Thursday, December 11, 2014

दिउँसो चोर्ने, राति गर्लफ्रेन्डलाई टिप्स दिने

२५ मंसिर, काठमाडौं । राजधानीमा ‘दुले चोर’को बिगबिगी बढेको छ । ढोका ढप्काएर एकैछिन कतै जानुहुँदैन, कोठामा चोर पसिहाल्छ । झ्याल खुल्ला राखेर सुत्यो कि बित्यो !


राजधानीजस्तो सुरक्षित भनिएको ठाउँमा दिनदहाडै ढोका फोरेर चोरी हुने क्रम बढेको छ । गरगहना, नगद, प्यापटप र मोबाइलदेखि जे भट्यो, त्यही उठाएर हिँड्ने चोरले काठमाडौंबासीलाई हैरान पारेका छन् । नयाँ बनाउँदै गरेको घरबाट तारसमेत चोरी हुने गरेको प्रहरीमा उजुरी परेको छ ।

आखिर कस्ता होला यी दुले चोरहरु ? विभिन्न चोरीका घटनामा संलग्न चारवटा समूहका १३ जना ‘दुले चोर’लाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको छ । पक्राउ परेका धेरैजसो १७/१८ वर्षका केटा छन् भने तीनजना चाँहि ११ वर्षे नाबालक समेत फेला परेका छन् ।

दिनभरि चोर्ने, राति गर्ल्डफ्रेण्डलाई टिप्स दिने

चोरीमा संलग्न एउटा समूहका सदस्यहरुले चोरी गरेर ल्याएको रकम क्याविन रेष्टुँराका केटीहरुलाई गर्ल्डफ्रेण्ड बनाएर टिप्स दिने गरेको खुलेको छ ।
महाशाखाका अनुसार सुवास नेपालीको समूहका १० जना पक्राउ परेका छन् । उक्त समूहका नाइके दोलखा गरौमुदी ४ मिर्गीका सुवास १७ वर्षका छन् । उनको समूहका ७ जना काठमाडौं ३१ स्थित बसपार्कबाट र तीनजना कटारीबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत जेठमा चोरी गर्दागर्दै बानेश्वरबाट पक्राउ परेका सुवास १४ हजार धरौटीमा छुटेका थिए ।
यो समूहले दिउँसो मानिस नभएको मौका छोपी फलामको रडले ढोकाको ताला फुटाउने र चोरी गर्ने गरेको महानगरीय प्रहरीले जनाएको छ ।

चोरेका सामान प्रहरीलाई बिक्री

हनुमानढोका प्रहरीले गरेको अनुसन्धानका क्रममा चोर र पुलिसवीच व्यापारिक कारोबार हुने गरेको पाइएको छ ।
चोरहरुले शिद्धकाली गणमा दरबन्दी भई युएन शान्ति स्थापनार्थ तालिम केन्द्र ककनीमा कार्यरत सशस्त्र प्रहरी जवान अजय पुरीलाई चोरीका सामान भन्दै सस्तोमा एकमुष्ठ बेच्ने गरेको हनुमानढोकाले पत्तो लगाएको छ ।
उनीहरुका साथबाट प्रहरीले सुनको गरगहना ७ तोला, चाँदी ८ तोला, चार थान ल्यापटप, तीन थान क्यामेरा, १३ थान मोबाइल र ७ हजार नगद बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट खकुरी, ढोकाको ताला तोड्ने रड र सुन जाँच्ने ढुंगा समेत बरामद गरेको छ ।

गेष्ट हाउसमा बस्ने, ट्याक्सीमा हिँड्ने

प्रहरीका अनुसार दुई महिनादेखि बसपार्कको स्वागतम गेष्ट हाउसमा बस्दै आएको सुवासको टोली बिहान ९ बजेपछि ट्याक्सी चढेर विभिन्न स्थानमा चोर्न जान्थ्यो ।
सवासको समूहका चोरहरुले क्याविन रेष्टुराँमा केटीलाई गर्ल्डफ्रेड बनाउने र साँझ परेपछि चोरी गरेर ल्याएको पैसा टिप्स दिने गरेको प्रहरीको भनाइ छ । उनीहरुले १७ वटा घरका कोठामा चोरी गरेको र ४४ लाख ८४ हजार ४९९ बराबरको धनमाल चोरी गरेको उजुरी अपराध महाशाखामा परेको छ ।

चप्पल कारखानामा अर्को टोली

महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न कुमार नेपालीलाई चप्पल कारखानाबाट पक्राउ गरेको छ । उनको समूहका अन्य दुई सदस्य भने फरार छन् ।
कुमारको समूहले निर्माण हुँदै गरेको घरको तार चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले घरमा चोरी गर्ने क्रममा रडले ताला फोड्ने गरेका थिए । यो समूहले सात ठाउँबाट २ लाख बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

भैंसेपाटीको चोर मोटरसाइकलमा

ललितपुरको भैंसेपाटी, नक्खुलगायतका क्षेत्रमा भएको चोरीमा संलग्न समूह सीतापाइलाबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा दोलखाका गोकर्ण भन्ने सुनिल श्रेष्ठ र भोजपुरका लाले भन्ने लालबहादुर विश्वकर्मा छन् ।
सुनिल यसअघि पनि चोरीको मुद्दामा जेल परेका थिए भने । पाँचवटा चोरी मुद्दामा उनी फरारको सूचीमा थिए । सुनिल र लालबहादुरको समूहले ५ लाख बढीको चारी गरेको अनुसन्धानबाट खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

सुरुमा गाउँका साथीसँग मिलेर चोरी गरेका सुनिलले अहिले भने नयाँ नयाँ व्यक्तिलाई साथमा लिने परेको प्रहरीले बताएको छ । चोरीका लागि जाँदा उनी मोटरसाइकल प्रयोग गर्थे भने सुराकीका रुपमा नजिकका मानिसलाई प्रयोग गर्ने गरेको देखिएको छ ।
उनीहरुका साथबाट प्रहरीले ल्यापटप, आइप्याड, बा ३७ प ९४२६ नम्बरको मोटरसाइकल र ३ हजार ८ सय ४० नगद बराबद गरेको छ ।

फुच्चे चोरलाई सम्झाएर छाडियो

काठमाडौंमा हुने चोरीमा नावालकहरु पनि संलग्न देखिएका छन् । खासगरी ताला नलगाई वरपर गएका बेला उनीहरुले चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न ११ वर्षका तीनजना बालक पक्राउ परेका छन् ।लागू औषध खाएर सडक र पाटीमा सुत्ने यो समूहले काठमाडौंका विभिन्न आठ ठाउँमा चोरी गरेको पाइएको छ ।
चोरीमा संलग्न केटाकेटीलाई सम्झाई-बुझाई अभिभावकको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

0 comments:

Post a Comment