Tuesday, October 28, 2014

पहिचान भनेको जातियता नै हो ?

प्रथम संविधानसभाको मूख्य विवादित विषय पहिचानसहितको संघियता तथा शासकीय स्वरुप दोस्रो संविधान सभामा पनि विवादित विषय बनि अल्झिएर बसेको छ । प्रथम संविधान सभाको निर्मम अवशान पश्चात् भएको दोस्रो संविधान सभामा आदिवासी, जनजाति, दलित, मधेसीको अमूल्य मत प्राप्त गरी ठूलो पार्टीको रुपमा सत्तासीन भए पश्चात् कांग्रेस, एमाले यथास्थित पक्षमा वकालत तथा पहिचानलाई जातिय आँखाले हेर्ने मनोवृत्तिले गर्दा समस्या उत्पन्न भएको छ ।

भ्रमपूर्ण घोषणापत्रमा भ्रमित भएर कांग्रेस एमालेलाई आफ्नो बहुमूल्य मत दिएका आदिवासी जनजाति, दलित मधेसी आज ठगिएका महसुस गरिरहेका छन् । अन्तरिम संविधानको मूल मर्म तथा भावना विपरित पहिचान सहितको संघियतालाई जातियता देख्ने तथा कांग्रेस एमालेद्वारा मन्त्रीमण्डल गठन लगाएत विभिन्न महत्वपूर्ण पदमा नियुक्ति गर्दा समावेशीताको धज्जी उडाँउदा समेत जातियता नदेख्ने अन्धो धृतराष्ट्र बन्न पुगेका छन् । विगतभन्दा गणतन्त्रको घोषणा पश्चात् केही वर्ग विशेषको राज्यको प्रत्येक क्षेत्रमा हालिमुहाली व्याप्त भएको छर्लङ्ग देखिन्छ । पहिचान सहितको संघियता कांग्रेस एमालेको दृष्टिमा राष्ट्रघाती ठहरिएको छ । निरंकुश शासन व्यवस्था परिवर्तन गर्नका लागि दिइएको त्याग तथा बलिदान के एक राजालाई पदच्यूत गरेर अर्को निरंकुश राजालाई पदस्थापित गर्नका लागि भएको थिए त ?

कांग्रेस एमालेद्वारा गणतन्त्र नेपालमा पिछडिएका उत्पिडित वर्ग, समुदायको पहिचान तथा अधिकार स्थापित भएको भनी अहिले सम्म तर्कयुक्त उत्तर तथा कार्य गरेका छैनन् । कांग्रेस पार्टी समाजवादी विचारधारक तथा एमाले जनताको बहुदलिय जनवादका संबाहक भनिएता पनि यथार्थमा कांग्रेस एमाले आदिवासी जनजाति तथा पिछडिएका समुदायको पहिचान तथा समान अधिकार प्रति पूर्वाग्रह तरिकाले विमति जनाउनमा एक मत देखिन्छन् । कांग्रेस एमालेको समाधान तथा सहमति भनेको यथास्थितिवादी शासन व्यवस्था बाट एक इन्च पनि पछि नहट्ने प्रकारको स्पष्ट रुपमा देखिन्छ , यथास्थित अवस्थामा नेपाली जनता सन्तुष्ट थिए भने निरंकुश शासन व्यवस्था परिवर्तन गर्न जन विद्रोह तथा आन्दोलनको किन आवश्यकता थियो र ?

ऐतिहासिक प्रथम संविधानमा स्व. गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा राजतन्त्रको अन्त तथा सर्वसम्मतिले धर्म निरपेक्ष संघिय गणतन्त्र नेपाल घोषणा गरियो तर आज भोली कांग्रेस पार्टीका केही शीर्षस्थ नेताहरु खुलेआम धर्म निरपेक्षता विरुद्ध विषवमन गर्दै हिन्दु राष्ट्रको वकालत गरि रहेका छन् । कांग्रेस नेताहरु हिन्दु राष्ट्र नभए देशमा ठूलो विद्रोह हुन सक्ने हुकाँर गरिरहेका छन् तर कांग्रेस पार्टीको मौनता तथा त्यस्ता कांग्रेसी सदस्य विरुद्ध कारवाहीको केही शब्द उच्चारण नगर्दा कांग्रेस यथास्थितिवादी व्यवस्थाको हित चिन्तक तथा परिवर्तन प्रति रतिभर सम्वेदनशील नभएको देखिन्छ ।

