Friday, October 31, 2014

उच्च रक्तचाप हुन बाट कसरी बच्ने ? यी उपायहरु अपनाउनुहोस् !

डा भारत रावत, डिएम कार्डियोलोजी, नर्भिक अस्पताल 



नेपालमा उच्च रक्तचापको अवस्था कस्तो पाउँनु भएको छ ?

नेपालमा उच्च रक्तचापको समस्या नाटकीय रुपमा बढिरहेको छ । नर्भिक अस्पतालमा जचाउँन आउने वयस्कमध्ये ६० प्रतिशतमा तौल बढी, २८ प्रतिशतमा उच्च रक्तचाप र ६७ प्रतिशतमा उच्च ट्राइग्लिसराइड कोलेस्टेरोलको समस्या देखिएको छ । यस्ता समस्या भएका मध्ये ७० प्रतिशतले उचित शारीरिक व्यायाम नगरेको पाइएको छ ।

एक तथ्याङकअनुसार नेपालका ४ जनामध्ये एक जनालाई उच्च रक्तचापको समस्या छ । यो भयावह स्थिति हो । लक्षण नदेखिने भएकाले साइलेन्ट किलर भनिने उच्च रक्तचाप विश्वकै साझा समस्या बनेको छ । विश्वमा २० देखि २५ प्रतिशत मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।  मानिस हेर्दा सामान्य देखिए पनि उच्च रक्तचापका कारण अत्यन्त नाजुक अवस्थामा अस्पताल आउने गरेका छन् । समयमै रक्तचापको अवस्था थाहा नपाउँदा किड्नी फेल, हर्ट एट्याक र स्ट्रोक भएका थुपै्र उदाहरण छन् ।

के कारणले हुन्छ त उच्च रक्तचाप ?

यसको साझा कारण तनाव(स्ट्रेस), रक्सी तथा चुरोट सेवन, खानपान र शारीरिक निस्क्रियता हो । दश प्रतिशतलाई औषधिको प्रयोगका कारण पनि उच्च रक्तचाप हुनसक्छ । जस्तो महिलाले प्रयोग गर्ने परिवार नियोजनको हर्मोनयुक्त साधन । अर्को कारण सुत्दा घुर्ने बिरामीलाई पनि उच्च रक्तचाप हुन सक्छ । यो ५ देखि १० प्रतिशतमा हुन सक्छ । यसैगरी अर्को कारण वंशाणुगत पनि हुनसक्छ । बिरामीहरु भन्छन्, ‘मलाई केही भएको छैन, कसरी उच्च रक्तचापको जोखिम भयो ।’ त्यस्तो सोचाई पालेर हुन्न । हरेक छ÷छ महिनामा रक्तचाप नाप्नुपर्छ ।

रक्तचाप भएमा औषधि प्रयोग गरिहाल्नुपर्छ ?

हामीले उच्च रक्तचाप देखिएका बिरामीलाई पहिला तीन महिना खानपिन तथा बानी सुधार्ने मौका दिन्छौं । यसमा रक्सी तथा चुरोट छाड्ने, शारीरिक व्यायाम र योग अभ्यास गर्ने, चिन्ता नलिने र खानपान परिवर्तन पर्छ । यसरी जीवनशैली परिर्वतन गर्दा दश प्रतिशतमा उच्च रक्तचाप नियन्त्रणमा आउँन सक्छ । तर एकदमै बढी उच्च रक्तचाप देखिएमा औषधि दिइन्छ । उच्च रक्तचापका विरामीले औषधि प्रयोग गरेपछि कन्ट्रोलमा नआएसम्म छाड्नु हुँदैन । आफँै वा बीचमा औषधि छाड्दा रक्तचाप बढ्न सक्छ  र स्ट्रोकसमेत हुनसक्छ ।
पछिल्लो समय रामदेवलाई फलो गर्दा उच्च रक्तचापका बिरामीले बीचमै औषधि छाडेको पाइन्छ । जीवनशैली र खानपानमा परिर्वतन नगरि औषधि छाड्दा दुर्घटना हुनसक्छ । डाक्टरबाहेक अन्य स्वास्थ्यकर्मीलाई मुटुरोग वा रक्तचापको औषधि दिने अधिकार छैन । त्यसैले डाक्टरको सल्लाहबिना औषधि सुरु भने गर्नुहुँदैन ।

औषधि सेवन गर्ने उपयुक्त समय कुन हो ?

उच्च रक्तचापका सबै औषधि बिहान खानु राम्रो हुन्छ । हाम्रो रक्तचाप बिहान बढी हुन्छ । त्यसैले प्रायः मानिसलाई हृदयाघात र मस्तिष्कघात पनि बिहानमा बढी हुन्छ । त्यसैले बिहानको समयमा औषधि खानु राम्रो हुन्छ ।

उच्च रक्तचाप हुनै नदिने उपायचाहिँ  के हो ?

उच्च रक्तचाप हुनै नदिन चार वटा उपायको ‘मेड’ मन्त्र छ । पहिलो एम : मेन्टल रिल्याक्सेसन (मानसिक तनाव कम गर्ने), दोस्रो ए : एभ्वाइड टोबाको (चुरोट तथा सुर्ती सेवन नगर्ने वा छाड्ने) तेस्रो डी : डाइट कन्ट्रोल (खानपिनमा सुधार र रक्सी नखाने) चौथो इ : एक्सरसाइज (नियमित शारीरिक व्यायाम गर्ने) । यी चार वटालाई मन्त्र बनाएर अपनाउँने हो भने उच्च रक्तचाप रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।

के उच्च रक्तचाप आफैले घरमा पनि नाप्न सकिन्छ ?

अहिले बजारमा रक्तचाप नाप गर्ने विभिन्न विद्युतीय साधन पाइन्छन् । यसबाट जो कोहीले पनि घरमै रक्तचाप नाप्न सक्छन् । यस्ता साधन किन्दा नाडीमा बाँधेर जाँच्ने भन्दा पाखुरामा बाँधेर जाँच्ने किन्नुपर्छ । बेलाबेलामा अस्पताल गएर पनि नाप्नुपर्छ ।

उच्च रक्तचाप भएका बिरामीले कस्ता व्यायाम गर्न मिल्छ ?

उच्च रक्तचाप भएका बिरामीले व्यायाम गर्दा विशेष ध्यान पु¥याउनु पर्छ । एकैपटक बडी विल्डरले जस्तो ठुला फलाम उचाल्ने गर्दा स्वास्थ्य समस्या देखिन सक्छ । व्यायाम गर्दा समस्या भएमा तत्काल डाक्टरको सल्लाह लिनु पर्छ । औषधि सेवन गरेका बिरामीले धेरै श्रम लाग्ने व्यायाम गर्दा कहिलेकाहीँ रक्तचापमा उतारचढाव हुनसक्छ । तर सामान्य दौडिने, पौडी खेल्ने, साइकल चलाउनेजस्ता अभ्यास गर्न सकिन्छ ।

1 comment:

  1. khaney kura mention xaina plz mention this or mail me it's a request sir

    ReplyDelete