Friday, October 31, 2014

कसले बेहोर्छ यो घाइतेहरुको उपचार खर्च ?

दैलेख, कार्तिक १३ - बालुवाटार ३ की खम्बिरा सलामी यतिबेला भारतको लखनउ अस्पतालमा छटपटाइरहेकी छन् । ६ महिने बालक गुमाएकी उनलाई अब उपचार खर्च तिर्ने चिन्ता छ । खम्बिराजस्तै घाइते सबैको कन्तबिजोग छ । जिल्लादेखि लखनउसम्मका अस्पतालमा पीडितका आँसु बगिरहेका छन् । सोझी गाउँलेलाई के थाहा ? गाडी समितिमा दर्ता छ/छैन ?, बिमा छ/छैन ? गावैंमा पुग्ने जिप भेटाएपछि बीच बाटोबाटै चढिन् । सिट त थिएन । सिट नभए पनि स्टाफले बस बस भन्दै कोचिहाले । अलि पर के पुग्न पाएकी थिइन् । जिप सडकबाट तलै खस्यो । छोरा प्रशान्त गुमेको खबर होसमा आएपछि मात्र थाहा पाइन् ।


घटना थियो, कात्तिक ४ गते दिउँसोको । सदरमुकामबाट नौमुले जाँदै गरेको जिप बिनी खोलामा बे्रक फेल भएर सडकबाट झन्डै सय मिटर तल खस्यो । ३ को मृत्यु र १५ जना अंगभंग हुने गरी भएको दुर्घटनाले नौमुलेवासीको तिहार मात्रै खल्लो बनाएन, गाडी देख्दा सधैंभर तर्सिने बनायो । उपचारका नाउँमा सारा सम्पत्ति रित्याउनुपर्ने अवस्था निम्तायो । आफन्त वियोगको पीडा त छँदै छ, बाँचेकाको घाउसमेत सितिमिति सन्चो हुने छाँट छैन । पैसाको पीरले घाइतेका घाउ झन् चहर्‍याइरहेका छन् । नौमुले ५ का हरिलाल सलामीले जिल्ला अस्पतालबाट बिलौना पोख, 'खर्च एक लाख बढी हुने देखियो । कहाँबाट तिरौं यत्रो रकम ? जिन्दगीभर हिँडेरै पाइताला खियाइयो । मर्ने बेला यो नियति भोग्नुपर्‍यो ।

नौमुलेका गगन थापाले चलाइआएका थिए भे१ज५६० नम्बरको मुस्ताङ म्याक्स जिप । बिना रुटपरमिट, समितिमा दर्ता र बिमा नगरेरै जिप चलाएका थिए । उनले उपचार खर्च तिर्ने ओठे प्रतिबद्धतापछि प्रहरीले उनलाई छाड्यो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिप मालिक घाइतेको उपचारमा जुटिरहेको दाबी गरे । 'सवारी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौं', उनले भने, 'आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन यस घटनाका दोषीलाई कारबाही हुन्छ ।'

ट्राफिक मात्र होइन, सादादेखि बर्दीधारी प्रहरीसमेत नितदिन जिपकै वरिपरि हुन्थे । बिमा नगरेको जिप चलाउने र रुट परमिट नभएको सडकमा क्षमताभन्दा बढी यात्रु कोच्ने साहुविरुद्ध केरकार गर्ने गरेको भए सायद यस्तो दुर्घटना नहुन पनि सक्थ्यो । बिनी दुर्घटनापछि भने स्थानीय प्रहरी प्रशासन सवारी ऐनलाई कडाइसाथ पालना गराउँदै छ । जिल्ला प्रहरी कार्यालयले सोमबार र मंगलबार गरी ७ वटा जिप नियन्त्रणमा लिइसकेको छ । सडक विभागले रुट परमिट अनुमति नदिएको सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने जिपका मालिकलाई यसअघि चेतावनी दिँदासमेत नमानेपछि जिप नै नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ ।

नौमुलेजस्ता यहाँका गाउँगाउँ जोड्ने मोटरबाटो धेरै छन् । मध्यपहाडी राजमार्ग बन्दै छ । सेकेन्ड ह्यान्ड थोत्रा जिप किन्नेलाई झन् मस्ती । जता गुडाए नि पैसै पैसा । चाडपर्वका बेला कोचाकोच । बेस्तडादेखि चुप्रा र दैलेख बजार यात्राको पनि यस्तै छ हालत । जिप, गाडी कहाँ दर्ता छन् ? बिमा छ/छैन ? न यात्रुले सोधीखोजी गर्छन् न त जिम्मेवार निकायले नै । अस्तव्यस्त रूपमा सञ्चालन हुँदै आएको जिल्लाको आन्तरिक यातायात व्यवस्थालाई भने यस घटनापछि जिम्मेवार बनाउन थालिएको छ ।

0 comments:

Post a Comment