विवादित विषय समाधान हेतु तिन दलका नेताहरु तिहारका बेला गोकर्ण रिसोर्टमा निष्कर्ष विहिन औपचारिक बैठक पश्चात् पुनः तिहार पछाडि बस्ने भनि नाटक मन्चन गरि जनतालाई मुर्ख बनाएका छन् । संविधान निर्माणमा मुख्य बाधक तथा विवदित विषय पहिचान सहितका संघियता तथा शासकीय स्वरुपका समाधान गर्नुका लागि सरोकार वाला आदिवासी जनजाति, दलित मधेसी लाई सहभागिता नगराएकोले विवादित विषयमा न्यायोचित समाधान हुनेमा शंका छ । तिहार पश्चात् यदि कथंकदाचित विवाद समाधान भयो भनी समाचार आएमा त्यो कुनै पनि हालतमा आदिवासी दलित मधेसी हित अनुकुल हुने छैन भनि ठोकुवा गर्न सकिन्छ ।

नेपालको भाग्य रेखा कोर्ने संविधानमा मूख्य विवादित बुँदाहरु समाधान गर्न तिन दलका प्रतिनिधीमा कांग्रेस तर्फबाट ३ बाहुन, एमाले तर्फबाट ३ बाहुन, एमाओवादी तर्फबाट २ बाहुन तथा आदिवासी जनजाति मध्येका नेवार समुदायका प्रतिनिधी चयनले समाधानको बाटो निस्के पनि बहुसंख्यक उत्पिडित पिछडिएकाका वर्ग समुदायको चाहना अनुरुप हुनेमा संदेह छ । पहिचान सहितको संघियताको पहिचान शब्द नै समेत सुन्न नचाहने ३ दल मध्ये दुई दल काग्रेस एमालेको प्रतिनिधीका रुपमा रहेका विशेष वर्गका प्रतिनिधी चयन हुनु दूर्भाग्यपूर्ण एवं संदेहजनक छ ।

संविधान सभाका विवादित विषयको समाधान हेतु १२ प्रतिशत जनसंख्या भएको तथा विगत देखि आजसम्म निरन्तर रुपमा हालिमुहाली तथा बर्चस्व कायम भएका वर्गका प्रतिनिधीले आफ्नो वर्ग अनुकुल बाहेक सवै नेपालीको पहिचान स्थापित तथा हित हुने प्रकारको समाधान अविस्कार गर्ने छन् भनी विश्वास गर्नु गम्भिर भूल हुने छ । पहिचान किन आवश्यकः– पहिचान भनेको राष्ट्रको श्रृङ्गार, राष्ट्रियताको संगम तथा राष्ट्रको आत्मा हो । पहिचान विपक्षमा उभ्भिएका एमाले तथा कांग्रेसले के मात्र बुझेनन् अथवा जानी जानी बुझ्ने प्रयास गरेनन् भने नेपालमा पहिचान स्थापित भई सकेका विशेष वर्गको पहिचान मात्र स्थापनाले सम्पूर्ण राष्ट्रको पहिचान स्थापित हुन सक्दैन ।

सयौ बर्षदेखि निरन्तर रुपमा केही विशेष वर्गको पहिचान स्थापित गर्ने तथा सरोकारवाला जनताको पहिचान समाप्त पार्ने कार्य भईरहेको स्पष्ट रुपमा देखिन्छ एवं महसुस गर्न सकिन्छ । रामको नामानिशान नहुने स्थानको नाम रामकोट, सिताले कहिले पनि पाइला नटेकेको स्थान सितापाइला, चोमोलोङमा सगरमाथा, छिरिङ्गमा गौरीशंकर, लापसाङ्ग कर्पो गणेश हिमाल, चाम त्रिशुली, चरिघ्याङ्ग चरिकोटको रुपमा सरोकारवालाको पहिचानलाई विस्थापित गर्दै षडयन्त्रपूर्वक आफ्नो अनुकुलका पहिचान स्थापित हुने गरि थोपरिएको छ । नेपालका केही विशेष वर्गले सरोकार वालाको पहिचानलाई समाप्त पार्दै आफ्नो अनुकुलका पहिचान स्थापित गरेका केही उदाहरण मात्रै हुन् ।

