Thursday, October 2, 2014

नुवाकोट विजयको सम्झना

नेपाल एकीकरणको जग बसाउने नुवाकोट विजय अभियानलाई प्रत्येक वर्ष असोज १५ गते विजयोत्सव मनाउने परम्परा सुरु भएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि २४ वर्षसम्म नुवाकोटलाई राजधानी बनाएका थियो । गोरखाका राजा पृथ्वीनारायणले १८०१ सालमा नुवाकोट विजय गरेका थिए । उत्तरको तिब्बत–चीन र दक्षिण भारतसँगको व्यापारको रणनीतिक नाका नुवाकोट विजयले नेपाल निर्माण अभियानलाई सुनिश्चित गरेको थियो ।

पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानको आयोजनामा स्थानीय र राजधानी काठमाडौंबाट गएका बुद्धिजीवी, इतिहास संस्कृतिविद, राजनीतिक कार्यकर्ताहरू नुवाकोट दरबारमा आयोजित कार्यक्रममा सरिक भएका थिए ।
राससका अनुसार, कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर देवकोटाले नेपालमा राष्ट्रवादको पुनर्जागरण गर्न आवश्यक छ भन्दै सङ्घीयता, धर्मनिरपेक्षता र वर्तमान निर्वाचन पद्धतिप्रतिको धारणामा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

पृथ्वी विचारका प्रबर्द्धक खगेन्द्रराज सिटौला, सिनासका पेशल निरौला, नागरिक समाजका भरत बस्नेत, अनिल योगी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य धर्मराज बराल र नुवाकोट अध्यक्ष यादवप्रसाद पाण्डे, सोमप्रसाद पाण्डेलगायतले नेपालका राष्ट्रिय धरोहर समाप्त पार्ने विदेशीको योजना परास्त पार्नुपर्नेमा जोड दिए।

इतिहास तथा संस्कृतिका अध्येयता डा. रमेश ढुंगेलले राजा पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार होइन नेपाल राज्यको निर्माण गरेका हुँदा उनको नाम लिन अप्ठ्यारो मान्न नहुने बताएका थिए ।
नुवाकोट विजय गरेपछि पृथ्वीनारायणले राजधानी पनि नुवाकोट सारेका थिए । र, राष्ट्र एकीकरण अभियान पूरा नहुञ्जेल नेपालको राजधानी नुवाकोट रह्यो । त्यहाँ रणनीतिक महत्वलाई ध्यानमा राखेर दरबार समेत बनाइएको ढुंगेलले सेतोपाटीलाई बताए ।

‘नुवाकोट विजय नभएको भए नेपाल एकीकरणको जग बस्दैनथ्यो,’ ढुंगेलले भने, ‘नुवाकोट विजयले नेपाल निर्माणका निमित अर्थ र सामरिक शक्ति दियो ।’
राजा पृथ्वीनारायणका पिता नरभूपाल शाहले पनि नुवाकोट विजयको प्रयास गरेका थिए । त्यो बेला उनी सफल हुन सकेनन् । त्यो बेला राजा आफै निराश भएका थिए । तर, उनका पिताको त्यो असफल योजना पृथ्वीनारायणले २० वर्षको उमेरमै पूरा गरेका थिए ।

डा. ढुंगेलका अनुसार, नुवाकोट विजय गर्नुअघि पृथ्वीनारायणले खिंचेतपट्टिबाट पहरो खोलेर बाटो निकालेका थिए । जलुवा माझीको सहयोग लिएर आफ्ना सैनिक नुवाकोट हान्न उतारेका थिए । विजयपछि उनलाई त्यो ठाउँ पृथ्वीनारायण शाहले बकस दिएपछि माझीटार भयो ।

नुवाकोटका शासकलाई खिंचेतमा गोर्खालीहरूले कुलो खनिरहेको भन्ने लागेको थियो । माथि कोटबाट तल माझीले मान्छे तारेको देखिन्नथ्यो । तर, माझीले सबै सैनिकलाई पालैपालो तारेका थिए । पछि पृथ्वीनारायणले भनेका थिए, ‘बहाना खिंचेतको कुलोको दावा नुवाकोट किल्लाको ।

पृथ्वीनारायणले आफ्ना १२ वर्षे भाइ दलमर्दन शाहलाई बालकै भएकोले लडाइँमा नजानू भनेका थिए । उनी पनि लुकेर त्यहाँ पुगेका थिए । नुवाकोटभन्दा माथिको महामण्डल भन्ने डाँडोमा लडाइँ हुँदा दलमर्दन फुत्त निस्किएर लड्न थाले ।

उनैले त्यहाँका प्रशासक जयन्त रानाका छोरा शंखमणिको गर्दन काटे ।
शत्रु पक्षको सेना नायकलाई १२ वर्षको किशोरले काटेपछि पृथ्वीनारायणले पनि उनको प्रशंसा गरे । उमेर नपुगेको मान्छेले जानु हुँदैन भने पनि उसले ‘जेठी तरबार चलायो बढिया भयो, भगवतीले आशिर्वाद दिएकै हो’ भनेका थिए ।

त्यो बेला बेलकोट, महामण्डल र अहिले दरबार भएको नुवाकोट तीन ठाउँमा युद्ध थियो । नुवाकोटमा हार भएपछि आफ्ना सेना लिएर जयन्त राना बेलकोटमा गएर बसेका थिए र फेरि त्यसलाई फिर्ता लिन खोजिरहेका थिए । त्यो बेलासम्म भक्तपुरका राजा जयप्रकाशकै शासन अन्तर्गत नुवाकोट थियो ।

डा. ढुंगेलले इतिहासको घटना सम्झँदै भने, त्यही नुवाकोट दरबारको डबलीमा आफ्ना २२ सय सेनालाई जयप्रकाशका ८ हजार सेनासँग लड्न पठाउनु अघि पृथ्वीनारायणकी रानीले सिपाहीलाई सातुसामल, भुटेका मकै, चिउरा र सख्खर दिई पठाएकी थिइन् । ती आठहजारलाई जित्न तिमीहरू काफी छौ भनेर हौसला बढाई पठाइएको थियो ।

‘नभन्दै ती आठ हजारलाई जितेपछि जयन्त रानालाई पक्रेर ल्याई नूनचूक लगाएर शहर घुमाइएको थियो,’ ढुंगेलले इतिहासको सम्झना गर्दै भने । राना गोर्खा दरबार छाडेर भक्तपुर आएका राजासँग मिली नुवाकोटको प्रशासक भएर गएकाथिए । पृथ्वीनारायणले आफूसँग मिल्न आग्रह गर्दा रानाले ‘जयप्रकाशको नून खाइसकें मैदानमै भेट होला’ भन्ने जवाफ पठाएका थिए ।

0 comments:

Post a Comment