Monday, October 27, 2014

फेसबुकमा भेटिएकी उनी

तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन ।


फेसबुक, सामाजिक सञ्जाल, जनसङ्ख्याको आधारमा विभाजन ग¥यो भने त, संसारको तेश्रो ठूलो मुलुक बन्छ रे । यही फेसबुकले कैयौंका सम्बन्धहरु जोड्यो, घरबार बनायो तर कैयौंको सम्बन्धहरु पनि छुटाउन पछि परेन । सबैचिजको लिमिट हुन्छ, लिमिट क्रस गरेपछि छ सबैचिज नशामा परिणत हुन्छ । शुरुशुरुमा त फेसबुक एकछिन खोल्यो, अपडेट हे¥यो, पुग्थ्यो तर आजभोलि फेसबुकले नै प्रयोग गरे जस्तो लाग्छ । फुर्सद भयो की क्लास होस् वा लाइब्रेरी, फेसबुक खोल्यो, अनलाईन हे¥यो, भेट्यो हाई भन्यो । सोच्दै थिए फेसबुकले साह्रै नै समय वर्वाद ग¥यो, अब कम चलाउँछु । सकभर एकाउण्ट नै डिएक्टिभेट गरिदिन्छु ।  

एक्कासी एकजना केटी साथीको ‘फ्रेण्ड रिक्वेष्ट’ आयो । आजकालका केटीहरु साह्रै बाठा पहिलो कुरा फेसबुकमै भुलाउन खोज्छन्, उनीहरुको फोन नम्बर पाउनु कहिले कहिले, अझ उनीहरुसँग डेट जानु त महिनौंको कुरा । धेरै नसोची ‘नट नाव’ गरिदिए । फेरि अर्कोदिन म्यासेज आयो, उसैको थियो । लेखिएको थियो – मैले तपाईको समाचारपत्रमा लेख पढेकी थिए, राम्रो लाग्यो, अनि ‘फ्रेण्ड रिक्वेष्ट’ पठाएको, के म तपाईको साथी बन्न सक्छु ? सोचे ह्या कति भाउ खोज्नु, यो अरुभन्दा फरक केटी पनि हुनसक्छे, त्यसपछि तुरुन्तै उसको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गरे । अनलाईन भेटिई हालि । ऊ आफैं शुरु गरी – थ्यांक् यु । सञ्चै आरामै हुनुहुन्छ ? मैले पनि उसको प्रतिउत्तर दिए ।  

एकदिन उसले लामै म्यासेज लेखि र अन्त्यमा सोधेकी थिए । तपाईका फेसबुकमा भएका स्टाटस त बबाल छन्, के ती वास्तविक जीवनका कहानी हुन् त ? हुन त केटीहरु यस्तै हुन्, फर्लट गर्न माहिर हुन्छन् । खासै वास्ता गरिन तर उसको म्यासेजहरु प्रत्येक दिन आइनै रहे । मन त हो, कति दिन कण्ट्रोल गर्न सकिन्छ र । मैले पनि उसको म्यासेजको रिप्लाई गर्न थाले । हुँदाहुँदै, उसको म्यासेज नआउँदा त म आफूलाई एक्लो फिल गर्ने पो भईसकेछु ।  

अब त म उसको प्रोफाइल, डिटेल्स, स्टाटस सबै खोजी खोजी पढ्न थाले । उसले पब्लिक गरेको एउटा मात्र प्रोफाइल पिक्चर छ, त्यही पिक्चर पनि घरिघरि हेर्न मन लागिरहन्छ मलाई । म त्यही पिक्चर हेर्दैमा फिदा हुन्छु । कलेज युनिफर्मको सेतो सर्ट, निलो टाई र कालो स्कर्टको सेल्फी पिक्चरमा सजिएकी छे । थाहा छैन, उ कस्ती छे तर उसका शब्दहरुले म्यागनेटिक फोर्सले जसरी मलाई उसको प्रेममा आकर्षित गरिरहेका छन् र शब्दहरु नै काफि भए, उसको प्रेममा फिदा हुन एक–दुई पटक उसँग फोन नम्बर र भेट्ने प्रस्ताव नगरेको पनि होइन तर उसले सधैं ठाडै अस्विकार गरिदिई ।

