Monday, October 27, 2014

नन्दप्रसादको अन्तिम संस्कार सरकारले गर्ने, मन्त्रिपरिषदको निर्णय

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषी उपर कानूनी कारबाहीको माग गर्दै अनसनकै क्रममा मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको अन्तिम संस्कारको लागि सरकारले प्रक्रिया अगाडि बढाउने भएको छ।


सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी प्रतिनिधिको उपस्थितिमा अधिकारीको शव दाहासंस्कारको आवश्यक व्यवस्था सरकारले नै गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए।

गोरखा फुजेल गाँउका किशोर कृष्णप्रसादको २०६१ सालमा तत्कालिन माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी हत्या गरेका थिए।

हत्यामा संलग्न दोषी माथि कानून बमोजिम कारबाहीको माग गर्दै अनसनमा बसेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसादको १३२ औं दिनमा बीर अस्पतालमा निधन भएको थियो। हेर्नुहोस् समाचारमा
३३२ दिनदेखि अनसनरत नन्दप्रसादको निधन

उनका जेठा छोरा नुरप्रसादले बाबुको शव बुझ्न इन्कार गर्दै सम्पर्क बाहिर रहेपछि त्रिवि शिक्षण अस्पतालमा रहेकेा अधिकारीको दाहासंस्कारका लागि सरकारले नै व्यवस्था गर्दै दोषीमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ।

त्यसैगरी हालै सरकारको आग्रहमा पाँचबुँदे सहमति गर्दै अनसन तोडेकी अधिकारीकी श्रीमती गंगामाया अधिकारीको स्वास्थ्य उपचारमा लागेका सम्पूर्ण खर्च राज्यले नै बेहोर्दै उनको बाँकी जीवन यापनका लागि आवश्यक व्यवस्था पनि सरकारले नै गरिदिने भएको छ।

अधिकारीको जीवन यापनका लागि राज्यले आर्थिक सहयोगको व्यवस्था कसरी मिलाउने भन्ने विषयमा अर्थ मन्त्रालय र शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले तयार पार्ने मोडालिटी अनुसार हुने सिंचाई मन्त्री एन पि साउदले बताए।

0 comments:

Post a Comment