Tuesday, December 30, 2014

पार्वती राइले तताए जाजरकोट

जाजरकोट । पहिलो पटक जाजरकोटमा आयोजना गरिएको महोत्सवमा राष्ट्रिय कलाकारहरुले गरेका विभिन्न प्रस्तुतिले खलंगा बजार निकै तातिएको छ ।


पुस ११ देखि १७ गते सम्मका लागि तय भएको जाजरकोट महोत्सवको सुरुका दुई दिनमा केहि कम सर्वसाधारणहरुको उपस्थिती भएपनि सोमवार र मंगलवार भने थाप्लेचौरमा भव्य जनसागर उर्लिएको छ । महोत्सवका अवसरमा सन्चालन गरिएका विभिन्न गीत तथा नाँचका कार्यक्रमहरु र स्थानीय झाँकीहरुसंगै अन्य मनोरन्जनात्मक क्रियाकलापहरु हेर्नका लागि त्रिभुवन उच्च माविको प्रांगण मात्र होइन पुरै थाप्लेचौर क्षेत्रमा मानव सागर उर्लिएको छ । महोत्सवका लागि यी दुइ दिनमा पचास हजार वढी सर्वसाधारणहरुले अवलोकन गरेको आयोजकले दावी गरेका छन् ।

महोत्सवमा सर्वसाधारणलाइ चर्चित लोकगायिका कोमल ओली, टीका पुन, हास्य कलाकार कमल गाउँले, चर्चित नृत्यांगना पार्वती राइ , लोकगायक नवीन पौडेल, कृष्ण रेउले लगाएतले भरपुर मनोरन्जन दिए भने स्थानीय लोकनृत्य र झाँकीहरुले पनि महोत्सवमा रौनक्ता थपेका छन् । महोत्सवमा सवै भन्दा वढी पार्वती राइको नृत्यले चर्चा पाएको छ । उनको नृत्य हेर्नलाइ दर्शकहरुको व्यग्र प्रतिक्षा थियो । धोती र चोलीमा नेपाली गीतको धुनमा नाँच्न जव पार्वती देखा परिन् अनि सुरु भयो दर्शकको हुटिंग र ताली । उनको हाउभाउ अनि कम्मर मर्काइको नक्कल गर्दै दर्शकहरु पनि नाचेका थिए ।

कमल गाउँलेको ठटयौली उदघोषण अनि नवीन पौडेलेको जोसिलो गीतले त्रिभुवन उच्च माविको खुल्लामन्च जस्तो चौरमा जम्मा भएका २० हजार वढी दर्शक उत्तेजित अवस्थामा देखिन्थे । उनीहरुलाइ नियन्त्रण गर्न ठुलो संख्यामा जम्मा भएका प्रहरी र स्वयमसेवकहरुलाइ निकै हम्मे हम्मे थियो । एका कुनामा सिंगारु नाँच, अर्काे कुनामा पैसेरी र ख्याली नाँच अनि पर छेउमा खाँडो नाँच विषेश मन्चमा काठमाडौंका कलाकारहरुका विविध प्रस्तुतीले पुरै जाजरकोट झुमेको देखियो ।फरक फरक स्टलहरुमा स्थानीय उत्पादनका सामाग्रीहरुको किनमेलमा कोहि व्यस्त, कोहि रोटे पिंग खेल्न व्यस्त वालवाकिाहरु विभिन्न नमुना सवारीसाधनमा रमाउन व्यस्त जताततै रमाइलोले गर्दा सातै दिन जाजरकोटमै वसीरहन मन लागेको रुकुम चौरजहारीका वीरवहादुर विष्टले वताए । यति रमाइलो भएको छ आफनो घरमा जान मनै लाग्दैन उनले भने ।

विगतमा निशुल्क रमाइलो मेला हेरेका सर्वसाधारणले यस वर्ष भने महोत्सव स्थलमा प्रवेश गर्न शुल्क तिरेका छन् । प्रति व्यक्ति ५० रुपैयाका दरले उनीहरुले प्रत्यक दिन पैसा तिरेर महोत्सवको अवलोकन गरेका छन् । महोत्सव सन्चालनका लागि जिल्ला विकास समिति लगाएत ३० वटै गाविसहरु विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, नेपाल पर्यटन वोर्ड के एल दुगढ प्रालि लगाएतका संघसस्थाहरुले आर्थिक सहयोग तथा प्रायोजन गरेका छन् ।

मेलामा जनताको भव्य उपस्थिती भएपनि आयोजकले उचित व्यवस्थापन गर्न नसकेको सर्वसाधारणहरुको गुनासो रहेको छ । सर्वसाधारण र गाउँवाट आएका सोझा साझाहरुवाट कसेर शुल्क लिने र खलंगाका टाठावाठाहरुलाइ महोत्सव स्थलमा प्रवेशका लागि शुल्क नलिने गरेको खलंगा १क ा मिलन चन्दले वताए । उनले जनताको करवाट सन्चालन भएको महोत्सवमा जनतालाइ नै मार पार्ने गरी काम हुन नहुने वताए ।

महोत्सवमा आमन्त्रण गरिएका पाहुनाहरुका लागि वस्ने ठाउँको व्यवस्था पनि गतिलो नभएको उनको गुनासो थियो । त्यस्तै पत्रकार सुरेन्द्र सिंहले पनि महोत्सव आयोजनाका लागि जनताको नाउँमा आएको वजेट समेत खर्च भएकोले यसको पारदर्शितामा ध्यान दिन जरुरी रहेको वताए । उता महोत्सव आयोजक समितिका संयोजक कमानवहादुर खड्काले सवैको सहयोग भएमात्र महोत्सवलाइ सफल पार्न सकिने वताए । उनले महोत्सव सन्चालनका लागि केहि कम्जोरी भएपनि सवै कुराहरुको राम्रो व्यवस्थापनमा आफुले जोड दिएको वताए ।

0 comments:

Post a Comment