Monday, September 22, 2014

३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन

६ असोज, काठमाडौं । छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।

वीर अस्पतालमा उपचाररत अधिकारीको सोमबार साँझ ५ बजेर ३ मिनेटमा निधन भएको हो ।
उनको पत्नीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

अधिकारी दम्पत्तिको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षति सोमबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका थिए ।
लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए ।

मृत्यु हुनुभन्दा केही घण्टाअघिमात्र भेटेका प्याकुरेलले उनको नाडीको चाल त्यतिबेलै १ सय ४० पुगेको बताए । प्याकुरेलले भने-‘बढीमा ७० हुनुपर्ने पल्स दोब्बर भएकाले बाँच्ने सम्भावना सकिएको थियो ।’
अधिकारकर्मी रसना ढकालका अनुसार अधिकारी दम्पत्तिका छोरा नुरप्रसाद झण्डै ७ महिनादेखि बाबुआमालाई भेट्न आएका थिएनन् । ‘आज विहान भने फोनमा सम्पर्क भएको थियो । उहााले आउँदिन भन्नुभयो’ उनले भनिन् ।

गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो ।
छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए । अधिकारर्मी सुवेध प्याकुरेलका अनुसार अधिकारी दम्पत्ति ३३० दिनदेखि अामरण अनसनमा थिए ।

0 comments:

Post a Comment