Monday, October 27, 2014

बामियानलाई सार्कको 'सांस्कृतिक राजधानी बनाउने तयारी’

बामियान (अफगानिस्तान), कार्तिक १० - पाँचौं शताब्दीयता बौद्धकालीन सभ्यता र संस्कृतिको केन्द्र रहेको मानिने अफगानिस्तानको बामियान क्षेत्रलाई दक्षिण एसियाली क्षेत्रीय राष्ट्रहरूको 'सांस्कृतिक राजधानी' बनाउने तयारी सुरु भएको छ।

बामियान उपत्यकामा रहेको बामियान बुद्धको खाली प्रतिमा रहेको पहाडी पृष्ठभूमिमा गन्तव्यतर्फ गइरहेका सर्वसाधारण ।


'दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सांस्कृतिक समितिले तय गरेअनुसार हरेक दुई वर्षमा एउटा सांस्कृतिक राजधानी छान्ने आधारमा अफगानिस्तानको बामियानले पहिलो राजधानीका रूपमा स्वीकृति पाएको हो,' अफगान सरकारका सूचना तथा संस्कृतिमन्त्री शाहिद माखधुम रहिमले कान्तिपुरसँग भने, 'बामियानलाई फेरि पुरानै पहिचानमा फिर्ता ल्याउन र सांस्कृतिक सभ्यताको बहस सुरु गर्न यो अभियान थालिएको हो।'

अफगानिस्तानले गरेको सांस्कृतिक राजधानीको प्रस्तावलाई काठमाडौं र दिल्लीमा भएका दुई सार्कस्तरीय विशिष्ट भेलाले अनुमोदन गरिसकेको मन्त्री रहिमले बताए। आगामी २०१५ को अपि्रलमा बामियानमा विशेष समारोह आयोजना गरेर सांस्कृतिक राजधानीको औपचारिक अभियान थालिने उनले बताए।

यस क्रममा काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र बामियान प्रवेश बिन्दुमा सार्कका आठ वटै देशको प्रतीक (विशेषता) झल्कने विशेष स्वागत द्वार बनाउने काम भइरहेको छ। सार्कमा आगामी दुई वर्षका लागि बामियान सांस्कृतिक राजधानी रहनेछ भने सन् २०१६/१७ लाई सांस्कृतिक सम्पदाको वर्षका रूपमा मनाउने घोषणा भइसकेको छ।

३० वर्ष पुरानो ७ सदस्यीय सार्क संगठनमा सबैभन्दा कान्छो सदस्यका रूपमा सन् २००७ देखि अफगानिस्तान जोडिएको हो। बामियानलाई सार्क क्षेत्रमा पहिलो सांस्कृतिक राजधानीका रूपमा स्थापित गराउन अफगानिस्तानले गरेको प्रस्तावलाई सबै राष्ट्रले स्विकारे पनि आगामी नोभेम्बर तेस्रो साता काठमाडौंमा हुन लागेको १८ औं सार्क शिखरले यो अभियानको एजेन्डामाथि थप दिशानिर्देश गर्नेछ। सार्कका विभिन्न क्षेत्रीय संरचना र केन्द्रहरू बाँकी सबै ७ मुलुकमा स्थापित भए पनि अफगानिस्तानमा सार्कको उपस्थिति देखिने गरी कुनै संयन्त्र सञ्चालनमा आउन सकेको छैन।

