Friday, October 31, 2014

काठमाडौंमा राज्य गर्ने पहिलो वंश ‘गोपाल वंशको रामकहानी

पर्यटकीय उपत्यका टिष्टुङको ओरालो भर्दाझर्दै तपाईंलाई एउटा निकै सुन्दर बस्तीले स्वागत गर्छ । एकैनासका घरहरु रहेको उक्त बस्ती मकवानपुर जिल्लाको टिष्टुङस्थित एउटा कुनातिर अवस्थित रहेकाले ‘कुन्छाल’ गाउँका रुपमा परिचित छ । अलि साँघुरो जस्तो लाग्ने त्रिभुवन लोकमार्ग छाडेर केहि मिटरको ढुंगा छापेको बाटो उक्लेपछि पुगिने सो बस्तीका हरेक घरमा निकै रहरलाग्दा हाँसहरु थिए । लाग्छ यो इतिहासको एउटा बस्तीमा तिनै हाँसहरुको एकनासे आवजले स्वागत गरिरहेछन् ।  

सुन्नुभएको होला, काठमाडौंमा राज्य गर्ने पहिलो वंश ‘गोपाल वंश’ लखेटिएका थिए । लखेटिएर शासकहरु कुन्नी कता गए , तर तिनै गोपालवंशको खलक भने कुन्छाल गाउँमा छन् । त्यो सिंगो कुन्छाल गाउँ गोपालीहरुको गाउँ हो । करिब २४५ घर रहेको सो गाउँमा गोपाली बाहेक अन्य कुनै जातीको बसोबास छैन ।   मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो तर त्यो गाउँलाई भने कुनै तन्त्र आएको छैन । आज पनि त्यो गाउँ चन्द्र बहादुर गोपालीको एकल तजविजमा चल्छ ।

नेपालका मुखिया प्रथाहरु उहिल्यै अन्त भैसके । तर नेपालमा अन्त भएर के भो ? चन्द्रबहादुर अझैपनी गाउँमाथिको डाँडोमा गएर उर्दि लगाउने गर्छन । ‘मैले उर्दि लगाएपछि सबै उत्रनुपर्छ, डाँडामा गएर आज फलानोको रोपाई छ है, भनेर कराएपछि सबै आउँछन् ।’ चन्द्र बहादुर ले भने । खेत खन्ने बेला, धान गोड्ने बेला वा धान रोप्ने बेलामा तिनै चन्द्रबहादुरको एक उर्दिका भरमा सिंगो गाउँ जम्मा हुने गर्छ । ‘कहिलेकाँही ठूलो पुजा गर्ने बेलामा पनि कराईदिनुपर्छ’ चन्द्र बहादुर थप्दै थिए ।  

यो गाउँका गोपालीहरुले आजसम्म कुखुरा पालेका छैनन् । गाउँमा कुुखुराको भाले बासेमा रोगब्याधी लाग्ने अन्धविश्वासमा रहेको यो पुस्ता कुखुरा खान त के छुनसम्म हिचकिचाउँछ । चन्द्र बहादुर भन्दै थिए ‘कुखुरा बास्यो भने कहिले बालीमा असिना लाग्छ त कहिले मान्छेलाई रोगले सताउँछ ।’ त्यसैले यो पुस्ता नेपाली समाजको लोकप्रिय कुखुरादेखि भागेको पुस्ता हो ।   यो पुस्तामा चलेको मुखिया प्रथालाई उनीहरुले थकाली प्रथाका रुपमा मान्दै आएका छन् । यहाँ जो पाको हुन्छ उसैलाई थकालीका रुपमा मान्ने चलन छ ।

यो गाउँका चन्द्रबहादुर मुल नाईके हुन् भने अरु पाँच जना उनका सहयोगी सहायक–नाईकेहरु रहने गर्छन् । तर, उनको मातहत रहेका अन्य गाउँलेका बिचमा भने उनीहरुलाई थकालीको संबोधन गरिन्छ । सामुहिकतामा विश्वास गर्ने यो गाउँका गोपालीहरु मुख्य खेतीको काम गर्ने बेला एकै ठाउँमा खाना खाने गर्छन् । ‘विशेषगरी बैशाख र मंसिरमा सिंगो गाउँका लागी एउटै डेक्चिमा खाना पाक्छ ।’ चन्द्र बहादुरले भने ।

