Thursday, December 25, 2014

माओ दिवसमा विप्लवले नयाँ घोषणा गर्ने

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले खुलामञ्चबाट आफ्नो पार्टीको बटमलाइन घोषणा गर्ने भएको छ। साथै उसले माग पूरा नभए उत्पन्न हुने हिंसात्मक परिणामको लागि राज्य जिम्मेवार हुनु पर्ने बताएको छ। पार्टीले शुक्रबार खुलामञ्चमा माओ दिवसको अवसरमा कार्यक्रम गर्न लागेको हो।


हामीले हिंसा गर्छौं भनेका छैनौं, तर जन–संविधान घोषणा नभएको स्थितिमा द्वन्द हुन्छ र यसलाई रोक्न हामीले हस्तक्षेपकरी भूमिका खेल्नु पर्ने हुन सक्छ’ पार्टी प्रवक्ता खड्ग विश्वकर्माले सेतोपाटी सँग भने।

मओवादीको पहिलो माग ‘कथित संविधानसभा’लाई भंग गर्नुपर्ने छ। जसअन्तर्गत अहिले संविधानसभा भित्र भएको जन–संविधान बिरोधी षडयन्त्रलाई भण्डाफोर गरिने छ’ चन्द निकट एक माओवादी नेताले भने ‘संविधान सभाभित्र र बाहिर रहेका शक्तिहरू सम्मिलित अधिकार सम्पन्न राष्ट्रिय सम्मेलन आयोजना गरेर संविधान लेखन, संविधान निर्माणको प्रक्रिया र विधिको निक्र्यौल गर्नु पर्छ भन्ने हाम्रो माग हो।’

कांग्रेस र एमाले पार्टीहरूको अगुवाइमा बन्ने संविधानले ‘जन–संविधान’का आधारभूत मान्यताहरूलाई कुल्चने बुझाई चन्द नेतृत्वको माओवादीको छ। अहिले संविधान सभामा रहेका पक्षहरू मध्ये नेपाली कांग्रेसलाई उसले ‘जन दुश्मन’ मानेको छ।

माओवादलाई अहिले नेपालका सबै कम्युनिष्ट पार्टीले त्यागेको चन्दको दावी छ। ‘माओवादको सान्दर्भिकतालाई ब्याख्या गर्नु उक्त सभाको प्रमुख काम हो’ उनले भने।    

पार्टीले आउँदो पुस २३ गतेदेखि राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ, जसले पार्टीले अब गर्ने संघर्षको स्वरूपमा छलफल गरी  निक्र्यौल निकाल्ने छ।

उक्त सम्मेलनको लागि पार्टीले अहिले चन्दा अभियान पनि तीव्र बनाएको छ। मुख्यतः अस्पताल, नर्सिङ्ग होम, विद्यालय र स्थानीय ब्यापारीहरूबाट चन्दा संकलन गरिँदैछ। यस सम्बन्धमा जिज्ञासा राख्दा पार्टी प्रवक्ता विश्वकर्माले भने ‘हो, हामीले केन्द्रीयस्तरबाटै सहयोग गरिदिन अनुरोध गर्दै पत्र पठाएका छौं, सहयोग रकम वापत् वहाँहरूलाई रसिद दिन्छौं।’              

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी फुट्नु अघि संविधानसभामा नेतृत्व गर्ने दलहरूसँग हुन लागेको  गोलमेच सम्मेलन गर्ने सहमति विप्लव कै बिरोधका कारण हुन सकेको थिएन। कुनै म्यान्डेट नभएको सभामा भाग लिनुको औचित्य नभएको विप्लवको तर्क थियो।

एमाओवादीले क्रान्तिको आधारभूत मान्यतालाइ त्यागेकाले क्रान्तिको अभिभारा आफ्नो काँधमा आएको विप्लव नेतृत्वको माओवादीको दावी छ।   

0 comments:

Post a Comment