Thursday, October 23, 2014

सशस्त्र बेस क्याम नजिकै सामूहिक बलात्कार

गुलरिया, कार्तिक ६ - तिहारको पूर्व सन्ध्यामा बर्दिया सानोश्रीमा तीन युवाले एक विवाहित महिलामाथि सामूहिक बलात्कार गरेका छन् ।


साप्ताहिक हाट कुसुम्बा बजारमा तिहारका लागि सामाग्री खरिद गरेर फर्किने क्रममा बुधवार करिब सात बजे २५ वर्षीया महिलामाथि बलात्कार भएको हो । सानोश्री कुसुम्बा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरमा रहेको जंगलमा बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि पीडित महिला अचेत भएकी थिइन् । होसमा आएपछि नजिकैको सशस्त्र प्रहरी वल बेस क्याम्पमा जानकारी गराएकी थिइन् । लगतै सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिई उनलाई उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुर्‍याएको थियो ।  उनले यम भन्ने व्यक्तिले बलत्कार गरेको बताएकी छिन् । मानसिक रुपमा विक्षिप्त उनी राम्ररी बोल्नसक्ने अवस्थामा छैनन । उनलाई अहिले स्थानीय महिला सेवा केन्द्रमा राखिएको छ ।

घटना लगत्तै प्रहरीले राती नै सोधपुछका लागि केही युवालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । पीडित महिलालाई अनुसन्धानका लागि ल्याएका व्यक्तिको पहिचान गर्न लगाउँदा उनीहरु निर्दोष देखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाका पति रोजगारीका लागि छ महिनादेखि विदेशमा छन् । उनका दुई वर्षका छोरा छन् । बलात्कारीको पहिचान भइसकेको तर उनीहरु फरार रहेको प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताए । पीडित महिलालाई फोनसम्पर्क गरि बोलाई बलात्कार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब १५ किमी पश्चिममा पर्दछ ।

0 comments:

Post a Comment