Sunday, December 28, 2014

एयर एसियाको वेपत्ता विमान जाभा सागरमा खसेको आशंका

आइतवार बिहान वेपत्ता भएको एयर एशियाको विमान इन्डोनेशियाको जाभा सागरमा खसेको अनुमान गरिएको छ।


त्यसको खोजीका लागि अहिले समुद्रमा इन्डोनेशिया तथा सिंगापुरका फौँजी विमानहरू परिचालन गरिएको छ।

आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको एयर एसियाको एक विमान बेपत्ता भएको थियो। सो विमानमा चालकदलका सदस्यसहित १६२ जना यात्रु सवार रहेका जनाइएको छ।

पूर्वी जाभा प्रान्तको सुराबायास्थित ज्वान्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे सो विमान उडेको बताइएको छ।

उक्त विमानसँग आइतबार स्थानीय समयअनुसार ८.५५ मा सम्पर्कविहीन भएको इन्डोनेसियाली यातायात मन्त्रालयका प्रवक्ता जे.ए बराताले एएफपी समाचार समितिलाई बताएका छन्।

सो विमान सिङ्गापुरस्थित स्थानीय समयानुसार आइतबार बिहान ८.३० मा पुग्नु पर्ने समयतालिका रहेको पनि जनाइएको छ।

इन्डोनेसियाको हवाई यातायातका महानिर्देशक दजोको मुर्जात्मोद्जोले सो विमानमा सात चालक दलका सदस्य र १५५ जना यात्रु रहेका र ती मध्ये १७ जना बालबालिका रहेका बताएका छन्।

स्थानीय टेलिभिजन च्यानल मेट्रोका अनुसार सो विमानमा १४९ जना इन्डोनेयाली, तीन जना दक्षिण कोरियाली, एक ब्रिटिस, र एक मलेसियाली नागरिक रहेका जनाइएको छ।

0 comments:

Post a Comment