Monday, August 10, 2015

सुर्खेतमा कर्फ्यू घोषणा, गाेली लागेर एकको मृत्यु ४ जना गम्भीर घाइते

२५ साउन । मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित सुर्खेतका जनताले नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद् हृदयराम थानीको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।


अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको आन्दोलनले आज उग्र रुप लिँदा तीन प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा पनि तोडफोड भएका छन् ।

सभासद्समेत रहेका खड्काको घरमा आगजनी गर्न पुगेका आक्रोशित जनता र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । गोली लागेर चारजना गम्भीर घाइते भएका छन् भने एकको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन । उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ । घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

यसैगरी, जनआक्रोशलाई साम्य पार्न सुर्खेतमा मध्याह्न १ बजेदेखि राति ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जानकारी दिएका छ ।

सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

आक्रोशित जनताले सुर्खेतस्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्रमा आगो लगाइदिएका छन् । सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई छैटाँै प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौँ प्रदेशमा गाभिएको विरोधमा बन्द आह्वान गरेका हुन् । यी निर्णय नसच्याइएसम्म आन्दोलन जारी रहने सुर्खेतका आन्दोलनकारीहरुले बताएका छन् ।

सुर्खेतवासीले मध्यपश्चिमलाई साताँै प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसमेत गरेका छन् ।
तस्विर : राजन शाही ठकुरीको फेसबुक वाल बाट ।

0 comments:

Post a Comment