Wednesday, September 24, 2014

पूर्वी क्षेत्रमा साइबर अपराध बढ्यो

मोरङ, आश्विन ७ - पूर्वी क्षेत्रमा पछिल्लो समय 'साइबर अपराध' निकै बढ्दै गएको छ । नयाँ प्रविधि विकाससँगै सामाजिक सञ्जालहरूको पहुँच सहज बन्न थालेपछि यो पनि बढेको हो ।


साइबर अपराध बढे पनि जिल्लास्तरमा प्रहरीसित यसको अनुसन्धान गर्ने दक्ष जनशक्ति र उपकरण अभाव छ । यस्तै, काठमाडौं जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौ जिल्ला अदालतमा मात्र मुद्दा चलाउने ब्यबस्थाका कारण मुद्दाको प्रक्रिया खर्चिलो र झन्झटिलो बन्दै गएको छ । साइबर अपराधसम्बन्धी मुद्दा झन्झटिलो भएका कारण धेरै घटना सार्वजनिक नहुने गरेको हो ।

संख्यात्मक रूपमा पूर्वाञ्चलमा आव ०६८/६९ मा उदयपुरबाट मात्र एउटा मुद्दा दर्ता भएको थियो । त्यस्तै ०६९/७० मा मोरङ प्रहरीमार्फत काठमाडौं प्रहरीले एउटा मुद्दामात्र चलाएको थियो । तर गत आवमा उदयपुर, मोरङ र सप्तरीबाट १-१ वटा चलाइएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै, चालू वर्षको अहिलेसम्म मोरङबाट विद्युतीय कारोबार ऐनअन्तर्गत एउटा मुद्दा चलाएको छ । सप्तरीका अब्दुल रहमानले प्रहरीको विषयमा फेसबुकमा गरेको कमेन्टपछि दायर विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दाले चर्चा पाएको थियो ।

पूर्वाञ्चलका प्रहरी प्रमुख डीआईजी नवराज सिलवालले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल प्रयोगको विस्तारसँगै साइबर अपराध बढ्दै गएको बताए । उनले बढ्दो सामाजिक सञ्जालको प्रयोग, बैंकिङ कारोबारमा रकम ट्रान्सफर, एटीएम र क्रेडिट कार्यलगायत प्रयोगमा पनि अपराध बढ्दै गएको बताए । प्रयोगकर्ता पूर्ण 'म्याचुवर्ड' नभएका कारण पनि साइबर अपराध बढ्दै गएको उनले बताए ।

पासवर्डलगायत विषयमा नयाँनयाँ प्रयोगकर्ता जिम्मेवार बन्न नसक्नुले साइबर अपराधलाई बढाउँदै गएको सिलवालको भनाइ छ । जिल्लास्तरमा रहेका जनशक्ति र सीमित स्रोतसाधन प्रयोग गरी साइबर अपराध मुद्दाको अनुसन्धान गर्न समस्या रहेको जिल्लास्थित प्रहरीका अधिकारी बताउँछन् । उक्त मुद्दा अनुसन्धानलाई सजिलो पार्न जिल्लास्तरमै प्राविधिक जनशक्ति थपिई स्थानीयस्तरमै मुद्दा चलाउन सकिए नियन्त्रणमा सहजता आउने मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालको भनाइ छ । उनले काठमाडौं लगेर मुद्दा चलाउँदा खर्चिलो हुने गरेको बताए ।

उक्त मुद्दा अनुसन्धान गर्न जिल्लास्तरमा छुट्टै क्राइम सेल गठन गर्नुपर्नेमा पूर्वका जिल्लामा गठन भइसकेको छैन । डीआईजी सिलवालले क्षेत्रस्तरमा रहेको ब्युरोले जिल्लामा हुने अपराधसम्बन्धी मुद्दा अनुसन्धान गर्ने गरेको बताए ।

0 comments:

Post a Comment