Monday, September 15, 2014

चिनियाँ राष्ट्रपति दक्षिण एसिया भ्रमणमा

हङकङ, भाद्र २९ - राष्ट्रपति सी जिनपिङको आइतबारदेखि सुरु हुने दक्षिण एसियाली मुलुकको भ्रमणलाई चीनले छिमेकीसँग मजबुत सम्बन्ध र साझा विकास प्रवर्द्धन गर्ने प्रमुख कूटनीतिक कदम बताएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका सीले एकैपटक माल्दिभ्स, श्रीलंका र भारतको साताव्यापी राजकीय भ्रमण गर्दैछन् । सन् २०१३ मार्चमा सर्वोच्च शक्तिशाली राष्ट्रपतिको पदभार सम्हालेयता उनले पहिलो पटक उपमहाद्वीपको भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति सीको भ्रमण चीन र दक्षिण एसियाबीच भविष्यमा आपसी सहयोगका लागि रूपरेखा निर्माण गर्न तथा साझा विकास र समृद्धिलाई बढावा दिन सहयोगी हुने चिनियाँ सहायक विदेशमन्त्री लिउ जिनचाओले बताए ।


चीनको चाहना सौहार्दपूर्ण, शान्त र समृद्ध छरछिमेक निर्माण भएको उल्लेख गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हाले सीको भ्रमण छिमेक कूटनीति प्रवर्द्धन गर्ने अर्को एउटा प्रयास भएको जनाएको छ ।

भारत भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले चीन-भारत सम्बन्ध र चीनको दक्षिण एसिया नीतिबारे भाषण दिनेछन् । चीन पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूमा आफ्नो प्रभाव विस्तार गर्दै लैजाने रणनीतिअनुरूप अघि बढेको छ । यसैले पनि राष्ट्रपति सीको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयले करिब दुई साताअघि बेइजिङमा रहेका नेपाललगायत दक्षिण एसियाली मुलुकका नियोग अधिकारीलाई निम्त्याई राष्ट्रपति भ्रमणबारे जानकारी गराएको थियो । उक्त भेटमा चीनले सबै दक्षिण एसियाली मुलुकसँग सहकार्य बढाउन चाहेको उल्लेख गर्दै भ्रमणका बखत कुनै ठूला सम्झौता भए समग्र क्षेत्रीय हितलाई प्राथमिकतामा राखिने बताएको छ ।

राष्ट्रपति रामवरण यादवले केही महिनाअघि समकक्षी सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चीनले विशेष कारणवश यस पटक सम्भव नभएको जनाउँदै भविष्यमा हुन सक्नेबारे   ध्यानाकर्षण गराएको थियो । बेइजिङस्थित नेपाली दूतावासले नेपाल-चीन कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठका अवसर पारेर चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयत्न गरिने जनाएको छ । वर्तमान चिनियाँ नेतृत्वले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ ।

सांघाई कोअपरेसन अर्गनाइजेसन -एससीओ) समिटमा सहभागी हुन गत बिहीबार मध्य एसियाली राष्ट्र ताजिकिस्तानको राजधानी दुशानब पुगेका राष्ट्रपति सीले उक्त मुलुकको समेत राजकीय भ्रमण गरेका छन् । सीले आइतबार माल्दिभ्सबाट दक्षिण एसियाली मुलुकको भ्रमण थाल्नेछन् । उनको प्रारम्भिक तालिकामा यो मुलुक समावेश थिएन ।

पाकिस्तानमा भएको पछिल्लो राजनीतिक उथलपुथलका कारण त्यहाँको भ्रमण स्थगित भएपछि माल्दिभ्स थपिएको हो । ४२ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएयता माल्दिभ्स भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रप्रमुख हुन् । सीको भ्रमणका बखत निश्चित भइसकेका दुई ठूला परियोजनालाई अघि बढाउन दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

0 comments:

Post a Comment