संघियता निर्माण गर्दा केही विशेष वर्गको मात्रै पहिचान स्थापित हुने नाम प्रस्तावित गर्दा त्यो जातिय तथा साम्प्रदायीक नहुने तर विगतको निरंकुश शासन व्यवस्था ले बन्दुक, शक्ति तथा षडयन्त्रको वलमा पहिचान समाप्त पारिएका वर्ग समूदायको पहिचान स्थापित हुनु पर्दछ भन्ने आवाज उठाउदा जातिय तथा साम्प्रदायकि हुने कस्तो विडम्वना ?

सम्पूर्ण नेपालीले समान अधिकार प्राप्त गर्नुपर्दछ, पहिचान विहिन बनाइएका हरुको पहिचान स्थापनाले समाजमा सौहार्दता खल्बलिन्छ भन्ने केही विशेष वर्गका नेता, बुद्धिजीवीको भनाई सुन्ने गरिन्छ त्यो पूर्ण रुपमा गलत हो उदाहरण स्वरुप काठमाडौं का केही स्थान जस्तै लाजिम्पाट, चाबहिल, ठबहिल, असन, न्यौखा, नखीपोट इत्यादि नाम नेवार समूदायका पहिचानमा आधारित नामहरु हुन् के त्यहाँ साम्प्रदायिक सदभाव खल्बलिएको छ त ? उल्लेखित स्थानहरुमा नेवार समुदाय अल्पसंख्यक भएतापनि उनीहरुको पहिचानले गर्दा गर्वबोध महसुस गर्ने गर्दछन् । पहिचान भन्ने अमूल्य रत्न जस्तो पवित्र शब्दलाई अपमानित तथा बदनाम गर्ने कुत्सित मनसाय अति निन्दनिय तथा भत्सर्ना योग्य छ ।

अहिलेसम्मको परिदृश्य हेर्दा पहिचान बाहेक अन्य विवादित बुँदाहरुमा एमाओवादीले हदैसम्मको लचकता प्रस्तुत गरेको देखिन्छ भने कांग्रेस, एमाले केही विशेष वर्गको पहिचान स्थापना को वकालत तथा आफ्नो घोषणा पत्र विपरित राष्ट्रलाई यथास्थितमा स्थापित गर्नु पर्नेमा अडान लिएको देखिन्छ । कांग्रेस एमालेद्वारा हालसालै प्रस्तावित गरेको संघिय प्रदेशको ढाँचा विशुद्ध रुपले यथास्थितिवादी चिन्तन तथा केही विशेष वर्गको मात्रै हित तथा पहिचान स्थापितलाई प्रतिनिधीत्व गरेको प्रतित हुन्छ । विगत देखि आजसम्म निरन्तर रुपमा नेपालका नदी, नाला, हिमाल, वनजंगलको वास्तविक पहिचान समाप्त गरि केही विशेष वर्गको पहिचान स्थापित गरिएको छ ।

प्रदेशको नामाकरण गर्दा कांग्रेस एमालेका केही विशेष वर्गको पहिचान स्थापित हुने प्रकारका नाम प्रति सहमत देखिन्छन् भने पहिचान विहिन बनाइएका हरुको पहिचान झल्किने नाम प्रति घोर विरोधीताले कांग्रेस एमालेले सम्पूर्ण नेपाली जनताको प्रतिनिधीत्व गरेकोमा प्रश्न चिन्ह उत्पन्न भएको छ । पहिचान सहितको संघियता लाई कांग्रेस एमालेले प्रतिष्ठाको विषय बनाउनुको मुख्य कारण सयकडौ वर्ष देखि हाल सम्म राज्यमा हालिमुहाली गरि रहेका वर्गद्वारा पहिचान विहिन बनाइएका वर्गको पहिचान सदाको लागि समाप्त पार्ने कुटिल षडयन्त्र हो ।

