Sunday, December 14, 2014

कपाल किन फुल्छ, के उमेरकै कारणले कपाल फुल्छ त ? यो पढ्नुहोस् !

के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ?


अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ?

यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ । हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बाँड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ ।

कपालको जरालाई फलिकल (follicle) ले घेरेको हुन्छ । तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन् ः गाढा (eumelanin) र हल्का (phaeomelanin) । यी पिग्मेन्टहरुले मेलानिन नामक रसायन पैदा गर्छ । यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ ।

यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मेलानिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ । मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् ।

एउटा फलिकलबाट एउटैमात्र कपाल बढ्ने गर्छ । हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्ने गर्छ । ती निम्न रहेका छन् ः १) एनाजिन ः यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ । २) क्याटाजिन ः यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ । यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ । ३) टेलोजिन ः यो चरणपछि हाम्रो कपालको बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ ।

यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ । टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ । हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ ।

जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ । जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ । कपाल फुल्ने विभिन्न कारणहरु सन् २००५ को फेब्रुवरीमा हवार्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कपाल फुल्ने विभिन्न कारणहरुका बारेमा एउटा लेख प्रकाशित गरेका थिए ।

जसमा उनीहरुले हाम्रो जीन (Gene) ले पनि हाम्रो कपाल कहिले फुल्छ भन्ने कुराको निर्धारण गर्छ भनेर उल्लेख गरेका थिए । कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ ।

उदाहरणका लागि क्वकासियन समूहका महिलाहरुको कपाल ३५ वर्षको उमेरमा फुल्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ । जीनको साथसाथै अन्य थुप्रै कारणहरुले हाम्रो कपाल फुल्ने कुराको निर्धारण गर्छ । कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ । रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ ।

चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ । क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कहिलेकाहीँ हाम्रो कपाल फुल्ने गर्छ । त्यसबाहेक, प्रदुषणका कारण पनि चाँडै कपाल फुल्ने गर्छ । पहिले मानिस तर्सियो भने पनि कपाल फुल्छ भनेर विश्वास गरिन्थ्यो । तर यो अन्धविश्वास मात्र हो । यसमा कुनै वैज्ञानिक सत्यता छैन । 

0 comments:

Post a Comment