Tuesday, August 4, 2015

इमान्दारिताको कदर नहुने देशमा कसरी फर्कूँ हजुर अामा ?

श्रद्देय हजुरआमा
प्रणाम ।
आफ्नो नातिनातिना भन्दा हुरुक्क हुने हजुरआमाको आज धेरै सम्झना आयो। त्यसैले यो पत्र लेख्न जमर्को गरेको छु। हजुरआमा, २०७२ वैशाख१२ को बिनासकारी भूकम्पले अपत्यारिलो तरिकाले नाफाको जीवन बाँचेको छु, नानी भन्ने तपाईंको धर्मराएको आवाजले अस्ति टेलिफोनमा कुरा गर्नै सकिन।  त्यसै त्यसै भक्कानो छुटेर आयो, गला अवरुद्द भयो। सोचें तपाईं बाँचेको सायद म परदेशी नातिनीलाई शिरमा हात राखेर आशिर्वाद दिनकै लागि होला। यस्तो सोचेर मुस्कुराएँ एक्लै।

त्यति ठूलो विपतिबाट पनि मेरो हजुर आमा बाँच्न सफल हुनुभयो भन्ने खबर पाउँदा खुसीको सीमा रहेन। हुन त हजुरसँगको त्यो छोटो कुराकानी पछि मेरो मन बेचैन छ, खुसी र बिस्मातको भुमरीमा नराम्ररी निस्सासिएको छ, आजभोली जताततै उराठ मात्रै लाग्छ किनकि मेरो बाल्यकालको दिनचर्या संग जोडिएका धेरै चिजहरु त्यो भूकम्पले समाप्त गरिदिएको छ।  तैपनि खिन्न भएको मन लिएर एक तमसाले हजुरको तस्बिर हेर्छु र चित्त बुझाउँछु।  कम से कम मेरी हजुर आमा त सकुशल हुनुहुन्छ ! हजुरको चाउरी परेको बिम्ब हेर्दा आशा र भरोसाका किरण इन्द्रेणी झैं रंगिन देखिन्छन्।दुःख र कष्टका उबडखाबड पार गरेका उन्नती र सम्वृद्धीका अभेद्य चट्टान झैं लाग्छन्। त्यी खुम्चिएका रेसाहरू, कस्तो आभा छ तपाईंको अनुहारमा हजुरआमा!

तपाईंलाई सम्झना हुनु पर्दछ, म सानो छँदा हजुरको बुईमा बसेर ढिकीमा घान कुटेको, काखमा बसेर जाँतोमा मकै, कोदो पिसेको, घरी-घरी हजुरको काखमा लुट्पुटिने र घरीघरी बुर्कुसी मार्दै भित्र र बाहिर गर्ने हाम्रो त्यो घर कस्तो स्वर्ग जस्तो थियो है हजुर आमा ? निष्ठूरी दैवले हाम्रो त्यो सुन्दर घर गर्ल्यामगुर्लुम लडाएर केबल ढुंगा माटोको थुप्रोमा परिणत गरिदियो भन्दा मलाई दैव देखि कम्ती रिस उठेको होइन। तै पनि उती बेला दशै तिहारमा रातो माटो, काली माटी र कमेरोले लिपेको यी हात हेर्छु र चित्त बुझाउछु हजुरआमा, हजुरको अाशिर्वादले घर फेरि उभ्याउनु छ मैले ।

हजुर आमा ,

यो परदेशमा हजुरको हातको स्पर्सको याद मात्र गर्दा पनि तागत आउँछ | हजुरले ठुलो ठेकीमा पार्नु भएको मोही गाउँनै बास्ना आउने गरी भुट्नु भएको मकै, भटमास खाएको यादले यो मरुभूमिमा पनि सरर मुख भरी पानी आउँछ। यो परदेशको पिजा र बर्गरले मेरो मन जित्न सकेन ,हजुरआमा ।

परदेशिएको पनि एकदशक भैसक्यो तै पनि त्यहि हजुरले हातमा ठेला पर्ने गरी ओडाल्नु भएको ढिडो र पिरो पारेर साध्नू भएको पिना ,गुन्द्रुक संग जिब्रो पड्काउँदै खाएको दिन सम्झेर घुटुक्क थूक निलेर कल्पिरहेको हुन्छु ।

म सानो छँदा मलाई सुताउनको लागि विभिन्न खाले कथा गीत भनेर मलाई काखमा लुटुपुटु पार्ने मेरी हजुर आमा, हजुरलाई सम्झदा तिनै कथाहरु मध्ये एउटा कथा आजभोलि निक्कै सम्झन्छु ।पश्चिम नेपाल तिर धेरै केटा मान्छे लाउर जाने गर्थे रे, चाड बार्ड पारेर घर आउथे रे | त्यो कथा तिहार ताकाको थियो जस्तो लाग्छ | एउटा लाउरे ५ वर्षमा लाहुरबाट घर आएको बेला गुन्टा ट्यांका बोक्ने भरियाले उसलाई बाटोमा मारेर गाडेछ र सबै पैसा, समान लट्टीपट्टि परेर भागे छ रे| हुन त त्यस्ता घटनाहरू कथामा मात्र होइन वास्तविक जीवनमा पनि घटेको सुनिन्थ्यो नै। अनि घटना पछि कथा,कविता गीत बन्थ्यो| गाइनेहरुले सारंगी बजाउदै बिलौना सहित गीत गाउँथे |त्यस्तै गीत ,कथा हजुरले हामीलाई सुनाउनु हुन्थ्यो |

