Thursday, October 9, 2014

राउतविरुद्व अभियोगपत्रको सम्पादित अंश यस्तो छ ।

राज्यविरुद्व अपराध (राष्ट्र विप्लव)को अभियोग लागेका सिके राउतको बयान बिहिवार सुरु भएको छ। विशेष अदालतमा सुरु भएको पहिलो दिनको बयान मुद्दाको अन्रतवस्तुमा प्रवेश नगरि सामान्य सोधपुछपछि स्थगित भएको छ।


राउतका कानून व्यवसायीका अनुसार शुक्रवारदेखि मुद्दाको विषवस्तुमा प्रवेश गरेर बयान हुनेछ। बयान कम्तीमा तीन/चार दिन चल्ने अनुमान उनीहरुको छ।

सरकारले राउतविरुद्व राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ को दफा ३ को ३.१ अनुसारको अभियोगमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले जन्मकैद सहित सँजाय माग गरेका छन्।

विशेष अदालतमा बुधवार दर्ता भएको आठ पेज लामो अभियोगपत्रमा राउत नेपाललाई टुक्राउने गतिबिधि गरेको आरोप छ। मोरङ जिल्ला सोरभागा गाविस–३ मा स्वतन्त्र मधेशका लागि क्रियाकलाप गरिरहेको बेला राउत पक्राउ परेको दावी अभियोगपत्रमा छ।

राउतको पक्षमा आवाज उठाइरहेकाले उनको गिरफ्तारी र मुद्दा संविधान प्रदत्त 'अभिव्यक्ति स्वतन्त्रता'को अधिकारविरुद्व भनेका छन्। मधेसी अधिकारकर्मी, मधेसी नेता लगायतले फेसबुक, टि्वटरमा सरकारले मौलिक अधिकार कुल्चेको आरोप लगाएका छन्।

गृह मन्त्रालय स्रोतले राउत देश टुक्राउने गतिबिधिमा संलग्न देखिएकाले मुद्दा नचलाई नहुने अवस्था आएको बताएको छ। 'क्षणिक आवेगमा आएर उनले छुट्टै मधेस राज्यको कुरा गरेका हैनन्,' गृहका एक सहसचिवले भने, 'देश टुक्राउने अभियान नै चलाएको पुष्टि भएको छ।'

प्रहरीलाई बयान दिने क्रममा राउतले नेपाल टुक्राएर दक्षीणमा दशगजादेखि उत्तरमा चुरेसम्म मधेस देश बनाउन खोजेको बताएका छन्। उनले प्रकाशित गरेका पुस्तकहरु, प्रस्तावित मधेस राज्यको राष्ट्रिय गान र झण्डालाई पनि प्रमाण मानेर मुद्दा दायर भएको छ।

राउतविरुद्व अभियोगपत्रको सम्पादित अंश यस्तो छः

यसमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान कार्य सम्पन्न गरि निर्णयका लागि पेश हुन आएको हो। प्रस्ततु मुद्दामा प्रहरीको प्रतिवेदन, घटनास्थल एवं बरामदी मुचुल्का, प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको साविति बयान एवं वस्तुस्थिती मुचुल्कामा बस्ने मानिसले लेखाइदिएको व्योहोरा कागज समेतबाट राउतले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पारेको तथ्य पुष्टि भइ राष्ट्र विप्लव मुद्दाको वारदात पुष्टि हुन आयो।
 
