Sunday, October 26, 2014

आँसुमा मुछिएको 'फुपुटीका'

भाइटीकाको एकाबिहानै अप्रिय समाचार आइपुग्यो। म ओछ्यानमै थिएँ, फोनको घन्टी बज्यो, दिदीको थियो।



मैले तिमीहरुलाई टीका लगाउन नमिल्ने भयो,' दिदीको आवाज भारी हुँदैगयो, 'मध्यरातमा छुन नहुने भएपछि रातभरि निन्द्रै लागेन।' मासिक प्रकृयाले यसपाला उहाँलाई तीन सातामै घेरिदिएको रहेछ।

दिदीलाई मैले आरामले सुत्नुस् र त्यति चिन्ता नलिनुस्, यो कुनै ठूलो कुरो होइन भनेर आश्वस्त पारेँ। बरु समयमै चिकित्सक देखाउनेमा उहाँ पनि सहमत हुनुभयो।

'मैले त्यत्रो तयारी गरिसकेको थिएँ,' उहाँले भन्नुभयो, 'नाताका अरु कसैको हातबाट मकहाँ नै टीका लगाउने व्यवस्था मिलाउछु।'

मैले यस विषयमा घरमा सल्लाह गर्नुपर्छ भनेर फोन राखेँ।

आमा पनि भाइटीका लगाउनकै निम्ति मामाघर जानुभएको थियो। उठ्ने बित्तिकै हजुरआमा र श्रीमतिलाई बोलाएँ।

भाइटीकाजस्तो चिज तुरुन्तै निर्णय गरेर अरुसँग लगाउनु ठीक हुँदैन,' दुवैजनाको सल्लाह थियो, 'बरु फुपु पनि दिदी नै भएकाले फुपुको हातबाट टीका लगाए हुन्छ।'

एक मन त मलाई कस्तो कस्तो लागेको थियो। तै पनि फुपुलाई फोन गरेँ।

'के भन्छ यो?' फुपुले उल्टो प्रश्न गर्नुभयो। त्यसपछि लामो समय फोनबाट कुनै आवाजै आएन। मैले 'हलो हलो' भनिरहेँ, उता सुनसान। एकछिनमै फोनको 'इन्गेज टोन' बज्न थाल्यो।

हामी बैठकमै बसेर अलमलमा परिरहेकै थियौं। फेरि फोन बज्यो उठाएँ, फुपुकै रहेछ।
'आमालाई दे,' भन्नुभयो।

'तँ हुँदाहुँदै भाइटीकाको दिन निधार खाली नहोस् भनेर पो भनेको,' हजुरआमाले थप्नुभयो, 'केहि गर्नुपर्दैन, खुरुक्क दुईवटा भदालाई निधारमा टीका टाँसेर पठाइदे।'

हामी दुवैजना दाजुभाइ फुपुको हातबाट टीका लगाउन उहाँको घर पुग्यौं। घरमा उहाँको वृद्धा सासु र फुपु मात्र हुनुहुन्थ्यो। पुरै सुनसान थियो। बाहिर किरा फट्याङग्रा कराएको पनि सुनिने। न कुनै रौनक थियो, न कुनै तयारी। हामी पुगेपछि नै किस्तीमा केहि पुजा सामग्री राख्नुभयो र सासुलाइ सोध्दै हाम्रो पुजा गर्न थाल्नुभयो।

'भाइटीका लगाउन पनि कस्तो जानकारी नै नभएजस्तो गर्नुभएको?' मेरो मनमनै उठेको यो प्रश्नसहित पुराना तस्बिर आँखामा नाच्न थाले।

कुनै दिन थियो, यो फुपुले भाइटीकाको दिन घरमा हंगामा मच्चाउनु हुन्थ्यो। हाम्रो वाल्यकालका ती दृश्य। प्रायः काठमाडौं बस्नुहुने उहाँ चाडवाड, अझ खासगरि भाइटीकाको दिन नछुटाइकन जागिरे दाइको जहाँ सरुवा भयो उतै आइपुग्नु हुन्थ्यो। कहिले लहानजस्तो भर्खर बसेको बस्ती त कहिले राजविराजजस्तो मिलाएर बनाइएको सहर। अझ वीरगन्जमा हुँदा त कुरै अर्को हुन्थ्यो। बुवाबाहेक पनि उहाँका बनाइएका दाजुभाइहरुको लश्करै लाग्ने। धेरै वर्षा अघि नै बुवा जागिर छाडेर पत्रकारीता हुँदै राजनीतिमा अाइसक्नुभएको थियो।

फुपुले खुब मनलगाएर भाइटीकाको तयारी गर्नुहुन्थ्यो। फूल खोजेर ल्याउनेदेखि माला गास्ने र उपहार इत्यादिको बन्दोबस्त। देख्दै रहर लाग्ने। उहाँलाई सघाउन उहाँका साथीहरु पनि आइपुगेका हुन्थे। एउटा भब्य उत्सवको दृश्य तयार पार्नुहुन्थ्यो उहाँ।

भाइटीका लगाउनै कहिलेकाँहि उहाँ घन्टौं लिइदिनुहुन्थ्यो। हिरो हिरोइनका अघिल्तिर सिनेमाको 'साइड' पनि होइन, असाध्यै निम्छरो भूमिकामा बसेका पात्र जस्तै हामी दुई दाजुभाइ र दिदी उहाँको पालो सकुन्जेल भोकै कुर्न बाध्य हुन्थ्यौं। बुवालाई समेत नटेर्ने उहाँको अगाडि बोल्ने आँट कस्को?

टीका लगाइसकेपछि बुवाले दिने दक्षिणा र उपहारका विषयमा जहिल्यै झगडै गर्नुहुन्थ्यो। अरु बनाइएका दाजुभाइसँग चाहिँ कहिल्यै गुनासो गर्नुभएको देखिएन। बुवासँग चाहिँ किन यसो गर्नुहुन्थ्यो? कहिल्यै नबुझिने ।

तैपनि भाइटीकाको बेलुकी बुवालाई रक्सी पिउन मिठा मिठा परिकार बनाउने काम फुपूले नै गर्नुहुन्थ्यो। ति खानेकुराबाट लाभान्वित हुँदा चाहिँ अघि दिउँसो भोकै कुर्नुपर्दाको मेरो र भाइको 'भितरिया रिस' पनि साम्य हुनपुग्थे।

हो, उहाँ तिनै फुपु हुनुहुन्थ्यो जसको अघिल्तिर शनिबार म र भाइ उभिएर टीका लगाइमाग्दै थियौं।
 केहि थाहा नपाएजस्तो, जे पनि 'अब के गरौं' भन्दै सासुलाई सोध्दै, असाध्यै साधारण तरिकाले।

टीका लगाउनेबित्तिकै उहाँ भान्छातिर दौडिनुभयो। फेरि एकैछिनमा आउनुभयो र मलाई ग्वाम्लाङ्ग अंगालो मारेर रुन थाल्नुभयो। आवाज निकालेरै रुन थाल्नुभयो। क्वाँ क्वाँ। अघिदेखि थामिएर बसेको बाँध फुटेको थियो त्यो। भाइलाई पनि त्यसैगरि अंगालो मारेर रुनुभएपछि एकछिन त के गर्ने के नगर्नेको अवस्थामा पुग्यौं हामी।

झलक्क बुवालाई सम्झ्यौं, जसलाई पाँच लाख चन्दा नदिएकै कारण दस वर्षअघि माओवादीले उनीहरुले बोलाएकै स्थानमा गोली हिर्काएर मारेका थिए। यो पनि पढ्नुहोस्-

कुन नैतिकताले माओवादी सत्य निरुपण आयोगको कुरा गर्छ ?


केहि बेरमै म र भाइ अन्यमनश्क अवस्थामै फुपुको घरबाट बाहिरियौं। निस्कने बेलामा अर्को जानकारी पनि पाइयो। फुपुले भाइटीका भन्ने पर्व मनाउनै छाडिसक्नुभएको रहेछ।

मन साह्रै भारी भयो। यसकारणले पनि कि जुन मृत्युले केवल आफूलाई परेको पिडा मात्र बेहोरिरहेको थियो, त्यसको विभत्स रुप अन्त पनि कति छरिएको रहेछ ...।

0 comments:

Post a Comment