Thursday, January 15, 2015

के तपाई घर कर्जा लिने सोचमा हुनुहुन्छ ? ढीलो नगर्नुहोस्, ब्याजदर बढ्दैछ

१ माघ काठमाडौं । तपाई बैंकबाट कर्जा लिएर घर किन्ने सोचमा हुनुहुन्छ भने ढीलो नगर्नुहोस् । तत्काल घर कर्जा (होम लोन) लिनु नै तपाईका लागि फाइदाजनक हुन्छ । किनभने अहिले आठ प्रतिशतमै पाइने घर कर्जा एकमहिना पछि नपाइन सक्छ ।

लगानी योग्य पुँजी (तरलता) सन्तुलनमा अाएसँगै बैंकहरूले निक्षेपमा दिँदै अाएको र कर्जामा लिँदै अाएको  ब्याज दर बढाउने संकेत गरेका छन् ।
अहिले तपाईले स्टान्डर्ड चार्टड बैंकबाट घर कर्जा लिनुभयो भने ७.७५ प्रतिशत ब्याज तिरे पुग्छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि आठ प्रतिशत ब्याजदर मै घर कर्जा दिँदै आएको छ ।
धेरै वाणिज्य बैंकहरुले ९ देखि १२ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्दै आएका छन् । केही वर्ष अघिसम्म घर कर्जा लिन ग्राहकले न्यूनतम १४/१५ प्रतिशत ब्याज तिर्नुपर्थ्यो ।
बैंकिङ क्षेत्रमा थुप्रिएको अधीक तरलताका कारण निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याज पनि घटेको हो । तरलता कम हुँदा ब्याजदर बढ्ने र तरलता बढी हुँदा ब्याजदर घट्ने गर्छ ।
७.७५ देखि १७.९९ प्रतिशतसम्म
बैंकहरुले सार्वजनिक गरेको पछिल्लो ब्याजदर अनुसार पाँच वर्षसम्मका लागि प्रदान गरिने घर कर्जाको ब्याजदर न्यूनतम ७.७५ देखि अधिकतम १७.९९ प्रतिशतसम्म ब्याज लिने जनाएका छन् । अधिकांस बैंकहरुले ८ देखि १२ प्रतिशतमा ऋण प्रदान गरिरहेको जानकारी दिएका छन् ।
स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य, हिमालयन, प्रभू, नेपाल बैंकलगायतले सबैभन्दा सस्तोमा घर कर्जा प्रदान गरिरहेका छन् भने एनआइसी एसियाले सबैभन्दा महंगोमा कर्जा प्रवाह गरिरहेको छ ।
माघ अन्तिमदेखि ब्याज बढ्न सक्छ
पछिल्लो समयमा सरकारले खर्च गर्न नसक्दा अहिले करिब ७५ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ । मोटो रकम सरकारी ढुकुटीमा थन्किएसँगै बैंकिङ क्षेत्रमा अधिक तरलताको चाप घट्दै गएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए ।
‘अधीक तरलताको चाप कम भएकाले डेढ वर्षेदेखि निरन्तर घटेको ब्याजदर माघ अन्तिमबाट बढ्ने देखिन्छ’ सीइओ दाहालले भने । तरलता कसिलो हुनेवित्तिकै बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर बढाउने उनले बताए ।
अधीक तरलता हुँदा बैंकहरुले लगानी गर्ने ठाउँ नपाएर थुपि्रएको रकम घर तथा गाडी किन्न सस्तोमा लगानी गरिरहेका हुन् । उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्ने वित्तिकै घर/गाडी लगायतका क्षेत्रमा ब्याजदर धेरै बढ्ने आँकलन गरिएको छ ।
अझै १४ अर्ब अधीक तरलता
पछिल्ला दिनहरुमो बैंकिङ क्षेत्रमा अधीक तरलताको चाप केही घटे पनि अझै १४ अर्ब रुपैयाँ अधीक तरलता भएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राष्ट्र बैंकले पटक-पटक रिभर्स रिपोमार्फ प्रशोचन गरेको ३५ अर्ब तरलता बजारमै छ । यही माघ ४ गते पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने श्रेठले जानकारी दिए । ‘यो परिणामको तरलता प्रसोचना गर्नु भनेको तरलता घट्नु हो ।’ उनले भने- ‘तरलता घटेपछि ब्याजदर बढ्छ । तर, अहिले नै ब्याजदर बढ्छ भन्न चाहिँ सकिँदैन ।’
माघ ८ को प्रभाव
राजनीतिक अस्थिरताका कारण लगानीकर्ता उत्साहित हुन नसक्दा कर्जाको माग न्यून मात्रै बढ्ने भएकाले तत्काल तरलता कम भैहाल्छ भन्न नसकिने श्रेष्ठले बताए ।
‘माघ ८ मै संविधान बन्यो भने लगानीकर्ता उत्साहीत हुन्छन’ श्रेष्ठले भने- ‘कर्जाको माग अत्यधिक बढ्छ र तरलताको कम हुनसक्छ ।’ त्यसैले राष्ट्र बैंकले उपयुक्त मौद्रिक औजार प्रयोगको छलफल गरिरहेको उनले बताए ।
राष्ट्र बैंक नै ब्याज बढाउने पक्षमा
त्यसो त, राष्ट्र बैंक नै निक्षेपकर्ताले कम ब्याज पाएको भन्दै ब्याजदर बढाउन प्रोत्साहन गर्ने पक्षमा छ । गभर्नर डा. युवराज खतिवडाले नै सार्वजनिकरुपमा निक्षेपको ब्याजदर बढाउनुपर्ने धारणा राख्दै आएका छन् । ब्याजदर न्यून हुँदा पुँजी पलायनको खतरा राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ ।
उत्पादनशील क्षेत्रमा १४ प्रतिशतमात्रै कर्जा
नेपाल राष्ट्र बैंकले ०६८ असार मसान्तसम्म नै कूल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, अहिले पनि यो क्षेत्रमा १४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ ।
वित्तीय क्षेत्रको उल्लेख्य विकास भए पनि यो क्षेत्रले देशको कूल ग्राहर्स्थ उत्पादनमा ३.८ प्रतिशत मात्रै योगदान छ । सरकारले ०७६ सम्ममा जीडीपीमा वित्तीय क्षेत्रको योगदान ८ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।
उक्त लक्ष पूरा गर्न सरकार र राष्ट्र बैंकले कृषि, उर्जा, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा कर्जा बढाउन थप दवाबमूलक नीति आवश्यक छ । जसले अनुत्पादक क्षेत्रमा विस्तार भएको कर्जाको ब्याजदर बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

कुन बैंकले कति ब्याजदरमा घर कर्जा दिन्छन् ?


0 comments:

Post a Comment