Saturday, September 27, 2014

प्रेमले बनायो पागल

गोरखा, असोज १० - बन्द र अँध्यारो कोठाभित्र निर्वस्त्र शरीर पल्टिरहेको छ । कोठाको एउटा छेऊमा सिरक र डस्ना बिनाको खाट छ । त्यही खाटमा च्यातिएको गुन्द्रीले नग्न शरीरको आधाआधी भाग छोपिएको छ ।
झ्यालको रेलिङबाट बिहान बेलुका खाना र पानी कोठाभित्र छिराईदिन्छन् । कहिले थालसमेत चाटचुट पारेर खाएको हुन्छ त कहिले दिनभर थालको भात थालमै हुन्छ । पानी कोठाको यत्रतत्र पोखिएको हुन्छ । दिसा पिसाब कोठाभित्रै । कोठाभित्रको दिसा पिसाबको दुर्गन्ध बाहिरसम्मै आउँछ ।

गोरखा बुंकोट १ सुसारे गाउँको एउटा झुप्रोमा २४ वर्षकी अम्बिका थापामगर २ वर्षयता यसैगरी बसिरहनु भएको छ । उहाँले यो बिचमा घाम देख्न पाउनु भएको छैन । दुई वर्षमा गाउँमा र उहाँकै परिवारमा सुखदुखका थुप्रै घटनाहरु भए तर अहँ उहाँलाई ती कुनैको वास्ता छैन ।
परिवारका सदस्यले कोठाभित्र पसेर लुगा लगाईदिन्छन् । तर मिनेटभरमै नयाँ लुगा च्यातचुत पारेर फालिदिएपछि उहाँको शरीरमा लुगा पर्न छाडेको छ । एउटा थोत्रो गुन्द्रीले उहाँको लाज ढाकिरहेको छ ।
कारण मन परेको केटासँग बिबाह गर्न नपाउनु

आफूले चाहेको केटासँग बिहे हुन नसकेपछि अम्बिकाको व्यवहारमा असामान्य परिवर्तन आयो । २०६५ सालतिरको कुरा हो । त्यतिबेला उहाँ सदरमुकामको द्रब्य शाह क्याम्पसमा १२ कक्षामा पढ्नुहुन्थ्यो । प्रथम श्रेणीमा एसएलसी पास गरेकी अम्बिकाले ११ कक्षा पनि दोस्रो श्रेणीमा पास गर्नुभयो ।
तर १२ को पढाई भने बिग्रियो, पढाईमात्रै होइन, उहाँको बानी व्यवहारमा पनि परिवर्तन देखा पर्न थाल्यो । ‘पहिले जे कुरा पनि हाँसेर गर्थी, पछि पछि त जे कुरामा पनि झर्कोफर्को गर्ने, अह्राएको काम पनि नगर्ने पो भै’ ६ वर्ष अघिका दिनको सम्झिँदै उहाँका ५४ वर्षे बुबा दिलबहादुरले भन्नुभयो ‘कहिल्यै हाँसेको हाँस्यै त कहिल्यै रोएको रोएै गर्न थाली ।

जतिबेला अम्बिकाको व्यवहार बदलियो त्यही बेलातिर उहाँको बिहेको कुरा पनि चलिरहेको थियो । ‘क्याम्पसमा सँगै पढ्ने एउटा केटाले मसँग बिहे नगरे गोली हानेर मार्दिन्छु भनेको रहेछ’ दिलबहादुर भन्नुहुन्छ ‘हामीले कुरा चलाएको कुनै केटोसँग पनि बिहे गर्न मानिनँ ।