यसरी उसले बारम्बार अस्विकार गर्दै गएपछि, मैले आफ्नो निर्णय सुनाउने कोशिश गरे र भने तिमीसँग फेसबुकमा भेटिएको पनि ५–६ महिना भयो । अब तिमीलाई नै भेटेर, मनका सबै कुरा भन्न चाहन्छु । सधै फेसबुकमा सिमित हुन पनि सकिदैंन र तिमी मात्र एउटा केटी हौं जोसँग मेरा सबै कुरा शेयर हुन्छ साथै प्रत्येक दिनपनि । थाहाछैन, म कसरी तिमीमा डिपेन्ड हुँदै छु । त्यसैले म तिमीसँग भेट्न चाहन्छु । त्यसपछि उसले फोन नम्बर मागी र फोन गरी । बोली ‘ल भन्नु किन, भेट्नु प¥यो ?’ म बोले – “सबै त थाहा छ, तिमीलाई, अब आधिकारीक रुपमा प्रस्तुत हुन ।” ऊ मस्तले हाँसी र भनी के त्यसो भए प्रप्रोज गर्ने? मैले भने त्यो पनि सोध्ने कुरा हो । त्यसपछि उसले समय मिलाएर खबर गर्ने बताई, मैले पनि भन्दिए समय मात्र होइन मन पनि मिलाएर खबर गर्नु ।  

थाहा छैन, फेसबुकमा भेटिएकी ऊ, जसलाई राम्रोसँग देख्या छैन, भेट्या छैन, तर उसका शब्दहरुले प्रमाणित गरिसकेकी, म उसको प्रेममा फिदा छु भन्ने कुरा त । संसार जित्ने आँट गर्छु तर उसको अगाडी हार महशुस गर्छु । हजारौं पिडाहरु उसको सानो वचनले निको पार्छ । जिन्दगीको यात्रामा खै कहाँ कहाँबाट कसरी मानिसलाई एक–अर्को बीच नजिक बनाउँदो रहेछ, यो समयले । एकदिन बिहानै उसको फोन आयो र न्यूरोड जुबेनाइल क्याफेमा भेट्ने निर्णय भयो ।

पहिले देखिको सोच अनुसार मैले उसलाई प्रेमप्रस्ताव राख्ने योजना बनाए तर भित्रभित्रै डरपनि लागिरह्रयो कतै अविस्वकार गरी भने त । हुन त उसको र म बीच यथार्थ पनि फरक छ । उसको घरमा ड्याडमम्मी र उ, दिदी चाँहि म्यारिड । बेलाबेला ऊ जिस्किदै भन्थि, अब मेरो पालो । उसको बुबा युके. आर्मीमा, उनीहरुके बसाई लण्डनमा पनि । त्यसैले गर्दा, उसले यु.के. बोर्डको ए.सि.सि.ए पढेको बताउँथी । निर्धारित समयभन्दा केही ढिला गरी आईपुगी, त्यही क्याफेमा । केहिछिनको समयपछि मैले उसलाई प्रप्रोज गरे तर सायद उसलाई कुनै नौलो लागेन, सहजै स्वीकार गरी । प्रेम भन्ने चिज यस्तै, लाग्यो संसार जिते । उसको एउटै म्यासेजले मलाई कति आनन्द दिन्छ ।