२०७१/५/२८ गते १७.३० बजेको समयमा प्रतिवादी सिके राउतले जिल्ला मोरङ सोराभाग गाविस वडा नं ३ कर्सियामा सर्वसाधरण मानिसलाई जवरदस्ती भेला गराई सार्वजनिक सद्भाव भड्काउने कार्य गरेको भन्ने सूचनाको आधारमा निजलाई पक्राउ गरि पेश गरेको सइ राजेश दत्तको प्रतिवेदनबाट उठान भएको प्रस्तुत मुद्दामा सोही मितिको बरामदी मुचुल्काबाट निजले बोकेको कालो झोलाबाट मधेस स्वराज डा सिके राउत लेखिएको किताब थान १, स्वतन्त्र मधेस गठबन्धनको घोषणपत्र थान १, वीर मधेसी डा. सिके राउत थान १, मधेसको इतिहास डा. सिके राउत लेखेको किताब थान १२, अंग्रेजीमा तराई मधेस लेखिएको प्रोफाइल किताब थान १, तन मन धन विद्या बचन समेत लेखिएको डायरी थान १, भिडियो क्यामेरा थान १, क्यामेरा थान १, कार्ड रिडर थान १, मेमोरि कार्ड थान २ बरामद भएको देखिन्छ।
 
निजबाट बरामद भएका किताब लगायत सामाग्रीबाट नेपाल राज्य विखण्डन गरि नेपालको तराई भु–भागलाई टुक्राएर छुट्टै मधेस राज्य बनाउने अभियान चलाएको देखियो। घोषणापत्रमा मधेस राष्ट्रको इलाका, राष्ट्रिय गान तथा नेपाल र मधेस राष्ट्रलाई छुट्टाई सीमाङ्कन गरेको नक्सा समेत तयार गरि नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले अव्यवस्था उत्पन्न गर्ने जस्ता कार्य गरेकोले निजउपर राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ बमोजिम कारबाही गरि पाउ भनि सइ राजेश दत्तले मिति २०७१/५/३१ मा जिल्ला प्रहरी कार्यालय मोरङमा प्रतिवेदन दिएको देखिन्छ।
 
मिसिलसाथ संलग्न प्रतिवादीबाट बरामद भएको स्वतन्त्र मधेस गठबन्धनको घोषणापत्रको पाना नम्वर २ र ३ मा प्रस्तावित मधेस राष्ट्रको छुट्टै झण्डा तयार गरि नेपाल राष्ट्र तथा मधेस राष्ट्र छुट्टाछुट्टै देखिनेगरि सीमाङ्ककन गरिएको र छुट्टै राष्ट्रिय गान समेत तयार गरेको देखियो।
 
सोहि घोषणापत्रको अन्तिम पेजमा स्वतन्त्र मधेस गठबन्धनका माग भनि 'मधेसको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषण कि जाए। नेपाली उपनिवेसका अन्त हो' जस्ता नौ वुँदा मागहरु राखिएको जो नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय स्वतन्त्रतामा प्रत्यक्ष खलल पार्ने जस्तो कार्य भएको देखिन्छ।
 
साथै प्रतिवादी राउतबाटै बरामद भएको मधेस स्वराज नामक किताबको पेज नं ४० मा नेपाल राज्यलाई टुक्राएर नेपाल र मधेस अलग अलग राष्ट्र देखिने गरि नेपालको नक्सालाई परिवर्तन गरेको, सोही किताबममा नेपाललाई टुक्राएर स्वतनत्र मधेस बनाउने सम्पूर्ण योजनादेखि त्यसका लागि तयारिसम्मका सम्पूर्ण योजना समाविष्ट भएको देखिएको र सोही किताबको पेज नं १८२ मा 'मधेसको सार्वभौमसम्पन्न स्वतन्त्र देश घोषणा कि जाए' जस्ता माग उल्लेख भएको देखिदा प्रतिवादी उपरको दावी पुष्टि भएको देखिन्छ।
 
प्रतिवादी राउतले अनुसन्धानको क्रममा बयान गर्दा बरामदी मुचुल्कमा उल्लेखित किताब लगायतका सामानहरु मेरा हुन् बरामदी मुचुल्कामा भएको सहीछाप मेरो हो। आफूले नेपालको दशगजादेखि उत्तर मेचीदेखि महाकालीसम्म चुरेसम्मको भू–भागलाई नेपाल राष्ट्रबाट अलग्याएर छुट्टै मधेस राष्ट्रको स्थापना गर्न स्वतन्त्र मधेस गठवन्धको घोषणापत्र तयार गरि मधेस राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेस स्वराज नामक पुस्तक तयार गरेको हुँ।
 
