Tuesday, September 16, 2014

राउतले भने – तराई छुट्याउनु मेरो आइडिओलोजी

मधेस टुक्र्‍याउने अभियानमा हिँडिरहेका बेला पक्राउ परेका डा. सीके राउतले नेपालबाट तराई छुट्याउनु आफ्नो सिद्धान्तै भएको बताएका छन्। 'राष्ट्र विखण्डनबारे' प्रहरीसँग अनौपचारिक वयान दिँदै राउतले मधेसी जनताको मुक्तिका निम्ति आफूले नेपालबाट तराईलाई अलग गराउने अभियान चलाएको बताएका छन्।

नेपाल राष्ट्रबाट तराई अलग गराउनु मेरो सिद्धान्त हो, त्यसैका निम्ति मैले अभियान चलाएको हो,' राउतसँगको अनौपचारिक वयानबारे प्रहरीका एक अधिकारीले सेतोपाटीसँग भने, 'मधेसी जनताको मुक्तिको लागि र तराईमा नेपाली साम्राज्यवाद अन्त्य नभएसम्म यो अभियान चलिरहन्छु।'

'राज्य विप्लव' र राज्य द्रोह गर्नखोजेका प्रमाण जुटे पनि प्रहरीले 'माथिको आदेश छैन' भन्दै डा. राउतलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो। मंगलबार सरकारीले उनीसँग वयान लिएका छन्।

जिल्ला अदालत सरकारी वकिलको कार्यालय मोरङमा राउतलाई सार्वजनिक अपराध ऐन कसुरसम्बन्धमा 'भीड जम्मा गरेर हो–हल्ला गर्नुको कारणबारे'वयान लिइएको छ। 'सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएकाले राष्ट्र विखण्डन र उनको विचारबारे वयान लिने कुरै भएन,' वयानबारे प्रहरीले स्रोतले भन्यो, 'सार्वजनिक स्थलमा भीड जम्मा गरेर हो–हल्ला गरेकोबारे मात्रै वयान लिइएको हो।'

उनीसँग गरिएको वयान प्रहरी तथा सरकारी वकिलले 'खोल्न नमिल्ने' जनाएका छन्। अति गोप्य ढंगले राउतसँग गरिएको वयानबारे जिल्ला न्यायाधिवक्ता शंकर खत्रीले भने, 'यो प्रहरी अनुसन्धानको विषय भएकाले बोल्न मिल्दैन।'

उनको वयान भइरहँदा केही मधेसवादी दलका कार्यकर्ताहरू बाहिर बसेका थिए। प्रहरीले बाहिर निकालेपछि राउतले आफ्ना शुभचिन्तकलाई 'जय मधेस' भनेका थिए। सर्वोच्च अदालतले राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेकाले यहाँ वयान सकिनासाथ त्यसतर्फ पठाउने तयारी प्रहरीको छ।

मधेसलाई राष्ट्रबाट अलग गराएर छुट्टै राज्यसंरचना बनाउने योजनासहित हिँडेका डा. राउत शनिबार मोरङ रंगेलीबाट पक्राउ परेका थिए। डा. राउतले मधेसमा व्यापक संगठन र संरचना निर्माण गरेको स्रोतहरूले जानकारी दिए पनि प्रहरीले यसबारे 'अनुसन्धान भइरहेकाले भन्न नमिल्ने' बताउँदै आएको छ।

स्थानीय प्रशासनका अनुसार राज्यविप्लव (राष्ट्र विखण्डन) र राज्यद्रोह (राज्य नमान्ने) अभियानसहित डा. राउतले अभिव्यक्ति स्वतन्त्रताका नाममा अपराधजन्य कार्य गर्न खोजेका छन्। राज्यविप्लव र राज्यद्रोह गरेका प्रमाण भेटिए पनि यसबारे सरकार आफैंले गम्भीर चासो लिनुपर्ने प्रशासनको भनाइ छ।

मुलुकी ऐनअनुसार राष्ट्र विखण्डन गर्ने कसुर गरेको पुष्टि भए जन्मकैदसम्म सजाय हुने प्रावधान छ। डा. राउतलाई अनुसन्धानका लागि सार्वजनिक अपराधको मुद्दा चलाइएको छ।

मधेस टुक्र्‍याउनुपर्ने र तराईमा नेपाली साम्राज्यवाद अन्त्य गर्नुपर्ने भन्दै डा. राउत मधेसव्यापी प्रशिक्षणमा जुट्दै हिँडेका बखत प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार डा. राउतले विराटनगरस्थित रामजानकी मन्दिरमा यो अभियानबारे प्रशिक्षण दिएका थिए। शनिबार एक कार्यक्रममा रंगेलीमा प्रशिक्षण दिने तयारी गरिरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्ने, तराईमा असहयोग आन्दोलन, नाकाबन्दी, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, धार्मिक नैतिक क्रान्ति, सडक आन्दोलन, सिमाना बन्द, अत्यावश्यक वस्तुमा नाकाबन्दी गर्नेलगायत डा. राउतका योजना छन्।

मोरङको बिराटनगरबाट पक्राउ परेका डा. सि.के. राउतलाई रिहा गर्नु पर्ने माग राखि सिरहाको लहानमा राजमार्ग अवरोध गर्ने चार जना नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा आज लिएको छ।

0 comments:

Post a Comment