कति जोसजाँगर चल्छ, रातभरी पढ्न उर्जा मिल्छ, मेरो सबैदिन खुशीले बित्छ ।   यसरी उसको र मेरो सम्बन्धले पनि करिव दुई वर्ष पार गरिसकेछ । ऊसँग बिताएका विभिन्न ठाउँहरु जस्तै गोदावरी, ब्हाइट गुम्बा, गार्डेन अफ ड्रिम, सुन्दरीजल आदीका आ–आफ्नै कहानी छन् । उसको काखमा मेरो सम्पूर्ण तनमन बिसाउन पाउँदा त, म आफुलाई त के, संसार बिर्सिदिन्थे । जब उसको कोमल ओठलाई चुम्दै, मेरा हातहरु उसका जवानीका संकेत प्रदर्शन गर्ने अङ्गहरुमा पुग्थे, म एकोहोरो लठ्ठ पर्थे । सायद उ पनि, लाग्थ्यो कि स्वर्ग यहि छ । भर्जिनिटीको कुरा गर्दा समेत बिच्किने उसलाई जब म फिजिकल रिलेसनसिपको प्रस्ताव गरे, ऊ त ब्रेकअप गर्न समेत तयार भई तर अन्त्यमा, ऊ आफैं स्विकारी अर्थात् राजी भई ।  

त्यसपछि हाम्रो सम्बन्धले झन गाढा रुप लिँदै अगाडी बढ्दै थियो । एकदिन ऊ अत्यन्तै चिन्तित भई फेन गरी र भेट्न आग्रह गरी । म अचम्ममा परे, उ भन्दै गई – अब बाबाको पेन्शनको कागज पत्र बनाउन लण्डन जानुपर्ने भयो रे, सँगै जाउँ छोरी भन्दै हुनुहुन्छ । साथै हिजोसाँझ अङ्कल एकजना केटा लिएर आउनु भयो । त्यो केटा यु.के. आर्मी रे, पहिलो छुटी आएको । बाबासँग मेरो बिहेको कुरा गर्दै थिए । मैले बीचैमा रोकेर, हतारमै सोधेछु, अनि तिमीले के भन्यौं त ? उ बोली – मैले त हुन्न भन्दिए, अझै २–३ वर्ष गर्दिन भने । मन हल्का भयो ।  

उसको भेटको कुरा अनुसार, उ अर्को हप्ता लण्डन जानुपर्ने भयो । उसको सि.ए. पढाई भर्खर सिद्धिएको थियो । बाबाले लण्डनमा जब गर्दै बस् छोरी भन्नु हुन्छ, तर मलाई मन छैन भन्दिए भन्थि । उसले जानेबेला तपाई विना धेरै दिन लण्डन बस्न सकुँला जस्तो त छैन तर बाबाको अगाडी पनि कसरी नाई भन्नु । बाबाको पनि मन राखिदिन्छु, म छिट्टै २–३ महिनामै फर्किहाल्छु । हजारौं समस्याको समाधान उसको उपस्थितिले र सानो वचनले समाधान गरिदिन्थे तर अब ऊ नै लण्डन जाँदै छे ।  

अब उ लण्डन उड्न बाँकी २ दिन मात्र, भोली त हाम्रो अन्तिम भेट, पर्सि त बिहानैको फ्लाईट । अर्कोदिन साँझ पहिलो भेट भएको क्याफेमै भेटने निर्णय ग¥यौं । अर्कोदिन बिहानैदेखि मन गह्रौं भयो, शरीरमा जोश–जाँगर थिएन । मन नलाई नलाई कलेज गए, फर्के अनि उसलाई भेट्न निस्के क्याफेतिर । तर न उ आई, न त उसले फोन नै गरी । अनि कोठातर्फ फर्के, खाना खान मन लागेन, शरीर पुरै दीर्घकालिन रोगले ग्रस्त भएजस्तो महशुस भईरह्यो । एक्कासी उसको फोन राती आयो । ऊ सिधैं रुन पो लागि, अनि बोल्दै गई – जब म तपाईलाई भेट्न कोठाबाट निस्किदै थिए ।

