Tuesday, October 28, 2014

सार्क सम्मेलनमा भाग लिन आउने भारतीय प्रधानमन्त्रीको मोदीको स्वागत जनकपुरमा

११ कात्तिक, काठमाडौं । विश्व राजनीतिका सर्वाधिक चर्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा पनि चर्चाको शिखरमा रहने भएका छन् ।


मोदीले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको परम्परालाई तोड्दै नयाँ इतिहास रच्न लागेका छन् । यसपटक नेपाल भ्रमणका लागि उनको विशेष विमान नयाँ दिल्लीबाट उड्ने छैन, न त सुरूमा काठमाडौंमै अवतरण गर्नेछ ।

सार्क सम्मेलनमा भाग लिन आउने भारतीय प्रधानमन्त्रीको विशेष विमान बिहारको राजधानी पटनाबाट उड्नेछ र जनकपुरमा अवतरण गर्नेछ ।

भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको इतिहासमा मोदीले पहिलोपटक काठमाडौं बाहिरबाट नेपाल भ्रमण शुरु गर्दैछन् । उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने बताइएको छ ।

सार्कको अठारौं शिखर सम्मेलन आगामी मंसिर दोस्रो साता काठमाडौंमा आयोजना गरिएको छ ।
मोदीको आगमन मात्रै काठमाडौं बाहिरबाट हुने छैन, उनको स्वदेश फिर्ताको विशेष विमान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेछैन ।

नेपाल सरकारले भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्नेछ भने विदाइ गर्न पुग्नु पर्नेछ, लुम्बिनीमा ।
नेपाल भ्रमणको शुरुवात काठमाडौं बाहिरको धार्मिक शहर जनकपुरबाट गरेजस्तै भ्रमणको अन्त्य पनि मोदीले अर्को पवित्र धार्मिकस्थल लुम्बिनीबाट गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलार्इ लक्षित गर्दै सरकारले जनकपुर र लुम्विनीमा सुरक्षाको विशेष प्रवन्ध गरेको छ

सामान्यतया विश्वका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुको भ्रमण राजधानीबाट शुरु हुने प्रचलन छ । तर, यो प्रचलनलाई नयाँ मोड दिएका मोदी आफूले पनि त्यसको अनुशरण गर्न लागेका हुन् । आफू प्रधानमन्त्री भएलगत्तै गत सेम्टेम्बर १७ मा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई उनले नयाँदिल्लीको साटो आफ्नो गृहनगर गुजरातमा स्वागत गरेका थिए । सो भ्रमणमार्फत् चिनियाँ सरकारले चीन समग्र भारतको तुलनामा मोदीलाई निकै निकटको मित्र ठान्छ भन्ने सन्देश दिएको थियो ।
तर, नेपालमा मोदीले जनकपुरबाट भ्रमणको शुरुवात र लुम्बिनीबाट भ्रमण टुंग्याउनुमा धार्मिक कारण सन्निहित देखिन्छ ।

नयाँ दिल्लीलाई काठमाडौंमा प्रतिनिधित्व गर्ने विशेष स्रोतहरुका अनुसार मोदीको आफ्नै रुचीका आधारमा जनकपुरबाट नेपालको भ्रमण शुरु गर्ने र लुम्बिनीबाट टुंग्याउने निर्णय लिइएको बताइएको छ । यसका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले गोप्य रुपमा सुरक्षाको स्थिति विश्लेषण शुरु गरिसकेका छन् ।
नेपाल भ्रमण शुरु हुनुअघि मोदी विहारका कार्यक्रमहरुमा सहभागी रहनेछन् भने भ्रमणपछि उनले उत्तरप्रदेशमा केही समय बिताउनेछन् ।

नेपाल भ्रमणमा आउनुअघि सम्भवतः मोदीले विहारमा निर्मित भारत सरकारकै महत्वाकांक्षी परियोजना ‘पारादीप आइओसिएल रिफाइनरी प्रोजेक्ट’को उद्घाटन गर्नेछन् ।

तर, यस बारेमा हालसम्म स्वतन्त्र रुपमा पुष्टि भएको छैन । यो भारतीय आयल निगम र कुवेत आयल निगमको संयुक्त परियोजना हो । जसको अनुमानित निर्माण लागत आठ हजार करोड भारु रहेको छ ।
प्रधानमन्त्रीको पदमा आसीन भएलगत्तै पशुपतिनाथको दर्शनको विशेष कार्यक्रमसहित गत साउन १८ गते नेपाल भ्रमणमा आएका मोदीले नेपालको संसदलाई सम्बोधनको क्रममा आफू सार्क सम्मेलनमा नेपाल आउँदा जनकपुर र लुम्बिनीको दर्शनका लागि जाने जानकारी गराएका थिए । तर, उनले आफ्ना ‘अफ ट्रयाक’हरुलाई पछयाउँदै जनकपुरबाट भ्रमण शुरु गर्ने र लुम्बिनीमा टुंग्याउनेछन् भन्ने अनुमान गरिएको थिएन ।
मोदीले दुनियाँलाई आश्चर्य चकित पार्ने आफ्नो कार्यशैलीलाई निरन्तरता दिँदै नेपाल भ्रमणलाई पनि विशेष बनाउन लागेको बताइन्छ ।

0 comments:

Post a Comment