Wednesday, October 1, 2014

जुरे सुनकोसी नदीमा अझै १७ मिटर बाँध बाँकी छ।

सुनकोसी नदीमा अझै १७ मिटर बाँध बाँकी  छ।  बाँकी बाँधका कारण तल्लो तटीय क्षेत्रलाई कुनै खतरा भने रहेको छैन।


साउन १७ गते राम्चे र माङ्खा गाविसको सीमामा पर्ने जुरेमा गएको पहिरोले सुनकोसी नदी थुनिँदा करिब ४७ मिटर बाँध बनेको थियो। बाँधको पानीलाई सुरक्षित रुपमा घटाउन नेपाली सेनाले विष्फोट एवम् डोजरको प्रयोग गरेको थियो। 
 
सुनकोसी नदीको बहाव पूर्ववत् रुपमा फर्काउने सम्भावना छैन। कहीँ न कहीँ तालका रुपमा रहिरहने भो। तालका कारण तल्लो तटीय क्षेत्रलाई कुनै खतरा अहिले छैन, प्रमुख सेनानी सुरेशकुमार कार्कीले भने। 
 
करिब १० लाख टन माटो र ढुङ्गा पहिरोबाट खसेको थियो । सुनकोसी नदी थुनिँदा ८० लाख क्विसेक पानी जम्मा भई ताल बनेको थियो। सो तालको लम्बाइ बाह्रबिसे बजारतर्फ तीन किलोमिटरसम्म पुगेको थियो भने तालको गहिराइ १९० मिटर रहेको सेनाले जनाएको छ। 
 
सेनानी कार्कीले सेनालाई तालको पानी सुरक्षित रुपमा घटाउन सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको बताए। 
 
पहिरोबाट ३३ जनाको शव निकालिएको थियो। स–साना पहिरो खसिरहँदा तथा पहिरोको गहिराईलाई डोजरले समेत खन्न नसकेका कारण स्थानीय जिल्ला प्रशासनले १५६ जनालाई मृत घोषणा गरी आफन्तजनलाई राहत वितरण गरेको थियो। हालसम्म १४५ जनाका आफन्तजनले राहत पाइसकेका छन्। पहिरोका कारण १३४ घरका एक हजार ६८१ जना विस्थापित हुन पुगेका थिए। ती विस्थापितको अवस्था अहिले कष्टप्रद रहेको छ। 
 
प्रमुख सेनानी कार्कीले भने – पहिरो गएको माथिल्लो क्षेत्र कागुनेमा जमिन चर्केको छ । चर्काे घाम तथा अविरल पानी पर्दा पहिरो जाने खतरा भने रहिरहेको छ। यसलाई सम्बोधन गर्नु जरुरी छ । कागुने क्षेत्रबाट अहिले पनि पानीका छहरा पहिरोमा बगिरहेको देख्न सकिन्छ। 
 
पानी, पहिरो गएको जमिन माथिभन्दा मुनिबाट बगेका कारण पहिरोको जोखिम कायमै रहिरहेको हो। यही जोखिमका बीचमा स्थानीय व्यवसायीले सडक विभागको सहयोगमा पहिरो गएकै स्थानबाटै सडक निर्माण गरी अहिले अरनिको राजमार्ग आंशिक रुपमा सञ्चालन ल्याएका छन्।
 
पहिरोले तीन किलोमिटर बाटो पूर्णरुपमा क्षति पु¥याएको थियो। आंशिक रुपमा तयार भएको सो बाटोबाट मालबाहक कन्टेनर पार गर्न कम्तीमा एकदिन पालो पर्खनुपर्ने अवस्था छ।

0 comments:

Post a Comment