म एक बौद्धधर्मानुयायी भिक्षु भएकोले मेरो विचार र चिन्तन त्यसै अनुसार सादा, सरल हुन्छ। धेरै बुट्टा भर्न जान्दिनँ। परापूर्व कालदेखि हाम्रो समाजमा अनगिन्ति महान् ऋषिमुनि र दक्ष, सिद्ध महापुरुष उदय भएका छन्।
आवश्यकता अनुसार केहीको नाम उच्चारण गर्नुपर्दा सांख्यक दर्शनका प्रवर्तक कपिलमुनि, बौद्ध धर्मको प्रवर्तक गौतम बुद्ध, नेपाली भाषाको उन्नयनको लागि आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, प्रसिद्ध साहित्यसेवी मोतिराम भट्ट, इतिहास शिरोमणि बाबुराम आचार्य आदि इत्यादिका नाम लिन सकिन्छ।
उहाँहरूले जीवन जगतसँग सम्बन्धित, व्यावहारिक र ऐतिहासिक घटना तथा साहित्य सम्बन्धि भावपूर्ण सिर्जना, भाषा, काव्य आदि विविध विषयमा गद्य, पद्य र मिश्रित कृति रचना गरी ठूलो गुन लगाउनुभएको छ। उहाँहरूले कृपा नगरेको भए आज हामी अनेककृतिहरूको रसपान गर्ने अवसरबाट वञ्चित हुन्थ्यौं होला। त्यसैले उहाँहरू अत्यन्त महान् हुनुहुन्छ। राष्ट्रिय विभूति हुनुहुन्छ।
उहाँहरूको कृति, सामग्री देशको साँस्कृतिक सम्पदा र निधि हो। यो धरतिमा हामी नरहे पनि हाम्रो विचार र हस्तचिन्ह अमर रहने छ, हाम्रो भावी सन्ततिहरूका लागि हस्तान्तरण गर्ने साधन संलग्नता र योगदानको धरौटी सावित हुनेछ। अन्यथा सभ्य संस्कृतिविहीन समाज भेषभूषारहित बुङ्गो सुन्दरी जस्तै हुनेछ।
धर्म
आफ्ना गुण वा लक्षण धारण गर्ने बस्तुलाई धर्म भनिन्छ। यथा, स्वलक्षणधारणाद् धर्म (अभिधर्मकोष भाष्यं) जस्तै आगोको धर्म तातो र पोल्ने हो भने, पानीको धर्म चिसो अनि पातलो, पिरो खुर्सानीको धर्म हो, नुनिलो नुनको धर्म। त्यस्तै विनष्ट गर्ने विषको लक्षण हो भने अविनष्ट गर्ने दबाईको। उँभो बल्ने आगोको स्वभाव र उँधो बग्ने पानीको स्वभाव। स्वर्ग र सुगतिमा उत्थान गर्ने सद्धर्मको स्वभाव तथा दुःखमय दुर्गतिमा पतन गर्ने असद्धर्मको स्वाभाव हो।
धर्म वारे केही शब्द भन्नु पर्दा बुद्धले देशना गर्नुभएको ८४ हजार धर्म स्कन्धको राशीलाई सारमा संक्षेपीकरण गर्दा दश कुशलमूलमा समेटिन्छ। ती हुन् प्राणीहत्या त्यागेर प्राणीको प्राण रक्षा गर्नु, अदत्तादान (चोरी गर्ने काम) त्यागेर दान दिनु, मिथ्याचार (अब्रहमचर्य) त्यागेर व्रह्मचर्य (शील) पालन गुर्न।
प्राणीहिंसा वारे बुद्ध भन्नु हुन्छ, 'स्वयं अस्वास्थ्य हुँदा कत्तिको पिर पर्दो रहेछ, अरूलाई पनि त्यस्तै दुःख अनुभव हुन्छ। आफ्ना छोराछोरीको धेरै माया लाग्ने जस्तै अरूलाई पनि त्यस्तै माया लाग्छ। आफूलाई स्वआत्म स्नेह लाग्ने जस्तै अरू प्राणीलाई पनि परात्मस्नेह लाग्छ भन्ने स्थिति संझेर अरूको अहित (हिंसा) नगर्नु।'
