Monday, December 29, 2014

मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजमा आगो लाग्यो, यात्रु सकुशल ओर्लिए

१४ पुस, काठमाडौं । भारतको मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको विमानमा सोमबार बिहान आगो लागेको छ ।


विमानस्थलका अधिकारीका अनुसार विमानमा चरो ठोक्किएपछि इञ्जिनमा आगो लागेको हो । तर, विमान सकुशल अवतरण भएको छ र यात्रुहरु विमानबाट ओर्लिएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको जहाज  ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका निमित्त महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार चरो ठोक्किएपछि विमानको इञ्जिनमा आगो लागेको हो । तर, विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘म अहिले विमानको नजिकै उभिएको छु,’ श्रेष्ठले अनलाइनखबरलाई भने, ‘सबै यात्रुहरु विमानबाट ओर्लिइसक्नुभएको छ, कसैलाई केही भएको छैन ।’

विमानको इञ्जिनमा चराको मासुका टुक्राहरु देखिएको र प्राविधिकहरुले जाँच गरिरहेको श्रेष्ठले बताए । विमानस्थलको नजिकै आइपुग्दा चरो ठोक्किएको र आगो लागेको भए पनि इमर्जेन्सी ल्याण्ड गरिएकाले कुनै क्षति हुन नपाएको श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि प्रहरीले प्रारम्भिक जानकारीका आधारमा इञ्जिन तातेर आगो लागेको बताएको थियो ।

1 comment: