त्यसपछि क्रमशः अन्य स्थानमा बत्ती जडान गरिनेछ।

अध्यक्ष थपलियाले ठमेलका साँघुरा सडकमा बत्तीको खम्बा राख्न समस्या पर्ने भएकाले घरका छतहरूमा बत्ती जडान गर्ने योजना रहेको बताए।

ठमेल परिसरमा सोलार बत्ती जडानका लागि रु ८५ लाखदेखि डेढ करोडसम्म खर्च हुने जनाइएको छ। जसमध्ये १५ प्रतिशत व्यवसायी र ८५ प्रतिशत महानगरपालिकाले खर्च गर्ने प्रावधान रहे पनि नगरपालिकाको प्रक्रिया लामो र झन्जटिलो हुने भएकाले व्यवसायीहरूकै पहलमा बत्ती जडान गर्ने योजना अघि सारिएको हो।

“पर्यटकीय मौसम सुरु भएकाले हामीलाई ढिलोमा पनि डेढ महिनाभित्रै बत्ती जडान गर्नुपर्ने अवस्था छ, तर नगरपालिकाको प्रक्रियाबाट जाँदा महिना लाग्ने भएकाले व्यवसायीहरू आफैंले पहल गरिराछौँ। यसमा टानले रु २५ लाखसम्म दिने बताइसकेको छ, एनएमएलगायतका अन्य संस्थासँग पनि कुरा भइरहेको छ, व्यवसायीसँग पनि रकम सङ्कलन गरेर बत्ती बालेरै छाड्छौँ”, अध्यक्ष थपलियाले भने।

ठमेलमा बत्ती बाल्नेदेखि अन्य समस्या समाधान र पूर्वाधार विकासका लागि अध्यक्ष थपलियाको अध्यक्षतामा हालै २५ सदस्यीय एक कार्यदल गठन गरिएको छ।

उक्त कार्यदलमा पर्यटनसम्बन्धी टान, हान, नाटा एनएमएलगायतका संस्था, स्थानीय प्रहरी, सामुदायिक र पर्यटन प्रहरीलगायतका प्रतिनिधि रहेका छन्।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले पर्यटकीय हब ठमेललाई व्यवसायीको चाहनाअनुरूप २४सै घण्टा खुल्ला गर्न संयुक्त पर्यटन व्यवसायी (जेटिसिसी) को तर्फबाट आग्रह गरिएको बताए।

पर्यटकीय राजधानीका रूपमा ठमेलको बृहत्तर विकासका लागि सरोकारवाला संस्थाहरूबीच साझेदारी आवश्यक भएको बताउँदै अध्यक्ष धमलाले ठमेललाई पर्यटकको सुविधाका लागि २४सै घण्टा खुल्ला गरी त्यसका लागि सडकमा बत्ती, सिसिक्यामेरालगायतको व्यवस्था गर्न लागिएको बताए।

व्यवसायीका अनुसार काठमाडौँ महानगरपालिकाका म्याचिङ फन्डअन्तर्गत ठमेल परिसरमा बत्ती बाल्न लागिएको हो। पर्वतीय पर्यटन, ट्रेकिङलगायतका व्यावसायिक संस्थामध्ये ४० प्रतिशत ठमेलभित्रै छन् तर त्यहाँको बत्ती सडकलगायतका पूर्वाधार लथालिङ्ग अवस्थामा छ।

ठमेलमा अर्को जल्दोबल्दो समस्याका रूपमा पर्यटक बसपार्क नहुँदा पर्यटकलाई समस्या भएकाले व्यवसायीहरूले तत्काल बसपार्कको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

पर्यटन व्यवसायी दीपक महतले ठमेलको एकीकृत विकास कार्यायोजना अघि बढाउन जरुरी भएको बताउनुभयो। अहिले पर्याप्तमात्रमा हरियो प्लेटका गाडी नभएकाले पर्यटक समस्यामा परेको भन्दै ठमेललाई २४सैँ घण्टा खुल्ला गरी सवारी साधनलाई पनि निर्वाद रूपमा प्रवेश गर्न दिइनुपर्नेमा उनको जोड थियो।

0 comments:

Post a Comment