Monday, December 29, 2014

विमानस्थल वरिपरि रहेका सेकुवा सेन्टरले निम्त्याउँदैछन् हवाई दुर्घटना

काठमाडौं, पुस १४ - मुम्बईबाट उडेको जेट एयरवेजको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न तीन मिनेट (उडान समय) बाँकी हुँदा चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण भयो । यसअघि गत असारमा नेपाल वायुसेवा निगमको भर्खरै आएको एमए ६० मा पनि चरा ठोक्किएको थियो ।


उपत्यकाभित्र या विमानस्थल क्षेत्र नजिकको दूरीमा चराहरू रहे एयर ट्राफिक कन्ट्रोलरले त्यसको जानकारी विमानचालक तथा एरोड्रम अपेरसन विभागलाई दिने गर्छ । जसले गर्दा पाइलटले सावधानीपूर्वक उडान भर्ने र विभागले सुटरलाई चरा धपाउनका लागि परिचालन गर्छ । 'सोमबार ट्राफिक कन्ट्रोल टावरले नभ्याउने ठाउँमा चरा ठोक्कियो, अचानक भएकाले पाइलटले पनि जोगाउन नसकेको हो,' विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने । सोमबार इमाडोलको दक्षिणपट्टि हुँदै विमानस्थल आउँदै गरेको जहाजमा चरा ठोक्किएको उनले बताए । जहाजमा १ सय २५ यात्रु र ७ जना क्रु सदस्य थिए । 'विमानस्थल नजिक भएकाले नराम्रो क्षति हुन पाएन,' उनले भने । एयरवेजका नेपाल प्रतिनिधि तेनी रघुराजले चरा ठोक्किएपछि यसबारे थप छानबिन भइरहेको बताए । 'अन्य उडानहरू नियमित तालिकाअनुसार नै छन्,' उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले २०७० भदौमा चरा ठोक्किएको घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् १९९० यता प्रतिवेदन सार्वजनिक हुँदासम्म जहाजमा चरा ठोक्किएका घटना ८० थिए । त्यसपछि बुद्ध एयर, सीता एयर र यती एयरका जहाजमा पनि चरा ठोक्किएका थिए । त्रिभुवन विमानस्थल अवतरण गर्दा र उडान भर्दा भएको यस्तो घटना सोमबारको समेत गरी ८५ पुगेको छ । विश्वभरमै चरा ठोक्किनु जहाज दुर्घटनाको प्रमुख कारण मानिन्छ । नेपालमा भएका यस्ता घटनाले ३ दुर्घटना निम्त्याएको छ । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए ३०० जहाज चरा ठोक्किएकै कारण्ा दुर्घटना भएको थियो । त्यस्तै सन् २०१० को सेप्टेम्बर २ मा विमान बंगलादेशको डीसी १० र सन् २०१२ को सेप्टेम्बरमा सीता एयरको जहाज चराका कारण दुर्घटना भएको थियो ।

विमानस्थल अधिकारीका अनुसार यस्ता घटनामध्ये ५२ प्रतिशत त्रिभुवन विमानस्थलमै भएका छन् । चरा विमान वा विमानको इन्जिनमा ठोक्किदा चालकले विमानको सन्तुलन बनाइराख्न नसक्दा दुर्घटनाको जोखिम रहन्छ । जहाज र चराले प्रयोग गर्ने आकाश मार्ग एउटै हुँदा यस्तो घटना हुने सम्भावना बढी हुन्छ । अवतरणभन्दा पनि उडानका बेला बढी गति लिनुपर्ने भएकाले यो अवस्थामा चरा ठोकिनु सबैभन्दा खतरापूर्ण हुने विज्ञहरू बताउँछन् ।

विज्ञका अनुसार जहाज प्रतिघन्टा १ सय ५०  किलोमिटरमा उड्दा ३ केजीको चरा ठोक्कियो भने त्यसको असर १ वर्गफिटमा १ हजार ८ सय किलो ह्याम्मरले हिर्काए बराबर हुन्छ । प्राधिकरणको एक प्रतिवेदनका अनुसार विमानस्थल वरपर ३९ जातिका चरा छन् । जसमध्ये ५ ठूला, १० मध्यम र २४ साना छन् । विमान कम्पनी सञ्चालन समिति नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार विमानस्थल वरपर सरसफाइको कमी, त्यसमा बढदो सेकुवा सेन्टर समस्याको मुख्य जड हो । सीता एयरको दुर्घटनापछि सरकारले सिनामंगल तथा विमानस्थल वरिपरि रहेका मासु तथा सेकुवा कर्नर बन्द गर्ने भने पनि त्यो काम सफल भएको छैन । चरा ठोक्किएपछि भएको दुर्घटनाबाट अमेरिकामा मात्र वाषिर्क ४० करोड डलरसहित विश्वभर १ अर्ब २० करोड डलर बराबारको नोक्सान हुने गरेको तथ्यांक छ ।

0 comments:

Post a Comment