तर अफसोच ! आज त्यस्ता घटना त सामन्य भाई सके हाम्रो समाजमा। आखिर हाम्रो समाज किन यति द्रुत गतिमा क्रुर बन्दै गएको होला ? हेर्नुस त हजुर कै पालामा बलात्कार गर्ने, मान्छे मार्ने सामान्य हुँदै जान थाल्यो। यस्ता घटना अब कथा होइन,हाम्रो समाजका दैनिकी पो बन्न थाले !हजुरआमा अझै के के देख्नु पर्ने हो बाँचिरहन पाए !

बुढ्यौलीसँगै हजुर कान कम सुन्नु हुन्छ, फोनमा कुरा सुन्न सक्नुहुन्न ! तै पनि बेला बेला फोन गरेर हजुरको स्वर सुन्छु।  हजुरले दिनुभएको आशिर्बाद फोनबाटै लिन्छु। हजुरसंगको हरेक संवादमा अब घर फर्क नानु नेपालमै केही गर परिवारसंगै बसेर आधी पेट खान राम्रो। परदेशमा एक्लै बस्नुभन्दा आउने दशैंमा मेरो हातको टिका थाप्न परदेश सधैँको लागि छोडेर आउनु है भन्नु भएको त्यो बोली हरपल कानमा गुन्जिएको छ ,हजुरआमा।

 हजुरलाई थाहा नै छ, परदेश मेरो रहर होइन, बध्यता हो | फेरि यहाँ म एक्लो पनि त छैन नी। म जस्तै लाखौं नेपाली आफ्ना बाबु आमा, भर्खर बिहे गरेको श्रीमती, श्रीमान्, नाबालाक छोराछोरी छोडेर परदेशिएका छन | बर्षौंदेखि चाडबाड मान्न पाएका छैनन्। मैले पनि तिनीहरू सबैलाई हेरेर चित्त बुझाएकी छु हजुरआमार कहिले काहीं लाग्छ सन्तोषको सास फेर्ने दिन कहिले आउला र?

हाम्रो गाउँमा आज १८ वर्ष भन्दा माथिका कुनै पनि युवाहरु छैनन्| १७ वर्ष पुरा हुने बित्तिकै दलालहरूको बिगबिगी हुन थाल्छ र खाडी मुलुकबाट आएको फ्री भिसामा लाखौं रकम असुलेर प्रलोभनमा पार्छन्।  कलकलाउँदा युवालाई खाडीको ५५ डिग्रीको तापमा पिल्सिन बाध्य बनाउँछन्|सस्तो भाउमा श्रम बेचेर लिलाम भएको खुसी किनिरहेका छन् युवायुवतीहरू।

हजुर आमा, हजुरलाई अचम्म लाग्ला कस्तो जमना आयो भनेर। त्यो उमेरमा आफ्ना सबै परिवारसंगै बस्ने चाहना हुँदाहुँदै पनि हजुर हरेक साँझ पिंढीको डिलमा बसेर बाटो हेर्दै कोही कतैबाट आउलान् कि आमा भनेर बोलाउँलान् कि भनेर त्यो आवाज सुन्न तड्पिरहनु भएको छ। हजुरको आत्मालाइ बुझेको छु, हजुरआमा तैपनि यो विवशताको जिन्दगी बिताउन बाध्य छु।

अन्तमा ,परदेशमा रहेर यति कुराको जानकारी हुँदाहुँदै पनि देश फर्कन सकेको छैन। त्यहाँ इमानको कदर हुन्छ भन्नेमा मलाई विश्वास छैन। पाखुरीमा विश्वास गर्ने हजुरकी नातिनी  हुँ म। मलाई गर्व लाग्छ हजुरको नातिनी हुन पाउँदा हजुरको काखमा हुर्किएर यो संस्कार पाएकी छु। यति बेला मैले हजुरलाई यस्ता गन्थन लेखेर मन दुखी बनाउनुको सट्टा हजुरको साहारा बनेर सहयोग गर्नु पर्ने हो। त्यसो गर्न नसकेकोमा आत्मा ग्लानी हुन्छ नै। तै पनि अब छिट्टै खुसीहरू समालेर हजुरको सेवामा हाजिर हुने बाचा गर्दै अहिलेलाई बिदा माग्दछु।

हजुरकी प्यारी नातिनी
सावी
हाल: इजरायल

0 comments:

Post a Comment