Tuesday, October 7, 2014

७ वर्षीया अस्मिता गिरी पद्मा अस्पतालको शैयामा आमाबुबाको पखाईमा

डोटीको लक्ष्मीनगर गाविस वडा नम्बर ५ की ७ वर्षीया अस्मिता गिरी पद्मा अस्पतालको शैयामा आमाबुबाको पखाईमा छिन् ।


तर उनकी आमा इन्द्रा र बुबा टेकेन्द्र भने मंगलबार छतिवन गाविस वडा नम्बर ५ मा भएको भयानक बस दुर्घटनामा परेर कहिल्यै नफर्किने गरेर गैसकेका छन् । यो दुःखद घटनाको नाबालिका अस्मितालाई पत्तो समेत छैन । उनी पनि सोही दुर्घटनामा परेर घाईते भएकी छिन् ।

उनी सहित उनका आमाबुबा अत्तरीया नगरपालिका तेघरीस्थित हजुरआमाको घरमा टीका थाप्न आउने क्रममा बस दुर्घटनामा परेका हुन् । ३० जनाको ज्यान जाने गरी भएको भयानक बस दुर्घटनामा उनी भने बाँच्न सफल भईन ।

अहिले उनको हेरचाह आफन्तले गरिरहेका छन् । उनको हेरचाहमा खटिएकी फुपु नाता पर्ने राधा योगीले परिवारमा ठूलो संकट आईलागेको बताईन । दुवै जना (अस्मिताका आमाबुबा) को घटनास्थलमै ज्यान गयो । यो मात्रै बाँचेकी छ’ उनले भनिन्–‘पूरै परिवार नै शोकमा डुबेको छ ।’

अस्मिता जस्तै ४ वर्षीया अङ्कीता मल्ल र ६ वर्षका अमृत मल्ल समेत आमा आउने पर्खाईमा छन् । उनकी आमा ३० वर्षीया शान्ति मल्लको समेत सोही दुर्घटनामा ज्यान गएको छ । घाईते अवस्थामा रहेका दाजु बहिनी छिन छिनमा आमा भन्दै चिच्याउने गरेका छन् । ती बालबालिकाको पीडा देखेर नभक्कानिने कोही छैन ।

उनीहरुका आफन्तले आमा आउँदै छिन भनेर फकाईरहेका छन् । आमा आउने भनेपछि नाबालिका दाजु बहिनी आफ्नो पीडा भुलेर चुप लाग्ने गरेका छन् । यिनीहरुलाई चुप लगाउनका लागि पनि झुटो बोल्नु प¥यो’ उनका आफन्तले भने–‘कति दिनसम्म यसरी चुप लगाउन सकिने हो । थाहा छैन ।’

बस दुर्घटनामा कतिपयले आमाबुबा गुमाएका छन् भने कतिपयले सन्तान गुमाउनु परेको छ । दुर्घटनामा ११ महिला, १५ पुरुष र ४ बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा परेर कतिले अङ्गभङ्ग हुनु परेको छ ।

दशैंको रमाइलोमा रमाउदै गरेका बेला डोटीको जोरायल क्षेत्रका बासिन्दाले ठूलो बज्रपातको सामना गर्नुपरेको छ । जोरायलबाट धनगढीका लागि आउँदै गरेको ना ३ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेपछि त्यस क्षेत्रका बासिन्दाले बज्रपातको सामना गर्नुपरेको छ ।

जोरायल क्षेत्रमा सडकको अवस्था राम्रो नभएका कारण बस सञ्चालनका लागि अनुमति छैन । त्यहाँ स–साना जीपहरु मात्रै चल्ने गरेका छन् । दशैंको मौकामा कमाई हुने लोभमा लागेर बस चलाईएको स्थानीयको आरोप छ ।

बसमा क्षमता भन्दा तीन गुणा भन्दा बढि यात्रु सवार थिए । बसको छतमा मात्रै करिव ५० जना यात्रु चढेको दुर्घटनामा ज्यान जोगाएका लक्ष्मीनगर गाविस वडा नम्बर ८ का २१ वर्षका रोहित बोहराले बताए ।
बसमा करिव एक सय ४० जति यात्रु थियौ होला’ उनले भने–‘बस भित्र र छतमाथि पूरै भरिएको थियो ।’

क्षमता भन्दा बढि भार भएका कारण बसको पट्टा भाँचियो तर पनि गाडी चालकले बस रोकेनन् । अलिकति मर्मत गरेर बस चलाएको केही समय भित्रै बस दुर्घटना हुन पुग्यो । बसको पट्टा टुटेका करिव १५ मिनेटमै गाडी दुर्घटनामा प¥यो’ उनले भने–‘कतिले हाम फाल्यौ कति चिच्याउँदै भीरबाट खसे ।’

उनले भने–‘मसँग सानो भान्जी थिईन । घाईते भएपछि एक घण्टासम्म ज्यूँदै थिईन । सायद उपचार पाएको भए बाँच्थिन होला । तर बचाउन सकिएन । सडकको अवस्था निकै नाजुक छ । त्यसैमाथि वर्षाले सडक हिलाम्मे भएको थियो । बसमा क्षमता भन्दा बढि यात्रुको भारका कारण सडक भासिएर दुर्घटना हुन पुगेको एकजना प्रत्यक्षदर्शी छतिवन गाविस वडा नम्बर ५ का धनबहादुर सार्कीले बताए ।

सडक हिलाम्मे थियो । त्यहीनेर बस रोकियो । एकतर्फको भाग भासिदै गएपछि दुर्घटना हुन पुग्यो’ उनले भने–‘बस बिस्तारै पल्टिने क्रममा छतमा बसेका केही व्यक्तिले हाम फालेर ज्यान जोगाउन सफल भए ।’
 हरेक वर्ष सुदूरपश्चिममा ठूलठूला सवारी दुर्घटना हुने गरेका छन् । ती सबैको एउटै कारण सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्नु पनि हो । यो कुरा हरेक दुर्घटनाको अवस्था हेर्दा प्रष्ट हुन्छ ।

सुदूरपश्चिम यातायात व्यवशायी संघका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले यस दुर्घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्तो अवस्था आउन नदिने तर्फ पहल गर्ने बताएका छन् ।
उनले दुर्घटनाको कारण क्षमता भन्दा बढि यात्रु मात्रै नभएर अन्य कारणका बारेमा पनि अध्ययन हुनुपर्ने बताए ।

क्षमता भन्दा बढि यात्रु भएका कारण दुर्घटना हुन्छ भन्ने कुरामा हामी सचेत छौं’ उनले भने–‘अन्य कारणका बारेमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । जोरायल क्षेत्रको सरस्वतीनगर गाविसका मात्रै १९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । बस दुर्घटनाले डोटीको जोरायल क्षेत्र मात्रै हैन समग्र सुदूरपश्चिम शोकमा डुबेको छ ।

0 comments:

Post a Comment