आफूले उठाएको स्वराज मधेसीको समस्या समाधान भनेको मधेसलाई नेपाल राष्ट्रबाट टुक्राएर छुट्टै मधेस राष्ट्रको स्थपना गर्नु हो।
 
उक्त कार्यका लागि आफू स्वतन्त्र मधेस गठबन्धनको संयोजक भइ कार्यक्रम संचालन गरेको हो। आफ्नो मूल उद्देश्य भनेको नेपाल राष्ट्रबाट तराई भू–भाग टुक्राएर छुट्टै मधेस राष्ट्रको स्थापना गर्नु हो र उक्त कार्यको लागि तराईका विभिन्न १३ जिल्लामा कार्यक्रम संचालन समेत गरेको छु भनि आफू कसुरमा पूर्ण सावित रहि बयान गरेको पाइयो।
 
यस्तै अनुसन्धानको क्रममा नै कागज गर्ने डिल्लीराम डाँगी र नेत्रबहादुर भट्टराईको कागजबाट मिति २०७१/५/२८ गते मोरङ सोराभाग गाविस वडा नं ३ कर्सियामा अमेरिकामा वैज्ञानिकको काम गर्ने चन्द्रकान्त राउतले कार्यक्रम गर्दैछन् भन्ने थाहाँ पाइ उक्त स्थानमा बसि कार्यक्रम हेरेका थियौं। निजले उक्त कार्यक्रममा मधेस अंग्रेजले नेपाललाई उपहार दिएको, मधेस मधेसीहरुको भएको र अब मधेसलाई छुट्टै राष्ट्र बनाउने भनेका थिए। उक्त कार्यका लागि आफूले किताब, घोषणापत्र लेखिसकेको, नक्साको सीमाङ्कन गरिसकेको र मधेस राष्ट्रको झण्डा र राष्ट्रिय गान समेत तयार पारेको बताएका थिए।
 
नेपाली सेना, प्रहरी र कर्मचारीलाई मधेसबाट हटाएर छुट्टै सेना, पुलिस र कर्मचारी नियुक्ति गर्ने, नयाँ सरकार गठन गरि मधेस राष्ट्रको संविधान बनाउने भनि अभिव्यक्ति दिएका र निजको लेखरचना समेतबाट प्रतिवादीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा खलल पार्ने कार्य गरेका हुँदा राष्ट्र विप्लवको कसुर गरेका हुन् भनि लेखाइदिएको देखिन्छ।
 
अनुसन्धानकै क्रममा कुमार महतो, आनन्दी मण्डल समेतका व्यक्तिको कागजबाट २०७१/५/२८ गते उल्लेखित स्थानमा मानिस भेला गराई मधेसलाई नेपालले उपनिवेस बनाएको कारणबाट अब मधेसलाई टुक्राएर छुट्टै मधेस राष्ट्र बनाउनुपर्छ सो का लागि मधेसमा छुट्टै सेना, पुलिस र कर्मचारी नियुक्ति गर्नुपर्छ। मधेस राष्ट्रले संयुक्त राष्ट्रसंघ लगायत अन्य संघसंस्थामा छुट्टै राष्ट्रको पहिचान लिएर प्रतिनिधित्व गर्नुपर्छ भनि वक्तव्य दिएको देखिन्छ।
 
यसरि माथि उल्लेखित विवेचित तथ्य तथा प्रमाणबाट प्रतिवादी सिके राउतले मधेसलाई नेपालबाट टुक्राएर छुट्टै मधेस राष्ट्र बनाउने उद्देश्य साथ विभिन्न गतिबिधि गरेको सप्रमाण पुष्टि हुन आयो।
 
निजले गरेका कार्य राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ अनसारको कसुर अपराध हुँदा प्रतिवादी सिके राउत उपर सोही ऐनको दफा ३(१) बमोजिम सजाय हुन मागदावी लिएको छ ।

0 comments:

Post a Comment