दुष्टव्यवहार त्यागेर व्रह्मचर्य पालना गर्दा तीन किसिमका समागम (अब्रह्मचर्य) त्याग गरी श्रीमती श्रीमान्को सतमा र श्रीमान् श्रीमतीको सतमा बसेर एकले अर्काको मानसम्मान गर्दा त्यस घरमा सदा शान्तिको दियो बल्नेछ।
भगवान बुद्धले २६ शय वर्ष पहिल्यै यो कुरा प्रचारमा ल्याइसके पनि वैज्ञानिक र डाक्टरहरूले बल्ल हिजो आज यो कुरा बुझेर धेरै जनासँग देह सम्पर्क गर्दा खतरा हुन्छ भन्न थालेका छन्।
करुणाको भावना
सबै प्राणीलाई आफ्ना आमा संझेर करुणाको भावना गर्नुपर्दछ। करुणाको भावना गर्दा मन प्रफुल्ल र प्रसन्नता, संकीर्ण र संकुचितारहित परम आनन्दको अवस्थामा ध्यानमग्न भएर, अरूको समुन्नति, विजय र सुख समृद्धिको अनुमोदन गर्दै हर्षोत्साहित र खुशी व्यक्त गर्दै करुणाको भावना गर्नुपर्छ।
यसरी करुणाको भावना गर्दा आफन्तलाई माया र आफन्त नभएकालाई रिस गर्ने प्रवृत्तिदेखि अलग भई शत्रु मित्रु सबैप्रति समान व्यवहार गर्दै करुणाको भावना गर्ने गरिन्छ। अरूको सुख दुःख नै आफ्ना सुख दुःख भएको संझेर अरूको सुख दुखमा समान सहभागी जनाउँदै आफुसित एउटा रोटी छ भने जति जना साथी भए पनि सबैलाई बराबर बाँडेर दिनुपर्ने, एकजोर जुत्ता भए त्यो पनि आलो पालो गरी लगाउने आदि इत्यादि बराबर बाँडफाँड गर्ने कृयाकलाप गरेर आफू र अरू समान भएको भावना गरिन्छ।
यसरी आफू र अरू समान भएको भावनामा अभ्यस्त भए पछि आफू र अरू साटासाट गर्ने भावना गर्नुपर्दछ। यो भावना गर्दा अरूको अधोगति र आफ्ना अर्ध्वगति साटासाट गर्ने। अरूको थोत्रो लुगा आफूले लाउने, आफ्नो राम्रो
(नयाँ) लुगा अरूलाई दिने। अरूको ऋण आफूले लिने, आफ्ना धन अरूलाई दिने। अरूको रोग आफूले लिने, आफ्ना निरोग अरूलाई दिने। अरूको दुःख आफूले लिएर आफ्ना सुख अरूलाई दिने। अरूको अपजश आफूले लिएर आफ्ना यशकीर्ति अरूलाई दिने। अरूको असफलता र अवनति सबै आफूले लिने, आफ्ना सफलता र उन्नति सबै अरूलाई दिएर यसरी संभव भए सम्मको लाभ सत्कार सबै अरूलाई दिएर अलाभ र असत्कार सबै आफूले लिएर अरूको दुख र आफ्ना सुख सट्टापट्टा गरी अरू र आफू साटासाट गर्ने भावना गरिन्छ।
सिद्धार्थ कुमारले यही मार्गको अनुसरण गरी आफूलाई तुच्छ र अरूलाई महान् मानेर अरूको सेवामा लागिपर्दा उहाँ चाहिं महापुरुषको ३२ शुभलक्षण र ८० अनुव्यञ्जन तथा ६० ब्रह्मघोषवादी तथागत अर्हत सम्यक सम्बुद्ध एवं शाक्य सिंह, शाक्यमुनि बुद्ध हुनु भयो।
