Sunday, October 26, 2014

रक्सी खाएको आरोपमा पक्राउ परेका युवकको प्रहरी हिरासतमै मृत्यु

९ कात्तिक, मोरङ । रक्सी खाएको आरोपमा पक्राउ परेका सिँजुवा-३ का मधु ताजपुरियाको प्रहरी हिरासतमै रहस्यमय मृत्यु भएको छ । शुक्रबार पक्राउ परेका ताजपुरियाको राति नै मृत्यु भएपछि शनिबार भएको झडपमा ११ स्थानीय र आठ प्रहरी घाइते भएका छन् ।


प्रहरीको यातनाबाट ताजपुरियाको मृत्यु भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि प्रहरीसँग सिँजुवा बजारमा झडप भएको हो । उर्लाबारीबाट दक्षिणमा पर्ने सिँजुवा मोरङको दक्षिण-पूर्वमा अवस्थित गाउँ हो ।
 घटनाको छानविन हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्द बल प्रयोग गरेको उनीहरुको गुनासो छ ।

शनिबार भएको झडपमा प्रहरीले ९ राउण्ड अस्रुग्यास र १२ राउण्ड हवाइ फायर गरेको थियो ।
शनिबार दिनभर सिँजुवा बजार र प्रहरी कार्यालय परिसरमा सयौं प्रहरी तैनाथ गरिएको थियो ।

यातनाबाट मारिएको दाबी


ताजपुरियालाई मादक पदार्थ सेवन गरेको अभियोगमा शुक्रबार दिउँसो ४ बजे प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पश्चात राति ८ बजे प्रहरीले उनलाई कोशी अञ्चल अस्पताल बिराटनगर पुर्‍याएको थियो ।
ताजपुरियाको उपचारकै क्रममा मृत्यु भएको सिँजुवा प्रहरी कार्यलयका इन्सपेक्टर बाबुराम पोखरेलले बताए ।
तर, स्थानीयवासी र मृतकका परिवारले भने प्रहरीको यातानाबाट मृत्यु भएको आरोप लगाएका छन् । मृतककी श्रीमती चिटी ताजपुरियाले प्रहरीको यातनाबाट श्रीमानको मृत्यु भएको बताइन् ।
‘प्रहरीले अस्पताल लाने क्रममा मलाई नसोधी लग्यो, अस्पतालबाट खबर गरेपछि हेर्न जाँदा सास गइसकेको रहेछ ।’ चिटीले भनिन् ।
सिँजुवा प्रहरीले पक्राउ परेका ताजपुरियालाई ईंटा बोकाएको र कुटपिट गरेको स्थानीयको आरोप छ । मधुकी पत्नीले भनिन्, ‘थुनामा राखेको मान्छेको त्यहीँ मृत्यु हुन्छ भने जवाफदयी को हुन्छ ?’
प्रहरीले शुक्रबार राति नै मधुको शव परिवारसमक्ष पुर्‍याएको थियो । तर, गाउँलेले जिम्मा लिन नमानेपछि शनिबार बजारमा शव राखेर आन्दोलन गरेका हुन् ।

प्रहरीको दाबी


सिँजुवाका इन्सपेक्टर पोखरेलले ताजपुरियालाई यातना नदिएको दाबी गरे ।
पोखरेलले भने, ‘बिरामीको अवस्थाबारे जानकारी गराउँदा उपचारमा ढीलो हुन्छ भनेर तत्काल अस्पताल लगिएको हो । पक्राउ गरेको केही समयपछि उहाँ (मधु) बेहोस हुनुभयो ।

३० हजार किरिया खर्चसहित शव जिम्मा


कोशी अञ्चल अस्पतालमा पोष्टमार्टमपछि ताजपुरियाको शव परिवारले जिम्मा लिएको छ ।
शनिबार इलाका प्रहरी कार्यलयको भवनभित्र भएको समझदारीमा मृतक परिवारलाई किरिया खर्च ३० हजार दिने, अनुसन्धान जारी राख्ने, र शव परिवारले जिम्मा लिने उल्लेख छ । घटनाबारे जिल्लास्तरीय छानविन समिति बनाउने सहमतिसमेत भएको थियो ।

मृतकका घरमा मानवअधिकारवादी


यसैवीच आइतबार बिहान मृतकका घरमा बिराटनगरबाट मानअधिकारकर्मीहरु पुगेका छन् ।
मानवअधिकारकर्मीले घटनाबारे सोधखोज गरेको मृतकका छोरा जीवन ताजपुरियाले बताए । छोरा जीवनले सत्य तत्य छानविन हुनुपर्ने र दोषीलाई कारवाही गरिनुपर्ने बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण ताजपुरिया परिवार अड्डा अदालत जान सक्ने अवस्थामा छैन ।

गरिबलाई ऐन, ठूलालाई चैन


सिँजुवा प्रहरीले ठुलालाई चैन र सानालाई ऐन लागु गर्ने गरेको स्थानीयले गुनासो पोखेका छन् ।
केही दिन अघिमात्रै जुवाको खालबाट पक्राउ परेका नेपाली कांग्रेसका स्थानीय नेता जीवन पनेरुलाई प्रहरीले कुनै कारवाही नगरी तत्कालै छाडिदिएको थियो ।

0 comments:

Post a Comment