Tuesday, December 30, 2014

हिन्दी चलचित्र ‘पीके’को विवाद दिल्ली पुग्यो, हलमा तोडफोड

आमिर खानको फिल्म ‘पीके’ को विवाद घट्नुको साटो बढ्दो छ । फिल्म लगातार धार्मिक विवादमा फस्दै गइरहेको छ र अब यसको विरोध दिल्ली पुगेको छ ।


दिल्लीमा बजरंग दल र हिन्दु सेनाले एक हलमा फिल्म चलिरहेको अवस्थामा तोड्फोड गरेका छन् ।
इन्डिया टुडेका अनुसार हिजो सोमबार उक्त फिल्मकै विषय लिएर अहमदावाद र भोपालमा विरोध भएको थियो । फिल्ममा भगवानलाई जसरी चित्रण गरिएको छ, त्यसलाई प्रतिबन्ध गर्न माग गरिएको छ । अहमदावादमा बजरंग दलले बिरोध प्रदर्शन गर्दै फिल्म हलमा निकै उग्र रुपमा बिरोध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरुले हलको झ्याल भाँच्दै फिल्म विरुद्ध नाराबाजी गरेका थिए ।

स्मरण रहोस्, गत शनिबार योग गुरु रामदेव र गुरु शंकराचार्यले पनि फिल्मप्रति आफ्नो आपत्ति प्रकट गरिसकेका छन् । रामदेवले फिल्मलाई बहिष्कार गर्न अपिलसमेत गरेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा रामदेवले हिन्दु धर्मविरुद्ध आजकाल मानिसहरु आपत्तिजनक बयान गर्न थालेको बताए । उनी भन्छन्, ‘ठूला मानिसहरुलाई हिन्दु धर्म विरुद्ध लाग्न निकै रमाइलो लाग्छ ।

यद्यपी आमिर खानले भने आफूले हिन्दु धर्मलाई अपमान गरेको कुरामा सत्यता नभएको बताएका छन् । आफू मुस्लिम भएपनि हिन्दु धर्मलाई आफूले सधैँ सम्मान गर्दै आएको बताउँदै उनले भने, ‘मेरा सबै हिन्दु साथीहरुले फिल्म हेरेका छन् तर उनीहरुले त्यस्तो महसुस नगरेको उनीहरुले मलाई बताएका छन् ।
राजकुमार हिरानी, विनोद चोपडा र अभिजित जोसी सबै हिन्दु नै हुन् । वास्तवमा फिल्मका क्रु मेम्बर्समा ९९ प्रतिशत हिन्दु छन् । उनीहरुले त यस्तो गर्न नसक्लान्,’ उनले फिल्मका निर्देशक, निर्माता र पटकथा लेखकलाई इंगित गर्दै बताए ।

0 comments:

Post a Comment