मरण हुँदा काम लाग्ने परममित्र चाहिं एकल धर्म हो। यस बाहेक बाबु आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा, छोरी, इष्टमित्र आदि सहयोग गर्ने साथी कोही हुँदैन। तसर्थ आफूले आफैंलाई चिनेर, आफूले आफैलाई माया गरेर माथि सुगतिमा पठाउने र तल दुर्गतिमा पठाउने निर्णयक स्वयं आफै भएकोले परममित्र धर्मको सम्पर्कमा बसिरहँदा राम्रो हुन्छ। धर्मको सम्पर्कमा रहँदा प्राणीको गर्दन रेटेर होइन कि आफ्ना अविद्या र आत्मग्रहलाई रेटेर बस्दा उत्तम हुन्छ।
अन्तमा हाम्रो नेताजीहरूलाई केही सुझाव दिन चाहन्छु। पहिले पहिलाका राजा महाराजाले आफ्नो टाउकोमा एउटा सेतो रौं उमि्रनासाथ यमराजको पत्र आयो भनी राज्यको राजकाज युवराजलाई सुम्पेर जङ्गलमा ध्यान गर्न जाने इतिहास पाइन्छ।
यस्तो ऐतिहासिक वृतान्तहरू हेर्न नभ्याए पनि नेपाल आमाका सुपुत्र सिद्धार्थ कुमारले 'बहुजनहित र बहुजनसुख'कालागि श्रीमती, छोरा लगायत सारा राज्यसत्तालाई थुक जसरी त्यागेर ज्ञानको खोजीमा लागेको यथार्थ स्मरण गरौं।
बहुजनहित, सुखका लागि केही गर्न असमर्थ भए पनि नेपाली जनताका लागि
केही गरी देखाउँछु भन्ने आँट गर्नु पर्यो नेताजीहरूले। नेताजीहरूले २०६४ साल देखि संविधान बनाउने निहुँमा देशलाई नाङ्गो पारिरहेको कहीं कतैबाट छिपेको छैन।
देश नाङ्गो पार्दा नेताजीहरूलाई कुरी–कुरी नलागे पनि, हामी देख्नेलाई कुरी–कुरी लागिसक्यो। त्यसैले तपाईहरूलाई संविधान बनाउन अझ धेरै समय लाग्ला जस्तो छ। त्यो भन्दा तपाईहरू जनताको अभिभावक भएर गाउँ गाउँमा जानुहोस्, जनतालाई दिएको वचन पूरा गर्नुहोस्। संविधान बनाउने जिम्मा संविधानविद्हरूलाई दिनुहोस्। यसो गर्दा तपाईहरूको प्रतिष्ठा पकिकन बढ्ने छ।
अन्ततः समावेशी लोकतन्त्र, संघीयता र गणतन्त्रात्मक संविधान जस्तो बनाए पनि मानिसको जन्मसिद्ध मौलिक हक अधिकार, कुनै पनि क्षेत्रभित्र बसोबास गर्ने जुनसुकै जातको भएता पनि समान अधिकारको सा‰ेदारी हुनु पर्दछ। अल्पसंख्यक, सीमान्तकृत, जातजाति, भाषा भाषी रीति रिवाज र धर्म संस्कारको स्वायत्तता दिनुपर्छ।
ञोन्मोङ देलेग छेन्देग, ञिमी गुङयाङ देलेग शिङ,
ञिन्छेन तग्तु देलेग्पा, कोञ्छयोग सुम्ग्यी टाशी शोग।
अर्थातः–
दिनमा मंगल र रातमा मंगल होओस्, रात दिन सदा मंगल होओस्।
दिनको मध्यान्हमा पनि मंगल होओस, सदा सर्वदा त्रिरत्नको मंगल होओस।।
भवतु सर्व मंगलम्।