Monday, October 27, 2014

पोखरामा क्षेत्रीय विमानस्थल बन्ने, चिनियाँ कम्पनीसँगको ठेक्का स्वीकृत

१० कात्तिक, काठमाडौं । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण हुने सम्भावना बढेको छ ।


विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङसँग भएको ठेक्का सम्झौता मन्त्रिपरिषदले सोमबार अनुमोदन गरेपछि बिमानस्थल निर्माणका लागि प्रकृया सुरु गर्न सजिलो भएको छ ।
Pokhara-airport-New‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको निर्माण सम्झौतालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ ।

सिएएमसी र प्राधिकरणबीच गत जेठ ८ गते दुईपक्षीय सम्झौता भएको थियो ।
सम्झौता भएको लामो समयसम्म मन्त्रीपरिषदले अनुमोदन नगर्दा थप काम अगाडी बढ्न सकेको थिएन् । पर्यटन मन्त्रालयको सक्रियतामा भएको सम्झौताको लागतप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएपछि केही अर्थमा पनि यो फाइल रोकिएको थियो ।

‘अनुमोदनसँगै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण हुने आशा पैदा भएको छ’ प्राधिकरणका प्रवक्ता बीरेन्द्रकुमार श्रेष्ठले भने- ‘अब चिनियाँ एक्स्पोर्ट-इम्पोर्ट (एक्जिम) बैंकसँग ऋण सम्झौताको काम अगाडी बढाउन सहज भएको छ ।

ठेक्का सम्झौता गर्दा ४ महिनाभित्रमा एक्जिम बैंकसँग ऋण सम्झौता गर्ने लक्ष्य राखिएको थियो । तर, मन्त्रिपरिषदले ठेक्का सम्झौता अनुमोदन गर्न करिव ६ महिना ढिला गरेपछि उक्त लक्ष्य बिचैमा तुहिन पुग्यो ।
‘अब नेपाल सरकार अर्थमन्त्रालय र चिनिया सरकार एक्जिम बैंकसँग ऋण सम्झौताका लागि अगाडी बढ्नुपर्छ’ प्रवक्ता श्रेष्ठले भने- ‘उक्त बैंकसँग ऋण सम्झौता भएपछि ठेकेदारले विमानस्थलको नक्सा तथा डिजाइनको काम अगाडी बढाउने छ ।

सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत उपलब्ध गराउने भएको छ । विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले बताए ।

हाल पोखरामा आन्तरिक उडानमात्र हुँदै आएको छ । नयाँ विमानस्थल निर्माणपछि पोखरामा अन्तर्राष्ट्रिय उडानसमेत सुरु हुने छ । विमानस्थल पोखराको छिनेडाँडामा निर्माण हुनेछ ।
पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि पोखरेलीहरुले सरकारलाई ठूलो दबाब दिँदै आएका छन् । विमानस्थल निर्माण गर्न दबाब दिँदै पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालाहरु अनसन समेत बसेका थिए । उनीहरुले राजधानी आएर विमानस्थल निर्माण गर्न सरकारलाई दबाब समेत दिएका थिए ।
पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएपछि यहाँको पर्यटन उद्योगको बिकाशमा निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले भैरहवामा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्दै छ । उक्त विमानस्थल निर्माणका लागि विश्व बैंकले ऋण तथा अनुदान सहयोग उपलब्ध गराउने सम्झौतासमेत गरेको छ ।
दुई स्थानमा क्षेत्रीय स्तरका विमानस्थल निर्माणपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप समेत घट्ने अपेक्षा गरिएको छ । दुई विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकको संख्यामा समेत वृद्धि हुने अनुमान गरिएको छ  ।

0 comments:

Post a Comment