Friday, October 24, 2014

पक्कै मन्त्री भइन्छ है केपी समाए।

९५ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीले ‘नमस्कार! के आपत आइपरेको यस्तो। दाँत पनि छैन कसरी भट्याउनु हो। भाइहरूले अनुरोध गरिहाल्नु भो नाई भन्न सकिन।’ भन्दै गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओली सपत्नी सिस्नुपानी नेपालको व्यङग्यात्मक देउसी कार्यक्रमस्थलमा प्रवेश गरे। केपी ओलीलाई स्थान ग्रहण गराउँदै उध्घोषकले नेपाली पढाउँने शिक्षकका लागि एक आदर्श व्यक्ति, उखान-टुक्काका अभियन्ता, नेपाली राजनीतिका व्यङ्य नेता भन्दै देउसी खेल्न आग्रह गरेपछि ओली पनि स्टेजमा उक्लिए। केपी माथीको यो टिप्पणीले कार्यक्रमस्थल हाँसोले गुन्जायमान भयो।


उनीभन्दा पहिले नै स्टेजमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकारहरू तुलसी दिवस, उषा ठाकुर, घ्यानु पाण्डे, चन्द्र कार्की, गीतकार यादव खरेल, चट्याङ मास्टर लगायतको समूह पहिले ने स्टेजमा थियो जसको नेतृत्व सत्यमोहन जोशीले गरिरहेका थिएँ।
जोशीले देउसी सुरू गरे,
‘ए आहै भन भन भाई हो
देउसी रे!’

उनले देउसी भट्याउँदा देशमा शान्ति, मेलमिलाप, माघमा संविधान दिनैपर्छ भनेर माग गरे। उनको मागमा ओली, पौडेल लगायतकाले देउसी रे भन्दै समर्थन गरे। जोशीको छोटो देउसीमा युवालाई इलम, रोगीलाई मलम देखि लिएर साँझमा बत्ती, धारामा पानी सम्मका कुराहरू थिए। उनको देउसीमा जोडदार समर्थन गर्दै दर्शकदीर्घाबाट हाँसोको फोहरा र तालीको गडगडाहट आयो।

त्यसपछि मञ्चमा सिस्नुपानी नेपालका १७ जना कलाकारले देशमा संविधानको माग गर्दै देउसी भट्याए, गाए। विगत २५ वर्षदेखि हर वर्ष तिहारमा सिस्नुपानी नेपालले देउसीका माध्यमबाट व्यङग्यको झटारो हान्दै आएका छन्। बुधबार साँझ प्रज्ञा प्रतिष्ठानको डबलीमा उनीहरूले आफ्ना देउसी, गीतबाट संविधान नबनेकोमा नेताहरूमाथि प्रत्यक्ष तीखो व्यङ्य प्रहार गरे। उनीहरूले संविधान आउनेमा शंका गर्दै भने।
संविधान बनाउँछु – भन्दैछन्
लगानीको साउँ व्याज – गन्दैछन्
यस्ताले संविधान –ल्याउलान् त?
दुनियाँमा साँढे – व्याउलान् त?’

उनीहरूको व्यङ्ग्य संविधान नबनेकोमा मात्र सिमित थिएन। उनीहरूले समाजमा जनताले भोग्दै आएका सास्ती राजनीतिक नेताहरूका गाईजात्रे पारा, सामाजिक विसंगति, महङ्गी, भ्रष्टाचार लगायतका विविध पक्षमाथि कटाक्ष र पटाक्ष गरेका थिए। उनले नेपालका प्रधानमन्त्री सुशील कोइरालाई इगिंत गर्दे यस्तरी प्रहार गरे।

अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउने
हाम्रा देशका प्रधानमन्त्री लुतो कनाउने
गरिब प्रधानमन्त्रीलाई कसले यस्तो गरायो
भान्साबाटै जाबो बार लाख हरायो’
सिंहदरवार कपालमा कस्तो जुम्रो परेछ
प्रधानमन्त्री छानेको त झुम्रो परेछ’