सम्पूर्ण नेपाली जनतालाई अधिकार सम्पन्न, पहिचान विहिन भएकालाई पहिचान युक्त बनाउनु पर्ने वातावरणको निर्माण गर्नुको सट्टा कांग्रेस एमाले २१ सौ शताब्दीमा पनि पुरातन शैलीको अनुशरण गर्दै पहिचान स्थापित हुन पर्ने वर्ग समूदायको पहिचान समाप्त पार्ने कार्यमा कटीबद्ध भएर लागेको देखिन्छ ।
शक्तिशालीद्वारा कसरी पहिचान समाप्त पार्दो रहेछ भन्ने नेपालमा मात्रै होइन विश्वमा अनेकौ उदाहरण छन् अंग्रेजद्वारा भारतमा शासन स्थापित पश्चात् सिन्धु नदी क्षेत्र आसपास मा बसोबास गर्ने बसिन्दा तथा नदीलाई इन्डस नदी तथा इन्डीयन भनी इतिहासमा उल्लेख गरे, शक्तिशाली भएका कारण आज सिन्धु नदी इन्डज रिभर तथा भारत विश्वमा इन्डिया नामले नै परिचित छ ।

नेपालका शक्तिशाली वर्गले चोमोलोङ्गमालाई सगरमाथा बनाए नेपालमा चोमोलोङ्गमाको पहिचान समाप्त भई सगरमाथा चर्चामा छ, शक्तिशाली अंग्रेजले सगरमाथाको उचाई मापन गर्ने अंग्रेज सर्वेक्षक कर्नेल जर्ज एभरेष्टको नाममा माउण्ट एभरेष्टको नामाकरण गरियो । चोमोलोङ्गमा नेपालमा सगरमाथाको नामले स्थापित भएतापनि विश्वव्यापी रुप अंग्रेजले स्थापित माउन्ट एभरेस्ट नामले ख्याति प्राप्त गरेको छ । विश्वमा शक्तिशाली हुँदा शक्तिको बलमा आफ्नो पहिचान अनुकल स्थापित गरेका नामहरु परिवर्तन पश्चात् पहिचान पक्षधर अनुकुल भएका छन् ।

भारतमा अंग्रेज शासन व्यवस्था हुँदा लर्ड हेस्टिङ्ग, बेन्टिक, कर्नवालीस, डलहौजी इत्यादिको नाममा राखिएको सडक भारत स्वतन्त्र पश्चात् सडकको नाम परिवर्तन गरिएको छ । नालापानी युद्धमा शहिद भएका जनरल अकटोरलोनीको स्मरणमा कालकत्तामा बनाइएको स्मारकको नाम शहिद मिनारमा परिवर्तित गरिएको छ ।
विश्व आज लुप्त हुन लागेको संस्कृति, पहिचान समाप्त पारिएका हरुका पहिचान स्थापित गर्ने तर्फ गम्भिर ध्यानाकर्षण तथा चिन्तन भएको देखिन्छ भने नेपालमा पहिचान स्थापित गर्नु को सट्टा पहिचान समाप्त पार्ने कार्य भई रहेको देखिन्छ ।

तिहार पछि हुने तिन दलको बैठकले कुनै पनि हालतमा पहिचानलाई समाप्त पार्ने प्रकारको निर्णय गर्नु हुदैन । शक्ति तथा संख्याको बलमा पहिचानको समाप्ती गर्ने प्रयास गरिए तथा परिवर्तनको संदेस न्यायोचित रुपमा संप्रेषण गरिएन भने पहिचानको मुद्धा ठूलो विद्रोह को आकारमा आउन सक्ने संभावना लाई नकार्न सकिन्न ।

0 comments:

Post a Comment