अम्बिकाको क्याम्पसमा सँगै पढ्ने केटासँग प्रेम सम्बन्ध थियो । त्यै कारणले अरुसँग बिबाह गर्न नमानेको गाउँलेको बुझाई छ । घरका मान्छेले खोजेको केटासँग बिबाह गर्न अम्बिकाले चाहनु भएन । अम्बिकाले चाहेको केटासँग बिबाह गरिदिन परिवारले चाहेन । दुवै आफ्नै अडानमा रहेपछि बिहेको कुरा टर्‍यो ।
त्यसपछि अम्बिकाले एउटा बोर्डिङ स्कुलमा पढाउन थाल्नुभयो । २ महिनापछि बोर्डिङका प्रिन्सिपलले दिलबहादुरलाई बोलाएर अम्बिकाको मानसिक अवस्था ठीक नभएको कुरा सुनाएपछि उहाँले त्यसलाई पत्याउनै सक्नु भएन । आफ्नी छोरीलाई पागल भन्ने बोर्डिङमा काम गर्न दिने कुरै भएन । त्यही भएर उहाँले छोरीलाई पढाउने कामबाट छुटाएर घरमै फर्काउनुभयो ।
एकदिन अम्बिका घरबाट हराउनुभयो । खोज्दै जाँदा १६ दिनपछि धादिङको रातमाटे भन्ने ठाउँमा अर्धनग्न अवस्थामा फेला पारेपछि दिलबहादुरलाई छोरीको मानसिक अवस्था खराब भैसकेको रहेछ भन्ने विश्वास भयो । बीचमा एक पटक ललितपुरको लगनखेलको मानसिक अस्पताल र अर्को पटक भरतपुर अस्पतालमा जँचाउन जाँदाको बाहेक २ वर्षका बाँकी दिन अम्बिकाले त्यही बन्द कोठाभित्र बताउँदै आउनु भएको छ ।

साउनमा आमा बितेको समेत पत्तो छैन

‘उपचार गराउन लगेपनि १०/१२ दिनभन्दा धेरै राख्न सकिँन’ दिलबहादुरले आँसु खसाल्दै भन्नुभयो ‘यता घरमा उसको आमा बिरामी परि, छोरीलाई घर फर्काएर आमाको उपचारमा लागें ।’ अम्बिकाको आमालाई पाठेघरको क्यान्सर भएको रहेछ, पछि त्यो फैलँदै जाँदा संक्रमण घाँटीसम्म पुगेछ । गएको साउनमा उहाँको पनि निधन भएपछि दिलबहादुरको परिवार विक्षिप्त छ । दुख सुनाउँदा भक्कानो छाडेर रोएका दिलबहादुरले सम्हालिन खोज्दै भन्नुभयो ‘उसको आमाको उपचारमा भए भरको जायजेथा सकें, उसलाई बचाउँन सकिँन

अब यसको उपचार कसरी गरुँ ?

त्यो भन्दा पनि बढी पीडा त उहाँलाई अम्बिकाको हेरविचार गर्ने मान्छे नहोला भन्ने परेको छ । आमा छउञ्जेल धेरथोर कुरा गर्ने अम्बिकाले परिवारका अरु सदस्यसँग दोहोरो कुरा नगरेको त ४ वर्षजति नै भैसकेको रहेछ । दिलबहादुर भन्नुहुन्छ ‘म पनि मरेपछि अब यसको हेरविचार कसले गर्देला ?’ दिलबहादुरका छोरा छैनन्, ५ छोरीमध्ये अम्बिका माइली, जेठी र साइँलीको बिहे भैसक्यो । अरु २ छोरी क्याम्पस पढ्दैछन् ।

आमाको उपचारमा ७ लाख रुपैयाँ जति खर्च भयो, एउटा खेत बेचेर उपचार गर्दा पनि अझै ३ लाख रुपैयाँ ऋण छ’ उहाँले भन्नुभयो ‘दुई छोरीको पढाई, माइलीको उपचार, ऋण सप्पै सम्झ्यो भने म पनि बहुलाउँछु कि जस्तो हुन्छ ।

दिलबहादुरका ८१ वर्षे बुवा पनि नातिनीको यो अवस्था देखेर चिन्तित हुनुहुन्छ । उज्यालो अनलाइनसँग २ घण्टाको कुराकानीमा रोएरै आफ्नो ब्यथा सुनाएका दिलबहादुरले भन्नुभयो ‘मलाई यो छोरी यत्तिकै मरोस् भन्ने लागेको छैन, उपचार हुने ठाऊँ र खर्चको जोहो गर्न सके उसको आमाको आत्मालाई पनि शान्ति मिल्थ्यो हजूर ।’ साउनमा आमा बितेको पनि अम्बिकालाई थाहै छैन भन्नुहुन्छ उहाँ । अम्बिकाले बेला बेला बेहोशीमै उहाँ मम्मी मम्मी भनेर बर्बराउने गरेको दिलबहादुरले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment