Tuesday, October 28, 2014

अमेरिकी अदालतमा अमिताभ बच्चन विरुद्ध मुद्दा दर्ता

सन् १९८४को सिख हिंसाको घटनामा एक अमेरिकी अदालतमा बलिउडका अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  


लस एन्जल्सको संघीय अदालतमा अमिताभ विरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो । ‘सिख फर जस्टिस’ संगठनका कानुनी सल्लाहकार गुरुपतवंत सिंह पनुनले उक्त मुद्दा दर्ता गरेका हुन् ।  

दर्ता गरिएको मुद्दाका अनुसार सन् १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पछि बलिउड अभिनेता अमिताभ बच्चनले सिखहरुका विरुद्ध हिंसा भड्काएका थिए । उनले ‘रगतको बदलामा रगत’ भन्ने नारा लगाएको सुनिएको थियो ।  

पनुनका अनुसार अमिताभको त्यतिबेला गान्धी परिवारसँग निकै हिमचिम रहेको थियो । उनी भन्छन्, ‘सन् १९८४ को अक्टोबर ३१ तारिखका दिन जब इन्दिरा गान्धीको हत्या भएको थियो, बच्चनले त्यहाँ उपस्थित भिडलाई सिखविरुद्ध भड्काएका थिए । ’  

बच्चनले २१ दिन भित्र अदालतलाई स्पिष्टिकरण दिनुपर्नेछ । पछिल्लो वर्ष सिख हिंसाको घटनामा जगदीश कौर नामक एक व्यक्तिले अमिताभ बच्चनमाथि सिख विरुद्ध हिंसा फैलाएको आरोप लगाएका थिए । तर उनलाई पक्राउ गरिएन ।  

बच्चनले आफ्नो हात हल्लाई–हल्लाई त्यहाँ उपस्थित भिडलाई हिंसाको लागि उत्प्रेरित गरिरहेको दुरदर्शन टेलिभिजनमार्फत देखेको कौरले ठोकुवा गर्दै भने । यद्यपी, अमिताभ बच्चनले भने यी आरोपहरुलाई सधैँ नकार्दै आइरहेका छन् ।

सन् २०११ मा सिखहरुको सबैभन्दा ठूला संस्था ‘अकाल तख्त’ लाई पत्र लेख्दै उनीवरुद्ध लागेको आरोप निरर्थक भएको बताएका छन् । उक्त पत्रमा उनले आफ्नी आमा नै सिख भएको बताएका थिए ।   स्मरण रहोस्, भखरै अमेरिकी अदालतमा सिख हिंसाको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि आरोप दर्ता गरिएको थियो । (एजेन्सी)

0 comments:

Post a Comment