Friday, October 10, 2014

अमिरले भने नेपाली फिल्म कथाले छोए खेल्न तयार छु ।

काठमाडौ, आश्विन २४ - 'तपाईं नेपाली फिल्म हेर्न कत्तिको इच्छुक हुनुहुन्छ ?' सायद प्रश्न हास्यास्पद पनि थियो । भारतीय अभिनेता आमिर खानले पनि हाँसो थाम्न सकेनन्, हाँसे । आमिरलाई युनिसेफको दक्षिण एसियाली सद्भावना दूत घोषणाका लागि आयोजित औपचारिक कार्यक्रममा उपस्थितलाई पनि विषयान्तर गरेको उक्त प्रश्नले हँसायो ।


पत्रकारका प्रश्नमा जवाफ फर्काउनुअघि नै झन्डै दस मिनेट प्रजनन र शिशु स्याहारका मुद्दामा आफ्नो मन्तव्य दिइसकेका आमिरले भने उक्त फिल्मी सवाललाई हाँसोमा उडाएनन् । बरु केही सम्हालिए, अनि कूटनीतिक जवाफ फर्काए, 'मैले बलिउड र हलिउडकै फिल्म पनि खासै हेरेको छैन । मन नपरेर चाहिँ होइन । अधिकांश खाली समय मेरो पुस्तक पढेरै बित्छ ।' फेरि सोधियो- 'नेपाली फिल्म खेल्न प्रस्ताव आएमा ?'

झुस्स दाह्री, नमिलाइएको कपाल अनि टिसर्ट-जिन्समा अनौपचारिक शैलीमा उपस्थित आमिर फेरि बोले, 'मलाई नेपाली फिल्म पनि हेर्ने खुब इच्छा छ । नखेल्ने भन्ने पनि हुँदैन । खेल्छु तर भाषागत सहजता भने हुनुपर्छ । यदि भाषामा नै पकड नभए खेल्न गाह्रो पर्छ । नत्र म अफ्रिका, इन्डिया जहाँको भए पनि खेल्छु । कुन ठाउँको फिल्म भन्ने हुँदैन । मानवताको नाताले कथाले छोयो भने खेल्न तयार छु ।'

भारतीय अभिनेता यतिबेला फिल्मका लागि आएका होइनन् । युनिसेफले उनलाई पोषण सम्बन्धी कार्यक्रमका लागि तीनदिने नेपाल भ्रमणमा बोलाएको हो । सन् २०११ नोभेम्बरदेखि नै युनिसेफका लागि भारतका सद्भावना दूत आमिरलाई बिहीबारदेखि युनिसेफले दक्षिण एसियालीकै दूत बनाएको हो । बुधबार उनी कपिलवस्तुको पकडी स्वास्थ्य चौकीमा त्यहाँका बालबालिका र आमाहरूको स्वास्थ्य तथा आहार स्थिति बुझ्न पुगेका थिए । 'त्यहाँ कार्यरत युनिसेफ र स्वास्थ्य स्वयंसेविकाको खटनबाट म प्रभावित भएँ,' सँगसँगै अभिनेताले बच्चा र आमालाई पोषिलो खानेकुराका लागि घर, परिवारका साथै सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले आर्थिक अवस्था कमजोर भएकै कारण कोही बच्चाले आवश्यक पोषणयुक्त आहारबाट वञ्चित हुनुपर्ने आवस्था आउन नहुनेमा जोड दिए ।

आफ्ना फिल्म, टेलिभिजन शोमार्फत पनि सामाजिक र शैक्षिक चेतना जगाउन माहिर आमिरले भने, 'परिवर्तन दुई प्रकारले हुन्छ । एउटा माथिल्लो तहमा नीतिगत रूपमा हुन्छ भने अर्को तल्लो तहबाट हामी आफैंले गर्ने हो । म तल्लो स्तरबाट परिवर्तनका लागि जुटिरहेको छु । 'सत्यमेव जयते' बाट पनि मेरो यही प्रयास रही आएको छ ।'

बेवास्ता गरिएका साना लाग्ने तर ठूलो सामाजिक असर बोकेका मुद्दामा आधारित रही आमिरले सञ्चालन गर्दै आएको टेलिजिन कार्यक्रम 'सत्यमेव जयते' निकै चर्चित छ र यसले विश्वस्तरमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यतिबेला आमिरको 'सत्यमेव जयते' को तेस्रो संस्करणको पनि प्रसारण सुरु भइसकेको छ ।

कार्यक्रममा आमिरले आफूलाई दक्षिण एसियाली क्षेत्रकै लागि अनुबन्धित गरिएकोमा युनिसेफप्रति आभार व्यक्त गर्दै उनले भने, 'अब म सार्थक योगदानका लागि लागिपर्नेछु । हुन त केही गर्नका लागि सद्भावना दूत चाहिन्छ भन्ने छैन । खासमा मान्छेमा बलियो सोच हुनु जरुरी छ । म त्यसका लागि सञ्चारको वाहक बन्नेछु । कम्युनिकेट गर्नेछु ।' उनी बिहीबार नै भारतका लागि उडेका थिए ।


0 comments:

Post a Comment