Friday, December 26, 2014

जसलाई आफू कति प्रसिद्ध छु भन्ने थाहा छैन

मस्को (एएफपी), पुस ११ - क्रिस्टिना पिमेनोभालाई 'विश्वकै सर्वाधिक सुन्दर बालिका' भनिन्छ । तर, उनकी आमा भन्छिन्- रुसकी आठवर्षे यी सुपरमोडललाई आफू कति विश्वप्रसिद्ध छु भन्ने बिलकुलै थाहा छैन ।


क्रिस्टिना छ वर्षकै उमेरदेखि र्‍याम्पमा क्याटवाकका लागि निस्केकी थिइन् । उनी अन्य मोडलभन्दा भिन्न देखिनुमा उनका नीला आकर्षक आँखा र मोहक मुस्कान मुख्य कारक ठानिन्छ । पत्याउन गाह्रो पर्ला, क्रिस्टिनाका फेसबुकमा मात्रै २५ लाख फ्यान छन् । इन्स्टाग्राममा उनलाई पछ्याउने पाँच लाखजति छन् ।

'उनी अलिक अन्तर्मुखी स्वभावकी छन्,' क्रिस्टिनाकी आमा ग्लिकेरिआले भनिन्, 'उनलाई त यो स्टारमेनियाको महत्त्व कति छ भन्ने पनि हेक्का छैन ।'

त्यसो त ग्लिकेरिआ पनि पूर्वमोडल नै हुन् । 'उनले अहिलेसम्म प्रसिद्धि भन्ने शब्द नै सुनेकी छैनन्, हामी यस्तो शब्द सामान्यतः घरमा पनि प्रयोग गर्दैनौं,' आमाले छोरीको पाएको टाइटलबारे आश्चर्य व्यक्त गर्दै थपिन् ।

फेसबुकमा एक फ्यानले क्रिस्टिनाको मिनिस्कर्ट लगाएको फोटो राखिएको पोस्टको कमेन्टमा लेखेकी छन्, 'उनलाई यस रूपमा देखाउने बेला भइसकेको छैन ।' अर्का फ्यानले पनि सुपरमोडल क्रिस्टिनाको फोटो तल लेखेकी छन्, 'बच्चै छु भन्ने चाहिँ नभुल्नुहोला ।'

क्रिस्टिनाको फेसबुक भने उनकै आमाले चलाउने गर्छिन् र फोटाहरू पनि उनैले पोस्ट गर्ने गर्छिन् । आमाले भने आलोचनात्मक प्रतिक्रियाहरूलाई ठाडै अस्वीकार गरिदिएकी छन् ।

'कसैले उनका फोटाहरूप्रति असामान्य  प्रतिक्रिया जनाउँछ भने त्यो मेरो समस्या हैन,' शनिबार मात्रै आठ पुगी नौ वर्षमा लाग्दै गरेकी क्रिस्टिनाले अझै अन्य बालबालिकाकै जस्ता कपडा लगाउने र मुस्किलले मात्रै मेकअप गर्ने आमाले जिकिर गरिन् । 'क्रिस्टिनाका फोटो सेसनहरू एकदमै छोटो समयमा सकिने गर्छन्, खासै केही गरिरहनुपर्दैन,' ग्लिकेरिआले गदगद हुँदै थपिन् ।

क्रिस्टिना सोसल नेटवर्कमार्फत विश्वभर चम्केकी हुन् । कतिपयले फेसबुक र इन्स्टाग्राममा पोस्ट भएका उनका फोटाहरू र तिनले निम्त्याउने विवादले नै उनी चर्चित बने पनि यो शैली उपयुक्त नरहेको टिप्पणी गरेका छन् । केही फेसनविज्ञले पनि बालबालिकाका तस्बिरमा आउने यस्ता प्रतिक्रियाहरू खतरनाक हुन सक्ने मानेका छन् । 'मलाई लाग्दैन, क्रिस्टिनाका ती फोटाहरू अश्लील वा खराब छन्,' पूर्व चाइल्ड स्टार ब्रुक सिल्ड्सले भनिन्, 'तर तिनै फोटाहरू फेसबुक वा इन्स्टाग्राममा राखेर फ्यानको कमेन्ट लिन थालिन्छ भने पक्कै पनि दुवै खाले टिप्पणी आउन सक्छन्, जसबाट बालमस्तिष्कमा नराम्रो असर पर्न सक्छ । त्यो क्रम बढदै जाँदा पछि सम्हाल्न नसक्ने पनि हुन सक्छ ।'

मस्कोमा जन्मेकी क्रिस्टिना एक महिनाका लागि प|mान्स लगिएकी थिइन्, जहाँ उनका फुटबलर बुबा रुस्लान क्लब फुटबल खेलिरहेका थिए । 'प|mान्समा उनले दैनिक चारपाँच घन्टा जिम्न्यास्टिक प्रशिक्षणमा बिताउने गर्दा शरीर राम्रो बन्यो,' आमाले छोरीको सुन्दरताको कारण खोतलिन्, 'नत्र उनी एउटा साधारण फुच्च हुन् जो मस्कोको साधारण स्कुलमै पढ्ने गर्छिन् ।'

यति बेला भने क्रिस्टिनाको दैनिकी एकदमै व्यस्त हुन थालेको छ । आमाका लागि साधारण लाग्ने छोरी विश्वका लागि असाधारण बनिसकेकी छन् । अहिले पनि स्कुलपछि उनी जिम्न्यास्टिकको प्रशिक्षणमा जान्छिन् र राति आठ बजेको हाराहारी मात्रै घर फिर्ने गर्छिन् । 'अझ कहिले त त्योभन्दा पनि ढिलो,' आमाले थपिन् ।

पिज्जा र प्यानकेककी सोखिन क्रिस्टिना बढीजसो समय पढाइमा बिताउन रुचाउँछिन् । आफ्नै आइफोनमा छोटा फिल्म बनाउन रुचाउने क्रिस्टिना भविष्यमा नायिका वा फिल्ममेकर बन्न चाहेको आमाले बताइन् । 'मलाई लाग्दैन, अहिलेको उनको यो प्रसिद्धि उनको मोडलिङको कारण भएको हो, बरु इन्टरनेटका कारण यसो भइरहेको छ,' क्रिस्टिनाकी आमाले छोरीको सुन्दरताका बारेमा भनिन्, 'उनमा आन्तरिक सौन्दर्य अधिक छ । सायदै यो अरूले अनुभव गर्न सक्छन् । र, उनको अनुहारको सुन्दरता त्यसपछि मात्रै दोस्रो नम्बरमा आउँछ, जसका कारण अहिले यतिका मान्छे आकषिर्त भइरहेका छन् ।

1 comment:

  1. Is it as much as hard to get ielts date like in academic?

    ReplyDelete