Thursday, August 20, 2015

नागरिकताको विषयमा दलहरुबीच यस्तो सहमति भयो

भदौ ३, काठमाडौँ । नयाँ संविधानमा नागरिकताको विषयलाई लिएर असन्तुष्टि बढेपछि दलहरुले नयाँ सहमति गरेका छन् । यस्तो छ उनीहरुले नागरिकतामा गरेको सहमति : यो संविधान जारी हुनुभन्दा अघि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्तिले वंशजको नागरिकता पाउनेछ । कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता पाउनेछ ।


यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजको आधारमा नागरिकता पाउनेछ । नेपालभित्र फेला परेको तर, आमा वा बबुको ठेगाना नभएको व्यक्तिले आमा वा बाबु फेला नपरेसम्म वंशजको आधारमा नागरिकता पाउनेछ । नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको तर, बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिइने, तर बाबु विदेशी नागरिक ठहरिएमा संघीय कानुनबमोजिम त्यस्तो नागरिकता अंगीकृतमा बदलिनेछ ।

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम अंगीकृत नागरिकता पाउनेछिन् । अन्यत्र जेसुकै लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्ति नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकता लिएको रहेनछ भने निजले संघीय कानुनबमोजिम नागरिकता पाउनेछ । वंशजको आधारमा नेपालको नागरिकता पाउने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नागरिकता पाउनेछ । 

0 comments:

Post a Comment