डबलीको अग्रभागमा बसेर कार्यक्रम हेरिरहेका केपी ओली आफूमाथि सिस्नुपानीका देउसेहरूको व्यङग्य खनिँदा मुसुमुसु हाँसेर प्रतिक्रया जनाइरहेका थिए भने दर्शकहरूचाँहि पेट मिचिमिचि हाँसिरहेका थिँए। ओलीलाई उनीहरूले यसो भन्दै सिस्नोपानी लगाए।
‘स्वागत द्वारमा आगो लगाई अधिवेसन गरेर
ओली नेपाल कुस्ती खेल्छन् भुइँमै झरेर ।
एमालेलाई धेरै वर्ष हाँके नली हुक्काले
अध्यक्ष पद पड्कायो उखान टुक्काले
कोइले धन कमाए कोहीले डन बडाए
पक्कै मन्त्री भइन्छ है केपी समाए।’

उनीहरुले देउसीबाटै मधेसीदलको फुटिरहने प्रवृतिलाई उनीहरूले भ्यागुताको धार्नीजस्तै भएको र मन्त्री पाउने बितिकै उफ्रिने भने। उनीहरूले कार्यकर्ता र जनताबाट टाढिएका कारण एमाओवादी अध्यक्ष प्रचण्ड व्यङग्य गर्न लायक नायक नभएको पनि बताए। त्यसैगरी उनीहरुले पत्रकारहरू ‘भएको कुरा कम लेख्ने, देखेभन्दा धेरै लेख्ने’ बानी भएको भन्दै पत्रकारहरूको उछित्तो काटे।

कार्यक्रममा शिशिर योगीले ‘झम तारा झमझम’को ‘झ्वाम पार झ्वाम झ्वाम’ प्यारोडीमा देशमा रहेको भ्रष्टाचारको बखान गरे। त्यस्तै कमलीकान्त भेटवालले आफ्नो ‘झम्के गुलेली’को प्यारोडीमा सभासदहरूले संविदान बनाउन नसकेकोमा कसिकसाउ गरे। उनीहरूले कटाक्ष मात्र गरेनन आशिष पनि थिए। उनीहरूको आशिष यस्तो थियो।

पानीमा पहेलो   –तर नहोस्
खोलाका तिरमा  –घर नहोस्
कवाडी पिलेन      –नउडून्
भीरमा गाडी     – नगुडून्
खेतमा जहाज     –नझरोस्
यतातिर इबोला       –नसरोस्
धारो खोल्दा      – पानी होस्
आयकर तिर्ने    – बानी होस्
कालो सूचिमा     – नाम नहोस्
खल्तीमा घुस खाको    – दाम नहोस्

करिब एक घन्टा चलेको कार्यक्रम पछि प्रतिक्रिया दिदैँ ओलीले आफूलाई पनि कलाकारको सानो दर्जा दिएकोमा धन्यवाद दिदै एमाओवादीलाई लक्षित गर्दै उनीहरूमाथि व्यङ्य नगरिएकोमा असन्तुष्टी व्यक्त गरे। उनले भने, ‘कुनै हालतमा सहमति गर्दिन। सहमती नभई अगाडि जान दिन्न भन्ने कुरा अलिकति व्यङ्यमा आउनुपर्थ्यो जस्तो लाग्छ।‘ त्यसपछि उनले आफै व्यङग्य कसे, ‘कुनै हालतमा मान्दै मान्दिन, नमानिकन हुँदैन।’

कार्यक्रमस्थलमा हाँसो गुन्जियो। उनले गरिएको व्यङ्य सही भएको भन्दै आफूमाथि गरिएको प्रहार बाछिटे पानीको बाछिटा भएको टिपणी गरे। यस प्रस्तुतिमा सिङ्गो देश बोलेको प्रतिक्रिया दिए।

0 comments:

Post a Comment