Sunday, July 3, 2016

ह्दयघातको कारण बाबुराम भट्टराईको निधन

रुपन्देहीको बुटवलमा बस्दै आएका वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ । पत्रकार भट्टराईको ६६ वर्षको उमेरमा आइतबार बिहान १ बजे ह्दयघातको कारण निधन भएको हो । बुटवल उपमहानगरपालिका १४ तामनगरस्थित निवासमा राति अबेरसम्म टेलिभिजनमा फुटबल हेर्दै बसेका भट्टराईलाई एक्कासि असहज महसुस भएको भन्दै लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


२००७ साल असार १५ गते अर्घाखाँचीको पोखराथोक १ मा बुवा स्व. टीकाराम भट्टराई र आमा हीरा भट्टराईको कोखबाट जन्मिएका भट्टराई विगत लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए । रुपन्देहीबाट प्रकाशित हुने जनसंघर्ष दैनिकको पूर्वसम्पादक हुँदै लामो समय दैनिक लुम्बिनीमा काम गरेका भट्टराईले सैनामैना र नयांसत्ताको प्रधानसम्पादक भएर समेत काम गरेका थिए । पछिल्लो चारवर्ष मेचिकाली दैनिक र हाल बुटवल टुडेमा स्तम्भ लेख्दै आएका थिए ।