ठीक त्यसैबेला फेरि आजपनि त्यही यु.के. आर्मी केटालाई लिएर अङ्कल आउनु भयो र मलाई उसकै अगाडी राखी बिहेको लागि अनुरोध गर्नु भयो तर मैले अस्वीकार गरिदिए । त्यसपछि बाबामम्मीसँग अंकल धेरै बेर कुरा गर्नुभयो र रातीसम्म बस्नु भयो । मन दुःखी बनाउँदै म पनि घरमा बसिरहे भन्दै …… ऊ रुँदै बोलिरहेकी थिई । मलाई नेपाल छोड्न मन छैन, म छिटो फर्कन्छु । तपाई विना त, खै कसरी लण्डन बसाई रमाइलो होला र ? हुन त हामी फोनमा भएपनि नियमित सम्पर्कमा रहने छौं । अर्कोदिन एयरपोर्टबाट बिदाई हुने बेला ‘लब यु’ भन्न पनि छुटाईने । याद छ मलाई, रुँदै भनेकी थिई ।  

ऊ लण्डन उडी तर यता उ विनाको प्रत्येक पलहरु मेरा लागि पिडादायी हुँदै गए । कलेज गयो, पढ्नै मन लाग्ने । सधैं कोलाहल लाग्ने काठमाडौंका गल्लीहरु पनि सुनसान लाग्न थाले । एकजना मान्छेको अनुपस्थितिले कति असर पार्दो रहेछ । निन्द्रा लाग्दैन, उसका यादहरु वरिपरी घुमिरहन्छन् । लण्डन जानु २–४ दिन अघिमात्र उसले फेसबुक डिएक्टिभ गरेकी थिई । कसले हो कुन्नी, उसलाई आपत्तीजनक फोटो ट्याग गरिदिएछ । त्यसपछि घरबाट गाली गरेपछि डिएक्टिभ गरेकी थिई ।  

ऊ लण्डन उडेको दुई दिन भयो, तर उसको अहिलेसम्म फोन आएन । सोचे नयाँ ठाउँबाट कसरी फोन गरोस्, एकमनले फेरि सोचे बाबाको फोनबाट एक कल फोन गरेपनि त हुन्थ्यो नि । अब हप्ता भयो, महिना भयो तर उसको फोन आएन । तीन महिना पनि पूरा भयो । अहँ उसको केही खबर छैन, उ नेपाल फर्कि या लण्डन छे । अब त उसको खबर नपाएको पनि ६ महिना पुगेछ । म उसको प्रेममा दिनप्रतिदिन तड्पिँदै छु, उसका यादहरुले नराम्रोसँग पोल्छन्, म उसकै प्रेमको एक क्रोनिक पेसेन्ट जस्तो जिउँदै छु । थाहा छैन । उ कसरी बिर्सन पुगी । नेपाल हुँदा, मेरै काखमा सुतेर घण्टौ रुने उ, आज कसरी बिर्सन सकि । थाहा छैन, लण्डन छे वा नेपाल, कि त्यही यु.के. आर्मीसँग विवाह बन्धनमा बाँधिन बाध्य भई ।  

पूर्णरुपमा म बेखबर छु, उसको प्रेमले मलाई दिनप्रतिदिन गलाउँदै छ । लाग्छ, संसारमा सबै रोगको उपचार सम्भव छ, तर प्रेम, द्याट इज लव, कसैलाई बिर्सनु, सजिलै सम्भव छैन, उ विना कदापी यो रोगको उपचार छैन । उसको ओठमा रमाउने यी मेरा ओठहरु, उसकै नाम लिई बड्बडाउन विवश छन्, उसको अङ्गहरुलाई स्पर्श गर्ने हातहरु कलम समाई उसकै कहानी लेख्न बाध्य छन्, विचरा म । समयको अन्तरालपछि, साथीहरुको सहयोगले विस्तारै विस्तारै म आफुलाई सम्झाउँदै थिए । फेरि, २–४ दिन अगाडी उसको ‘फ्रेण्ड रिक्वेष्ट’ आएको छ । थाहा छैन, उ फेरि किन ……………. ।

0 comments:

Post a Comment