कुन्छाल गाउँका नगन्य बासिन्दा बिच सामान्य भना भैरी भएपनि आजसम्म अदालती मुद्दा नपरेको सुनाउँदै थिए एक वृद्ध । सामान्य भनाभैरीका केशहरु भने चन्द्र बहादुरले नै मिलाउने गरेका छन् । करिब १५ वर्ष अघिसम्म केत्तुकेको पातबाट बनेको घरेलु जुत्ता लगाउने यो पुस्ताले अहिले भने बजारका आधुनिक जुत्ता लगाउन थालेको छ । तर छालाको जुत्ता लगाउन भने अझै पनि हिचकिचाउँछन् यहाँका बासिन्दाहरु । हर्क बहादुर गोपाली भन्दै थिए ‘मैले थाहा पाउँदासम्म दाप हालेको खुकुरी भिर्न बर्जित थियो ।’  

पश्चिम गोर्खाको कुन्छालबाट २००१ सालतिर बसाँई सरेर टिष्टुङ आएको यो पुस्ता जनै भिर्ने पुस्ता हो । लवज नेवारी जस्तो लागेपनि ठेट नेवारी भन्दा अलि फरक भाषा बोल्ने यो पुस्ताले आफुलाई ब्राह्मण भन्दा माथिको जात मान्ने गरेको छ ।   कुनामा बसेकाले अहिले पनि कुन्छाल गाउँको उपमा पाएको यहाँका पुस्ताले पञ्चायतकालसम्म आफ्नो थर ग्वाला लेख्ने गरेका थिए । चन्द्र बहादुर भने पञ्चायतकालमा तालुकदार थिए । ‘म सबैको तिरो उठाएर मालपोत लैजान्थें, तालुकदारले रसिद काटेपछि त्यतिबेलाको सरकारी जग्गा विर्तामा परिणत हुन्थ्यो ।’ चन्द्र बहादुरले भने ।  

इतिहासको गाईगोठालाका सन्तान हुन टिष्टुङका गोपालीहरु । इतिहासमा ग्वाला वा गोपालवंशका रुपमा परिचित यहि पुस्ताले श्लेशमान्तक जंगलमा गाई चराउने क्रममा पशुपतिनाथको मन्दिर स्थापना गरेको किंवदन्ती अझै पनि सुन्न पाईन्छ । त्यहि किंवदन्ति चन्द्र बहादुर पनि सुनाउँदै थिए । तर, ती ग्वालाहरु पछि एकाएक कसरी गोपाली भए ? यसबारे चन्द्रबहादुरको तर्क यस्तो थियो :‘पञ्चायतकालसम्म हामी ग्वाला नै लेख्थ्यौं । ग्वालाबाट गोपाली भएको पञ्चायत कालमा नै हो । त्यतिबेलाका प्रधानपञ्च रामलाल ग्वालालाई ग्वाला भन्न र लेख्न अफ्ठ्यारो लागेछ । उनले त्यसपछि ग्वाला थरलाई गोपाली बनाएछन् । त्यसभन्दा अघिका नागरिकता र लालपुर्जाहरुमा ग्वाला नै लेखिएको छ ।’  

मकवानपुर जिल्ला मालपोतमा अहिलेपनि ग्वाला थरका कागजात भेटिन्छन् । यसरी ग्वाला बाट गोपालीमा थर परिवर्तन गर्दा सरकारी कर्मचारीले निकै पैसा खाएको तितो यथार्थ सुनाउँदै थिए चन्द्रबहादुर ।   इतिहासकै पुरानो पुस्ताको बिँडो थामिरहेका चन्द्रबहादुर पुर्खाको इतिहास बताउँदा निकै रोमाञ्चीत हुन्थे । अनि आफूलाई गाउँकै नाईकेको रुपमा पाउँदा उनको छाती गर्वले फुलेको आभास हुन्थ्यो । आधाउधी दारी पाकिसकेको उनको अनुहारमा बुढेसकालको भाव पढ्न सकिन्थ्यो । उनको काखमा नातिनी थिईन् । उनी हाँस धपाउँदै थिए, कुखुरा भने उनको गाउँमा बर्जित थियो । 

0 comments:

Post a Comment