Wednesday, October 29, 2014

मलेसियालाई ३६ रनले पराजित गरि समूह विजेता हुँदै नेपाल डिभिजन दुईमा

काठमाडौ, कार्तिक १२ - मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै नेपाल डिभिजन २ मा बढूवा भएको छ ।


प्रतियाेगिताकाे आफ्नो ५ औं खेलमा नेपाल डीएल मेथडको आधारमा मलेसियाविरुद्ध ३६ रनले विजयी बन्यो ।
डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलमा युगाण्डासँग खेल्नेछ । अघिल्लो पटक पनि दुवै टेालीले फाइनल खेलेका थिए ।

आजै भएको अर्को खेलमा बरमुडालाई ७ विकेटले हराउदै युगाण्डा फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको शीर्ष दुई टिम डिभिजन २ मा बढूवा हुने नियम छ । समान ८ अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

टस जितेर फिल्डिङ राजेको नेपाललाई मलेसियाले १४३ रनको लक्ष्य दिएको थियो । ४३ ओभर ३ बल खेल्दै मलेसियाली खेलाडी अल आउट भए । मलेसियाका सबै व्याट्सम्यान क्याच आउट भएका थिए ।

लक्ष्य पछ्याएको नेपालले २५ औं ओभर सकिंदा २ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । जसमा ओपनर नरेश बुढाएरले ४२ र ज्ञानेन्द्र मल्लले ३५ रन जोडे । पानी परेर खेल अवरुद्ध भएपछि डीएल मेथडको आधारमा निर्णय गरिएकाे हो ।

कप्तान पारस खड्काले जितको लागि चार महत्वपूर्ण विकेट लिए । उनले मलेसियाका सुरुवाति चार व्याट्सम्यानलाई पभेलियन फर्काए । ९ ओभर बलिङ गरेका खड्काले ३ मेडन राख्दै २० रन मात्र खर्चिए ।

भुवन कार्कीले ३ र शक्ति गौतने २ विकेट लिए । सागर पुनको नाममा १ विकेट रह्यो ।

डिभिजन-२ सन् २०१५ को जनवारी १५ देखि नामिवियामा हुने छ । त्यस प्रतियोगिता एसोसिएट्स राष्ट्रका टिमलाई आईसीसी इन्टर कन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

त्यस्तै डिभिजन-२ टाेलीलाई आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा पनि सहभागिताको अवसर हुनेछ ।

0 comments:

Post a Comment