छैंटौं शताब्दीमा निर्माण भएको मानिने बुद्ध प्रतिमाले ढाकिएको पहाड र कला-सभ्यताको केन्द्र बामियान उपत्यका सन् २००१ मार्चमा तालिवानी विद्रोहीको आक्रमणमा परेपछि मात्रै देश-विदेशमा बढी चिनिएको थियो। यो क्षेत्रमा ठडिएका दुई विशाल बामियान बुद्ध प्रतिमासमेत तालिवानी आक्रमणमा परेर क्षतविक्षत बनेका थिए। उभिएको अवस्थामा रहेका विशाल बुद्ध प्रतिमा पुनर्निर्माणमा ३० देखि ५० मिलियन डलर रकम चाहिने अध्ययनले देखाए पनि यत्रो सहयोग रकम बितेको १४ वर्षमा जुट्न सकेको छैन। 'बामियान उपत्यका र यहाँको सभ्यता भनेको बामियानकै लागि मात्रै होइन अथवा अफगानिस्तानका लागि मात्रै चिनारीको विषय होइन। यो सिंगो विश्वका लागि चासोमा रहने विषय हो,' बामियान प्रान्तका गभर्नर गुलाम अली वहदादले कान्तिपुरसँग भने, 'यो चिनारीलाई पुनस्र्थापित गराउन सार्क क्षेत्रीय राजधानीका रूपमा बामियानलाई चिनाएर अघि बढाउने क्रममा हामी लागेका हौं।' बामियान क्षेत्रमा रहेका ऐतिहासिक महत्त्वका ५५ र ३८ मिटरका दुई बुद्ध मूर्तिमध्ये एउटैलाई भए पनि पुनर्निर्माण गर्न अफगान सरकारले दाता खोज्दै आएको छ।

त्ाालिवान आक्रमणपछि मात्रै सन् २००३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बामियान बुद्ध र बामियान उपत्यकाका ८ वटा सम्पदालाई अझैसम्म 'खतरायुक्त सम्पदाको सूची' मा राखिएको छ। 'अफगान सरकारको प्राथमिकतामा सुरक्षा, स्वास्थ्य र शिक्षा मात्रै रहिआएको छ,' बामियान क्षेत्रको सम्पदा संरक्षणमा संयोजक रहेका युनेस्कोसम्बद्ध गुलामरेजा मोहम्मदीले भने। यदि ४०/५० मिलियन डलर सहयोग कतैबाट आएमा अफगानी शिक्षा-स्वास्थ्यमा खर्चने भन्दै सरकारले घोषणा गरिसकेको अवस्थामा बामियान बुद्ध प्रतिमा अथवा यहाँको सम्पदामा राज्यको चासो नगएको मोहम्मदीको भनाइ छ। एक तथ्यांकअनुसार बामियान बुद्ध रहेको प्रतिमास्थल र आसपासमा मात्रै सन् ७० को दशकमा बर्सेनि ६० हजार

विदेशी पर्यटक आउने गरेका थिए भने तालिवानी आक्रमणपछि यो संख्या घट्दै गएर सन् २०१० मा १५ सय मात्रै पर्यटक आएका थिए। उक्त आक्रमणपछि ध्वस्त भएको बुद्ध प्रतिमाका टुक्राटुक्री अहिले बामियान संरक्षित क्षेत्रमा तारबेरा गरेर राखिएको छ। बुद्ध प्रतिमा भत्काएपछि वरपर चट्टान र भूसतह चर्कनाले अहिले सानो बुद्ध प्रतिमा आसपासमा मात्रै पर्यटकलाई आवतजावत गर्न दिइन्छ।

चीन, युरोप, भारत र मध्य एसियाको प्रचलित व्यापारिक मार्ग 'सिल्क रोड' मा पर्ने मुख्य बिन्दु बामियानलाई जीवन दिने क्रममा हालै जापान सरकारको सहयोगमा बामियान विमानस्थल निर्माण भइसकेको छ भने सहरमा आधुनिक सेवा सुविधासहितको पर्यटक-बस सञ्चालन गर्ने तयारी भइरहेको गभर्नर गुलाम अली वहदादले बताए। अर्कातिर बामियान क्षेत्रमा रहने स्थानीयवासी भने दाताहरूको सहयोग गर्ने मनसायमा एकरूपता नदेखिएको र अफगान सरकारले पनि दृढ इच्छाशक्ति नदेखाएका कारण बामियानको चिनारी ओझेलमा पर्दै गएको बताउँछन्। 'सभ्यता र संस्कृतिको बहसमा पनि अन्तरविरोध देखिएको छ, हाम्रो सभ्यताको चिनारी दिने बामियान बुद्ध पुनर्निर्माणमा किन यस्तो अन्योल देखिएको हो- हामीले थाहा पाउन सकेका छैनौं,' बामियान विश्वविद्यालयमा संस्कृति अध्यापन गर्ने रसुल सोजाइले भने।

0 comments:

Post a Comment